काठमाडौं। मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरसँग जोड्दै फोरजी सेवा सुरु गरेको हो।
फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठूलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सीमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेसन (बिटिएस) स्थापना गरेको छ। कम्पनीले भी–स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हाम्रा ग्राहकहरूलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौं। यो एउटा कोशेढुंगा हो किनभने पछिल्लो विस्तारपश्चात कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौं। यसले सरकारको डिजिटल नेपाल परिकल्पना र डिजिटल समावेशी समुदाय निर्माणमा योगदान पुर्याउने छ।’
एनसेलले फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ र मनाङ जिल्लालाई पनि छिट्टै फोरजीले जोड्ने योजनासहित काम गरिरहेको छ। फोरजीले प्रयोगकर्तालाई हाइ–डेफिनेसन भिडियो सामग्री स्ट्रिमिङ, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे), द्रुत डाउनलोड र अपलोड, ठूला फाइल तत्काल आदानप्रदानलगायत विभिन्न डिजिटल सेवाहरू लिन सक्षम बनाउँछ।
देशभरि एनसेलको ४ हजार १ सयभन्दा बढी फोरजी बिटिएस सञ्चालनमा रहेका छन्।