काठमाडौं। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले अटोमोबाइललाई विलासिताका वस्तुको सूचीबाट हटाउनुपर्ने बताएका छन्।
मंगलबार ‘नाडा अटो शो २०२३’को उद्घाटन कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन्।
‘अटोमोबाइललाई विलासिता वस्तुमा अर्थात सुन, चुरोटजस्तो क्षेत्रमा राख्ने गरेको छ। साथै, समय–समयमा कर र राजस्वमा पनि सरकारको निति अस्थिर छ,’ अध्यक्ष थापाले भने, ‘यसर्थ सवारीसाधनलाई आवश्यकताको वस्तुका रूपमा विकास गर्न आवश्यक छ।’
उनले नेपाल सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन थप गर्दै जानुपर्ने पनि बताए।
‘सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै केही सहुलियत दिए पनि यसको आयातमा भने चनाखो हुन आवश्यक छ,’ थापाले भने, ‘यदि समयमै सवारीसाधन आयातमा उचित कदम चाल्न नसकेको खन्डमा नेपाल विद्युतीय सवारीको डम्पिङ साइट बन्न सक्छ।’
उनले नेपालमा सवारीसाधन उद्योग विकास हुँदै गएको बताए। अबको एक दशकमा नेपालमा सवारीसाधन उद्योगले ठूलो फड्को मार्ने उनको भनाइ छ।
अध्यक्ष थापाले कोरोना महामारीको कारण २०२० र २०२१ मा नाडा अटो शो गर्न नसकेको तथा २०२२ मा सरकारले सवारीसाधनमा लगाएको आयात प्रतिबन्धले नाडा अटो शो आयोजना हुन नसकेको बताए।
‘विश्वका सबै मुलुकमा धेरै स्तरीय प्रदर्शनी हल छन्। नेपालमा भने आजसम्म एउटा पनि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र छैन,’ उनले भने, ‘सरकारले नेपालमा छिट्टै एउटा व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र स्थापना गर्न आवश्यक छ।
१५औं संस्करणको नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। १ सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ। शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ।