काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको ‘नाडा अटो शो २०२३’ मंगलबारबाट काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ।
अटोमोबाइल क्षेत्रकै ठूलो प्रदर्शनी मानिने नाडा अटो शोमा पहिले नेपाली बजार भित्रिएकादेखि हालै भित्रिएका दुईपांग्रे तथा चारपांग्रे सवारी प्रदर्शनीमा राखिएको छ। यहाँ नाडा अटो शोबाट नेपाली बजारमा मंगलबार सार्वजनिक भएका दुईपांग्रे सवारीसाधनको चर्चा गरिएको छ।
टिभिएस ‘आइक्युब’
नाडा अटो शोबाटै टिभिएसको इलेक्ट्रिक स्कुटर ‘आइक्युब’ नेपाली बजारमा लन्च भएको छ। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले मंगलबार टिभिएस आइक्युब लन्च गरेको हो। यो स्कुटर पाँच आकर्षक रङ र भेरिएन्टमा उपलब्ध छ। आइक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलइडी हेडल्याम्प डिजाइन गरिएका छन्।
यसमा ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गरेको छ। यसमा भएको ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आइक्युबले ७८ किलोमिटर प्रतिघन्टाको टप स्पिड प्रदान गर्दछ। साथै, मात्र ४.२ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टासम्म एक्सिलिरेसन दिन्छ।
टिभिएस आइक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधासाथ भरिपूर्ण छ। टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधा, क्र्यास÷फल अलर्ट जस्तै सुविधा आएका छन्। कुनै पनि स्मार्ट फोनलाई टिभिएस आइक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस र अन्य अवस्था जाँच गर्नुका साथै म्युजिक कन्ट्रोलको सुविधा पनि छ। प्रिमियम सुविधासहितको टिभिएस आइक्युब पहिलो १ हजार ग्राहकका लागि ४ लाख २९ हजार ९ सय रुपैयाँ उपलब्ध छ।
रोयल इन्फिल्ड ‘हन्टर ३५०’
रोयल इन्फिल्डको मोटरसाइकल ‘हन्टर ३५०’ पनि नाडा अटो शोकै अवसर पारेर मंगलबार लन्च भएको छ। यो मोटरसाइकल हन्टर ३५० रेट्रो र हन्टर ३५० मेट्रो गरी दुई भेरिएन्टमा उपलब्ध छ। यो बाइकमा २ सय ७० एमएमको रियर डिस्क ब्रेक छ। जसमा डुअल–च्यानल एबिएस (एन्टिलक ब्रेकिङ) सिस्टम पनि दिइएको कम्पनीले जनाएको छ। रोयल इन्फिल्ड हन्टर ३५० मा ३ सय ४९ सिसी इन्जिन उपलब्ध छ, जसले २०.२ बिएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ।
यसले १ सय १४ किलोमिटर प्रतिघन्टाको गति दिने कम्पनीको दाबी छ। हन्टर ३५० मा ब्रेकिङको लागि फ्रन्टमा ३०० एमएम डिस्क ब्रेक र रियरमा २७० एमएम डिस्क ब्रेक दिइएको छ। यसमा गोलाकार एलइडी हेडलाइट, टर्न सिग्नलका साथमा गोलाकार डिजिटल स्पिडोमिटर दिइएको छ। हन्टर ३५० को एक मोडेलको मूल्य ४ लाख ५९ हजार रुपैयाँ तोकिएको छ भने अर्को मोडेलको मूल्य ४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ।
लेभनिङ ‘एनसिई’
नाडा अटो शोबाट इभी नेपाल मोटर्स प्रालिले लेभनिङ एनसिई विद्युतीय स्कुटर नेपाली बजार भित्र्याएको छ। २.७२ भी ३४ एच एलजी लिथियम (पोर्टेबल) ब्याट्री भएको यस स्कुटरमा ३.९ किलोवाटको मोटर उपलब्ध छ। लेभनिङ एनसिईमा १३७० एमएमको ह्विलबेस छ। साथै, यसको टायर साइज १२०/७०–१४ ट्युबलेस रहेको कम्पनीले जानकारी दिएको छ।
यसले ९० किलोमिटर प्रतिघन्टाको टप स्पिड प्रदान गर्दछ। ३ घन्टा ५० मिनेटमा फुलचार्ज हुने यो स्कुटरको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
याडिया ‘एम ६’ र ‘ई ८ एस प्रो’
नाडा अटो शोबाट नेपाली बजारमा याडियाले ‘एम ६’ र ‘ई ८ एस प्रो’ लन्च गरेको छ। नेपाली बजारमा सार्वजनिक भएको एम ६ मा ४५ किलोमिटर प्रतिघन्टाको टप स्पिड छ भने म्याक्सिमम पावर २१०० किलोवाट छ। यसमा १५० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। याडिया एम ६ को मूल्य नेपाली बजारमा १ लाख ७५ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै अटो शोबाटै लन्च भएको ई ८ एस प्रो स्कुटरमा ६५० मिलिमिटर सिट स्पेस छ। यो स्कुटी कालो, रातो, निलो र खरानी रङमा उपलब्ध छ। यो एकपटकको फुलचार्जमा १५० किलोमिटरसम्म कुद्न सक्छ। स्कुटरमा इनर्जी मनिटरिङ मिटर र रोलिङ रेसिस्टेन्ट टायर छ। ६० किलोमिटर प्रतिघन्टा टप स्पिड दिने यस स्कुटरको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ।
अप्रिलिया ‘एसआर १६०’
नाडा अटो शोको अवसरमा नेपाली बजारमा अप्रिलिया ‘एसआर १६०’ लन्च भएको छ। अप्रिलियाका लागि नेपालको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नेपाली बजारमा एसआर १६० सार्वजनिक गरेको हो।
यो स्कुटर ग्रे, ह्वाइट, रेड, ब्लु र ब्ल्याक गरी पाँच रङमा उपलब्ध छ। यसको मूल्य ३ लाख ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ।
‘गोभा एफ ६००’
नाडा अटो शोबाट निउको ‘गोभा एफ ६००’ पनि नेपाली बजारमा लन्च भएको छ। यो स्कुटर ह्वाइट, रेड, ग्रे, ब्ल्याक र ब्लु रङमा उपलब्ध छ। यो स्कुटर पाँच देखि ६ रङमा उपलब्ध छ। गोभा एफ ६०० को टप स्पिड ७० किलोमिटर प्रतिघन्टा रहेको छ। एफ ६०० स्कुटरको मूल्य २ लाख ५ हजार रुपैयाँ तोकिएको छ। साथै, एक ब्याट्रीसहित यसको मूल्य २ लाख ८२ हजार, एक ब्याट्री र एक चार्जरसहित यसको मूल्य ३ लाख ६ हजार रुपैयाँ तोकिएको छ।