काठमाडौं। गरिब, न्यून आय वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदाय लक्ष्यित लघु बिमा कम्पनीमध्ये केहीले आफ्नो कारोबार सुरु गरिसकेका छन्।
लघु बिमा कम्पनीले कारोबार सुरु गरेसँगै एउटै अभिकर्ताले ठूला बिमक र लघु बिमकको अभिकर्ता भएर कार्य गर्न पाउने वा नपाउने भन्ने प्रश्न उठेको छ। बिमा ऐन, २०७९ मा यससँग सम्बन्धी स्पष्ट व्यवस्था नहुँदा प्रश्न उठेको हो।
ऐनमा लघु बिमकको अभिकर्ता भएर काम गर्नेले ठूला बिमकको अभिकर्ता भएर काम गर्न र ठूला बिमकको अभिकर्ता भएर काम गर्नेले लघु बिमकको अभिकर्ता भएर काम गर्न पाउने वा नपाउने भन्ने व्यवस्थाबारे बोलिएको छैन। जसका कारण एउटै अभिकर्ताले लघु बिमक र ठूला बिमकको अभिकर्ता भएर काम गर्न पाउने वा नपाउने भन्ने प्रश्न उब्जिएको हो।
बिमा ऐन २०७९ ले बिमा अभिकर्तासम्बन्धी व्यवस्था गरेको छ। जसको दफा ९३ को उपदफा ६ मा कुनै एक बिमकको बिमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बिमकको बिमा अभिकर्ता भई कार्य गर्न नपाउने प्रावधान छ।
तर, जीवन बिमा व्यवसाय गर्ने बिमकको बिमा अभिकर्ताले निर्जीवन बिमा व्यवसाय गर्ने बिमकको बिमा अभिकर्ता भई कार्य गर्न र निर्जीवन बिमा व्यवसाय गर्ने बिमकको बिमा अभिकर्ताले जीवन बिमा व्यवसाय गर्ने बिमकको बिमा अभिकर्ता भई कार्य गर्न भने पाउने व्यवस्था छ। अर्थात, यसले ठूला बिमकको बिमा अभिकर्ताका हकमा समान किसिमको व्यवसाय गर्ने कुनै एक बिमकको मात्र अभिकर्ता भई काम गर्न पाउने भनेर सीमा तोकेको छ भने लघु बिमाका हकमा यस्तो सीमा तोकेको छैन।
ऐनको उपदफा ७ मा भने लघु बिमासम्बन्धी कार्य गर्ने बिमा अभिकर्ताले एकभन्दा बढी बिमकको लघु बिमा अभिकर्ता भई कार्य गर्न सक्ने व्यवस्था गरेको छ। यस उपदफाअनुसार लघु बिमासम्बन्धी कार्य गर्ने अभिकर्ताले एकभन्दा बढी बिमा कम्पनीको लघु बिमा अभिकर्ता भई कार्य गर्न पाउनेछन्।
यसरी अन्य विषयमा बिमा ऐनले स्पष्ट व्यवस्था गरे पनि एउटै अभिकर्ताले लघु बिमक र ठूला बिमकको अभिकर्ता भई कार्य गर्न सक्ने वा नसक्ने विषय भने समेट्न सकेको देखिँदैन।
जुन विषय नेपाल बिमा प्राधिकरणका बैठकमा पनि उठेको र छलफल भएको प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले जानकारी दिएकी छिन्।
‘एउटै अभिकर्ताले लघु बिमक र ठूला बिमकको अभिकर्ता भई कार्य गर्न पाउने वा नपाउने विषय हाम्रा बैठकमा पनि छलफल भइरहेको छ,’ कुँवरले भनिन्, ‘कानुनमा स्पष्ट व्यवस्था नभएकाले हालका लागि एउटै अभिकर्ताले दुवै बिमकको अभिकर्ता भई कार्य गर्न दिने भन्ने कुरा भएको छ।’
उनले कानुनमा नसमेटेसम्म यस्तो व्यवस्था लागू गर्ने तयारी भए पनि कानुनमा नै राख्ने समयमा भने फरक व्यवस्था पनि हुन सक्ने जानकारी दिइन्।
बिमकले अभिकर्तामार्फत लघु बिमा गराउन सक्ने र लघु बिमासम्बन्धी कार्य गर्न अभिकर्ताको इजाजत लिएको हुनुपर्ने व्यवस्था लघु बिमा निर्देशन, २०७९ ले गरेको छ।
निर्देशनले व्यक्तिगत लघु बिमा अभिकर्ता र संस्थागत लघु बिमा अभिकर्ता गरी दुई किसिमको लघु बिमा अभिकर्ताको व्यवस्था गरेको छ। लघु बिमा अभिकर्ताले जीवन बिमाका हकमा बिमा नियमावलीबमोजिम र निर्जीवन बिमाका हकमा पाँच प्रतिशत कमिसन प्राप्त गर्ने प्रावधान छ।
प्राधिकरणबाट २०७९ मंसिरमा सात बिमा कम्पनीले लघु बिमा व्यवसाय गर्ने लाइसेन्स पाएका थिए। जसमध्ये ६ बिमा कम्पनीले कारोबार अनुमति नै प्राप्त गरी व्यवसाय सुरु गरिसकेका छन्।
कारोबार अनुमति पाउनेमा लघु जीवन बिमातर्फ गार्डियन माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी छन्।
त्यस्तै कारोबार अनुमति पाउने निर्जीवन लघु बिमा कम्पनीतर्फ नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो फाइनान्स इन्स्योरेन्स छन्। ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले भने तोकिएको पुँजी पु¥याउन नसकेका कारण कारोबार अनुमति पाएको छैन।
लघु जीवन बिमातर्फका गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफ इन्स्सोरेन्स र निर्जीवनतर्फ नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कारोबार सुरु गरेर आफ्नो वित्तीय प्रगति प्राधिकरणमा बुझाइसकेका छन्।
लघु बिमा निर्देशनले लघु निर्जीवन बिमा कम्पनीले ५० लाख रुपैयाँबराबर बिमा व्यवसाय गर्न पाउने व्यवस्था गरेको छ भने लघु जीवन बिमा कम्पनीले ५ लाख रुपैयाँसम्मको व्यवसाय गर्न पाउने व्यवस्था गरेको छ।