काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि, २०७९ पास गरेको छ। ‘नेप्से–३० इन्डेक्स’ जस्तै आवश्यकताअनुसार नयाँ इन्डेक्स ल्याउने सकिने गरी उक्त कार्यविधि नेप्से सञ्चालक समितिले पास गरेको हो।
नेप्सेले सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधिको मस्यौदाको अवधारणअनुसार नै नेप्से–३० इन्डेक्स निर्माण गरी गत साउनदेखि परीक्षण गरिरहेको छ। उक्त कार्यविधि पास भएसँगै नेप्से–३० इन्डेक्सलाई पूर्णरुपमा सञ्चालनमा ल्याउनसमेत बाटो खुलेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए।
‘सूचकांक विकास, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि सोमबार बसेको सञ्चालक समितिको बैठकले पास गर्र्यो,’ नेप्सेका प्रवक्ता पराजुलीले क्यापिटल नेपालसँग भने, ‘सोही कार्यविधिको अवधारणमै नेप्से–३० निर्माण गरी परीक्षण शुरु गरेका हौं,कार्यविधि पास भएपछि योसँगै आवश्यकताअनुसार अन्य इन्डेक्स ल्याउनसमेत बाटो खुल्यो।’
सञ्चालक समितिले कार्यविधि पास गरेसँगै कार्यन्यवनको लागि समिति गठन गर्ने निर्णयसमेत गरेको छ। नेप्सेले यो कार्यविधि सञ्चालन गरेको विभिन्न इन्डेक्सहरुको सञ्चालन तथा व्यवस्थापनका लागि तयार पारेको हो। यस कार्यविधिले नेप्सले अहिले सञ्चालन गरिरहेको तथा भविष्यमा सञ्चालन गर्ने विभिन्न प्रकारका इन्डेक्सहरुको सञ्चालन तथा व्यवस्थापन कार्यमा दिशानिर्देश गर्नेछ।
यस कार्यविधि बमोजिम अवश्यकताअनुसार थप इन्डेक्सहरु बनाउन सकिने छ। कार्यविधिले नयाँ इन्डेक्स विकास गर्नका लागि छनौट गर्ने कम्पनीहरुलाई वर्गिकरण गरेर न्यूनतम चुक्ता पुँजी तोकेको छ। जसमा ‘बी’ समुहमा वर्गिकरण भएका कम्पनीहरुलाई न्यूनतम ३ अर्ब र ‘ए’ समुहमा वर्गिकृत कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ। यस्ता वर्गमा पर्ने मापदण्डमा कारोबारको समयसमेत कार्यविधिले तोकेको छ। वर्गीकरणमा नपरेका सूचीकृत संगठित संस्था “जेड” वर्गमा रहने उल्लेख छ।
इन्डेक्सको प्रयोग
अन्तर्राष्ट्रिय बजारहरुमा विभिन्न प्रकारका इन्डेक्सहरु गणना भई प्रयोगमा छन्। हाल नेपालको बजारमा प्रमुख रुपमा प्रयोग भएको नेप्से इन्डेक्स बास्केटमा सूचीकृत सबै कम्पनीहरु समावेश गरिएको छ। यस इन्डेक्सलाई बजारमा सर्किट ब्रेकर लगाउनका लागि प्रयोग भई आएको छ भने अर्थतन्त्रसँग सम्बन्धित धेरै प्रतिवेदन तथा तथ्यहरुसँग पनि यसको प्रयोग हुदै आएको छ।
अन्य कतिपय संस्थाहरुले यसलाई बेन्चमार्क इन्डेक्सका रुपमा पनि प्रयोग गरेका छन्। इन्डेक्सले सम्पूर्ण बजारको प्रतिनिधित्व गर्ने भए पनि यसलाई कारोबार उपकरणका रुपमा तत्काल प्रयोग गर्न सकिने अवस्था छैन। विदेशी बजारमा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी केही कम्पनीमात्र छनौट गरेर पनि कुशल इन्डेक्स गणना गर्ने प्रचलन रहेको छ। यस्ता इन्डेक्सहरु कारोबारका लागि विभिन्न उपकरणहरु पनि बनाउन सकिन्छ।
त्यसैगरी विभिन्न क्षेत्रगत प्रतिनिधित्व हुनेगरी समेत इन्डेक्सहरु गणना गर्न सकिन्छ। इन्डेक्सहरु गणना गर्दा फ्रि फ्लोट विधि, अल इक्विटीलगायत विभिन्न विधि अनुसारका सुत्र प्रयोग गरेर सूचकहरु गणना गर्न सकिन्छ।
नेप्सेमा अहिले प्रयोगमा रहेका तथा भविष्यमा सञ्चालनमा आउने इन्डेक्सहरुलाई देहायअनुसार सम्बन्धित नियममा संलग्न गरी उपयोग गर्न सकिने छ
–सर्किट ब्रेकर प्रयोजनका लागि प्रयोग गर्न
–डेरिभेटिभ सम्बन्धी निश्चित अवधीको कारोबार उपकरण सञ्चालन गर्न
–सम्बन्धित पोर्टफोलियो व्यवस्थापन कम्पनीसँग सम्झौता गरी इन्डेक्ससँग सम्बन्धित कोष सञ्चालन गर्न
–एक्सचेञ्ज टे«ड फन्ड सञ्चालन गर्न
–नेप्सेले बेला बेलामा तय गरेअनुसार अन्य प्रयोजनका लागि
नयाँ इन्डेक्सको विकास तथा सञ्चालन
नेप्सले आफूले बजार सञ्चालन गर्दा विभिन्न प्रकारका सूचकहरुको विकास गरी सञ्चालन गर्न सक्नेछ। यसरी सूचक तथा सूचकांकहरु तयार गर्दा मुख्यतः बेन्चमार्क सूचकांक, सूचीकृत कम्पनीहरुको क्षेत्रगत सूचकांक, कम्पनीहरुको वित्तीय तथा सञ्चालन अवस्थामा आधारित सूचकांक, सूचीकृृत कम्पनीहरुको पुँजीगत तथा बजार पुँजीकरणमा आधारित सूचकांक तथा विभिन्न अन्य आधारमा सूचकांकहरु तयार गरी सञ्चालन गर्नेछ।
यसरी सञ्चालन गरिएका सूचक एवं सूचकांकहरु यस कार्यदिशामा तोकिएको गणना तथा सञ्चालन विधिअनुरुप रहेर सञ्चालन गरिनेछन्। यसरी तयार गरिएका सूचकांकहरु फ्रि फ्लोट विधि, अल इक्विटी विधि, औसतमा अथवा क्याप विधिबाट तयार पारी सञ्चालन तथा व्यवस्थापन गरिएको हुनुपर्नेछ।
अहिले सञ्चालनमा रहेका भन्दा फरक प्रकारका सूचकहरु तयार गर्नु परेमा नेप्से सञ्चालक समितिवाट स्वीकृत गरी यस कार्यविधिको अनुसूचीमा थप गरी लागू गर्न सकिनेछ।
सूचीकृत संगठित संस्थाको वर्गीकरण
सूचीकृत संगठित संस्थालाई देहाय बमोजिम वर्गिकरण गरिनेछ :
(क) वर्ग “ए” मा रहने संगठित संस्था :–
(१) चुक्ता पुँजी कम्तीमा ५ अर्ब रुपैयाँ भएको।
(२) धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको।
(३) विगत तीन आर्थिक वर्ष लगातार नाफामा रहेर १० प्रतिशतका दरले वार्षिक लाभांश वितरण गरेको।
(४) नियमनकारी निकायले तोकोको ढाँचामा वित्तीय विवरण राखेको।
(५) आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको।
(ख) वर्ग “बी” मा रहने संगठित संस्था :–
(१) चुक्ता पुँजी कम्तीमा ३ अर्ब रुपैयाँ भएको।
(२) धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको।
(३) विगत तीन वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको।
(४) आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको।
(५) सञ्चित नोक्सानी नरहेको।
(ग) खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भएता पनि सूचीकृत भएको दुई वर्ष पूरा नभएसम्म त्यस्तो संगठित संस्था “जि” वर्गमा रहनेछ।
(घ) खण्ड (क), (ख) र (ग) बमोजिमको वर्गीकरणमा नपरेका सूचीकृत संगठित संस्था “जेड” वर्गमा रहनेछ।
यस बमोजिम वर्गिकरण गरिएका पुनरावलोकन गरी प्रत्येक त्रैमासिक अवधिमा अद्यावधिक गरी नेप्सेले वेभसाइटमार्फत सार्वजनिक गर्नेछ।
कार्यन्यवनमा समिति गठन
अब कार्यविधि कार्यन्यवनको लागि नेप्सेले इन्डेक्स व्यवस्थापन समिति गठन गर्नेछ। उक्त समितिले हाल सञ्चालनमा रहेको इन्डेक्सलाई नियमित रुपमा व्यवस्थापन गर्न, आवश्यकताअनुसार नयाँ इन्डेक्स विकास गर्न, र इन्डेक्समार्फत बजारमा कुनै कारोबार औजार निर्माण गर्न नेप्सेले देहाय अनुसारको एक इन्डेक्स सञ्चालन तथा व्यवस्थापन गर्नेछ।
समिति नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को संयोजकमा कुनै एक विश्वविद्यालयमा वित्तशास्त्र, लगानी, पुँजी बजार वा अर्थशास्त्र विषयमा अध्यापनरत कम्तीमा सह–प्रध्यापक १ जना सदस्य राष्ट्रिय तथ्यांक कार्यालय, कम्तीमा उपसचिव स्तरका प्रतिनिधि तथ्यांकशास्त्री १ जना सदस्य, नेपाल राष्ट्र बैंक,आर्थिक अनुसन्धान विभागको कम्तिमा उपनिर्देशक प्रतिनिधि १ जना सदस्य, नेप्सेको १० तहका कर्मचारी १ जना सदस्य हुनेछ। अन्तर्राष्ट्रिय विज्ञको परामर्श आवश्यक भएमा सञ्चालक समितिको पूर्व स्वीकृति लिनु पर्नेछ।
समितिको काम र कर्तव्य
–आवश्यकताअनुसार अहिले जारी भएका विभिन्न इन्डेक्सहरुलाई यस कार्यविधि उल्लेख भएअनुसार वा समायोजन गर्ने।
–अन्तर्राष्ट्रिय अभ्यासहरु अध्ययन गरी यस कार्यविधिलाई समय सापेक्ष बनाउन व्यवस्थापनलाई सुझाव दिने।
–नयाँ इन्डेक्स विकास गर्न तथा हाल सञ्चालनमा रहेको इन्डेक्सहरुलाई समय सापेक्ष बनाउन आवश्यक अध्ययन गर्ने।
– नयाँ सूचकांकहरुको विकास गर्न इन्डेक्सको प्रकृति, गणना विधि र इन्डेक्स बास्केट तयार गर्नका लागि आवश्यक सर्तहरु तय गर्ने, त्यसका लागि आवश्यक जानकारी तथा तथ्यांक प्राप्त गर्ने र नयाँ इन्डेक्सको परीक्षण गरी सञ्चालनार्थ नेप्से व्यवस्थापनमार्फत सञ्चालक समिति समक्ष पेश गर्ने।
–सूचिकरण शाखामार्फत आवश्यक तथ्यांक संकलन, भण्डारण तथा सुरक्षणको कार्य गर्ने।
–सूचकांकहरुको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्न, इन्डेक्स रिब्यालेन्सिङ गर्न कम्पनीहरुलाई तिनीहरुको सूचकांकको प्रकृति तथा वर्गअनुसार तालिकामा प्रस्तुत गरी वर्गीकरण गर्ने र कम्पनीहरुको सूची तयार पार्ने।
–सूचकांकको प्रकृतिअनुसार कम्पनीहरुको छनौट गर्दा यस कार्यविधिमा निर्दिष्ट गरिएको विधिमार्फत छनौट गर्ने।
– नेप्सेले सञ्चालन गरेको वा गर्ने इन्डेक्सलाई प्रयोग गरेर कुनै कारोबार औजार निर्माण गर्न सकिने भए सो सम्बन्धमा आवश्यक राय सुझाव दिने। त्यस्ता उपकरणको कारोबार गर्न आवश्यक नीति निर्माणमा सहयोग गर्ने।
–नेप्सेमा सूचीकृत कम्पनीहरुको क्षेत्रगत समूह थप गर्न वा भएको समूहलाई एकिकरण गर्न व्यवस्थापन समक्ष सुझाव दिने।
–इन्डेक्स बास्केटको नियमित अनुगमन गर्ने कम्पनीहरुको सूचीमा कुनै कैफियत रहेको पाइएमा आवश्यक छलफल गरी फेरबदल वा थपघट गर्नुपर्ने भएमा आवश्यक कारण र त्यसको प्रमाणसहित नेप्से व्यवस्थापनमा पेश गर्ने।
–नियमित समायोजनको कार्यबाट उपरोक्त सूचकहरुमा परेका प्रभाव तथा गणनाबाट प्राप्त फिडब्याकको अनुगमन गर्ने।
–सूचकांक गणनामा कुनै पनि कैफियत पाइएमा त्यसलाई तुरुन्तै सच्याउनलाई आवश्यक कारबाही गर्ने।
–कार्यविधिमा रहेका विषयलाई आवश्यकताअनुसार थपघट वा फेरबदल वा संशोधनका लागि नेप्सेको सञ्चालक समिति समक्ष पेश गर्ने।
–सञ्चालनमा रहेका विभिन्न सूचकांकहरुलाई आवश्यकता बमोजिम नियमित सञ्चालन सम्बन्धि विभिन्न कार्यहरु जस्तै सूचकांकको नाम परिवर्तन, गणना विधि परिवर्तन वा समायोजन सच्याउने जस्ता कार्य गर्ने।
–समितिको बैठक आवश्यकताअनुसार बस्नेछ। एक बैठकदेखि अर्को बैठकको अन्तर दुई महिनाभन्दा बढी हुने छैन।
–समितिले वर्षमा २ पटक विभिन्न इन्डेक्सहरुको रिब्यालेन्सिङका लागि आवश्यक बैठक बसी सो सम्बन्धमा तोकिएको अवधिभित्रै निर्णय गरी रिब्यालेन्सिङका लागि नेप्से व्यवस्थापनलाई आवश्यक सुझाब प्रदान गर्नेछ ।
–समितिको कार्यअवधि सामान्यतया २ वर्षको हुनेछ।
–नेप्से सञ्चालक समितिले प्रत्येक २ वर्षमा विद्यमान समितिलाई नै निरन्तरता दिने वा पुनर्गठन गर्ने निर्णय गर्नेछ।
–समितिमा तोकिएको पदाधिकारी ३० दिनभन्दा बढि रिक्त हुने छैन।
–सदस्यले समितिमा रहन नसक्ने अवस्था आएमा सोको जानकारी एक महिना अगावै दिनुपर्नेछ।
–समितिका सदस्यहरुले दोश्रो बजारमा कारोबार गर्ने छैन्।
सञ्चालनमा नेप्से इन्डेक्स, सेन्सेटिभ इन्डेक्स, फ्लोट तथा फ्लोट सेन्सिेपटभ इन्डेक्स र क्षेत्रगत तथा समुहगत १३ वटा इन्डेक्स सञ्चालनमा छन्।