काठमाडौं। ‘नाडा अटो शो २०२३’ आजबाट सुरु भएको छ। १५औं संस्करणको नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ। १ सय २० स्टल रहेको यो प्रर्दशनी भदौ ३१ सम्म सञ्चालन हुनेछ।
शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अपेक्षा छ। नाडा अटो शोको अवसर पारेर केही ब्रान्ड नेपाली बजार प्रवेश गरेका छन् भने धेरै ब्रान्डले आफ्नो नयाँ ‘प्रडक्ट’ सार्वजनिक गरेका छन्।
यी हुन् नाडा अटो शोमामार्फत नेपाली बजार भित्रिएका गाडी :
टाटा
टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोमा ‘पन्च’ र ‘टियागो इभी’ सार्वजनिक गरेको छ। सिप्रदीले पन्चको चार भेरिएन्ट बजार ल्याएको हो।
१.२ लिटरको रिभोट्रन इन्जिन रहेको पन्चले ६००० आरपिएममा ८७.८ पिएस पावर र ३२५० आरपिएममा ११५ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको मूल्य ३३ लाख ९९ हजारदेखि ४३ लाख ४९ हजार निर्धारण गरेको छ।
त्यसैगरी सिप्रदीले टियागो इभीको पाँच भेरिएन्ट सार्वजनिक गरेको छ। टियागोको एक्सई र एक्टी भेरिएन्टमा ९२.२ किलोवाट आवरको ब्याट्री दिइएको छ जसले ४५ किलोवाटको पावर र ११० एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै टियागोको एक्सटी, एक्स जेड, एक्सजेड प्लस टेक एलयुएक्समा २४ किलोवाटको ब्याट्री दिइएको छ जसले ४९.०२ किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यी गाडीको मूल्य २१ लाख ९९ हजार देखि २७ लाख ९९ हजार निर्धारण गरेको छ।
बिवाइडी
बिवाइडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शो लक्ष्य गर्दै नयाँ गाडी ‘डल्फिन’ सार्वजनिक गरेको छ।
४५ किलोवाट आवर लिथियम आयोन ब्याट्री रहेको डल्फिनमा ७० किलोवाट मोटर जडान गरिएको छ। यसले ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। साइमेक्ले यसको मूल्य ३९ लाख ८० हजार निर्धारण गरेको छ।
निशान
निशानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले म्याग्नाइटको एक्सभी अपर (डुअल) अटोम्याटिक भेरिएन्ट सार्वजनिक गरेको छ। ९९९ सिसीको यो गाडीमा ३ सिलिन्डर छन्। यसले ६२५० आरपिएम ७१.०२ बिएचपि पावर र ३५०० आरपिएममा ९६ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको मूल्य ४२ लाख ९ हजार निर्धारण गरेको छ।
महिन्द्रा
माहिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले नाडा अटो शोमा स्कार्पियो क्लासिक सार्वजनिक गरेको छ। २१८३ सिसि इन्जिन क्षमताको यो गाडीमा ४ सिलिन्डर छन्।
यसले ३७५० आरपिएममा १३०.०७ बिएचपी पावर र १६०० देखि २८०० आरपिएममा ३०० एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको मूल्य ८० लाख ५० हजार निर्धारण गरेको छ।
सेरेस
नाडा अटो शोकै पूर्वसन्ध्यामा नयाँ ब्रान्ड सेरेस सार्वजनिक भएको छ। सेरेसका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ र सेरेस इ१ सार्वजनिक गरेको हो।
सेरेस ई१ १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार मूल्यमा उपलब्ध भएको छ। सेरेस–३ को मूल्य भने ४७ लाख ९९ हजार छ। यसको प्रिमियम मूल्य भने ४९ लाख ९९ हजार रुपैयाँ छ।
एमजी
एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले नाडा लक्ष्यित दुई विद्युतीय सवारीसाधन (इभी) ‘कोमेट’ र ‘एमजी ४’ सार्वजनिक गरेको छ। एमजी कोमेटले सिंगल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिन्छ। यसमा १ सय ७३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ। एमजी कोमेटको सुरुवाती मूल्य १७ लाख ९९ हजार रुपैयाँ छ भने एमजी कोमेट इभी प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध छ।
त्यस्तै एमजी ४ सन् २०२३ को ‘युके कार अफ द इयर’ हुनुका साथै यसले युरोपमा पनि सेफ्टीका लागि पाँचतारा पाएको छ। कम्फर्ट र लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध एमजी कम्फर्टको ब्याट्री क्षमता ५१ किलोवाट आवर छ र यसमा ९९ किलोवाट मोटर छ।
त्यस्तै एमजी लक्जरीको ब्याट्री क्षमता ६४ किलोवाट आवर छ भने १ सय ५० किलोवाटको मोटर छ। एमजी ४ ले सिंगल चार्जमा ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिन सक्छ। एमजी ४ कम्फर्टको सुरुवाती मूल्य ४१ लाख ४९ हजार छ भने एमजी लक्जरीको मूल्य ५८ लाख ९९ हजार छ।
किया
कियाका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले नयाँ गाडी सार्वजनिक गरेको छ। कम्पनीले नाडा अटो शोका अवसरमा स्पोर्टेज एक्स–लाइन २ डब्लुडी गाडी सार्वजनिक गरेको हो।
१९९९ सिसि इन्जिन क्षमताको यो गाडीले ६२०० आरपिएममा १५६ पिएस पावर र ४५०० आरपिएममा १९२ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसको मूल्य १ करोड २४ लाख ९० हजार निर्धारण गरेको छ।