काठमाडौं । प्रस्तावित ७६२ मेगावाटको तमोर जलासययुक्त आयोजनाको निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम सुरु हुन लागेको छ ।
प्रवद्र्धकद्धय पावर कन्ट्रक्सन कर्पाेरेशन अफ चाइना लिमिटेड (पावर चाइना) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले संयुक्त रुपमा डीपीआरको काम सुरु गर्न लागेका हुन ।
डीपीआरका लागि कार्यादेश (टम्र्स अफ रिफरेन्स) तयारीको काम भइरहेको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनले टीओआरमा सहमति हुनसाथ डीपीआरको काम सुरु हुने जानकारी दिए । आउँदो माघदेखि डीपीआरको काम सुरु गर्ने दुबैको तयारी छ ।
२ वर्षभित्र डीपीआर तयार पारेर लगानी जुटाइ निर्माण थाल्ने पावर चाइना र एचआईडीसीएलको योजना छ । लगानी बोर्डसंग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्नका लागि छलफल भइरहेको पोखरेलले बताए ।
एक महिनाभित्र बोर्ड र पावर चाइनाबीच एमओयू हुने उनले जानकारी दिए । डीपीआर तयार गर्दा हुने लगानीको विषयमा पनि एचआईडीसीएल र पावर चाइनाबीच छलफल भइरहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा असोज २६ गते तमोर आयोजना संयुक्त लगानीमा बनाउन पावर चाइना र नेपालको एचआईडीसीएलबीच एमओयू भएको थियो । लगानीकर्ताले लगानी बोर्डसंग एमओयू गर्न बाँकी छ ।
साझेदार पावर चाइना र एचआईडीसीएलले २ वर्षभित्र आयोजनाको निर्माण सुरु गर्ने कार्ययोजना बनाएका छन ।
डीपीआर तयारपछि मात्र आयोजनाको वास्तविक क्षमता र लगात निर्धारण हुने छ । आयोजनाको क्षमता बढ्ने संभावना छ । यद्यपी नेपाल विद्युत प्राधिकरणले संभाव्यता अध्ययन गरेको छ ।
प्राधिकरणको संभाव्यता अध्ययनले तमोर आर्थिक रुपमा आकर्षक नभएको देखाएको छ । आयोजना आर्कषक बनाउन सहुलियत दरमा कर्जा आवश्यक पर्ने प्राधिकरणले औल्याएको छ ।
एचआईडीसीएल र पावर चाइनाले डीपीआर बनाएपछि आयोजनाको वास्तविक विवरण आउने छ । तमोर बनाउन पौने २ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ ।
तमोर जलाशय आयोजना लगानी बोर्डमा छ । एचआईडीसीएल र पावर चाइनाले लगानी बोर्डसंग आयोजना विकास सम्झौता (पीडीए) गर्नुपर्छ ।
तमोरमा न्यूनतम २६ प्रतिशत नेपाली लगानी सुनिश्चित गरिएको छ । नेपाललीले ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने छन । लगानीको मोडालिटीमा पावर चाइना लचक छ ।
पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट तमोर पाएका हुन । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्नेछ । सार्वजनिक – निजी साझेदारी (पीपीपी) खाकामा आयोजना निर्माण गर्ने गरी प्रस्ताव गरिएको हो ।
गत चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनमा ऊर्जातर्फ सोही आयोजनाका लागि दुई वटा प्रस्ताव प्रस्तुत भएको थियो ।
गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो । तमोर आयोजनाबाट पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्ला प्रभावित हुनेछ ।