काठमाडौं। निर्माण सुरु भएको डेढ वर्षपछि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौंस्थित हायात रिजेन्सि होटलमा भएको कार्यक्रममार्फत डिजिटल शिलान्यास गरेका हुन्।
रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाटको जलविद्युत आयोजना २०७८ पुसबाट निर्माण सुरु भइसकेको छ। यद्यपि, औपचारिक उद्घाटन भने आज भएको हो। २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको आयोजनाको भौतिक प्रगति २२ प्रतिशत भइसकेको छ।
कूल लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) लाग्ने अनुमान गरिएको जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता कोरियाको ‘कोरिया साउथ–इस्ट पावर’ (कोइन) रहेको छ। आयोजना निर्माणका लागि कोइनसहित ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् भने बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको हो।
ऊर्जा मन्त्री बस्नेतले सुक्खा यामको विद्युत माग पूरा गर्न नमूना आयोजनाका रूपमा माथिल्लो त्रिशुली–१ लाई अघि बढाउने बताएका छन्। ‘नमुना आयोजनाका रूपमा अघि बढाउन सरकारले सहयोग गर्छ, निर्धारित समयकै निर्माण सम्पन्न हुने ढुक्का हुँदा हुन्छ’ उनले भने।
कोइनका सभापति एवं प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अधिक जलस्रोत प्रयोग गरेर स्वच्छ हरित ऊर्जाको आन्तरिकरूपमा प्रयोग बढाउन सकिने बताएका छन्। साथै, नेपाललाई बढी भएको ऊर्जा विदेशमा व्यापार गरी आर्थिक आम्दानी गर्न सकिने किमको भनाइ छ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा कोरियाको डुसान एनबेलेटी कम्पनीले काम गर्दै आएको छ। आयोजनाको प्रवर्द्धक ‘नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी’ मा कोरियन सरकारको स्वामित्वमा रहेको कोइन, विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी छ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।