काठमाडौं। गाडी पारखी, विक्रेता, आयातकर्ता, व्यवसायीलगायतको प्रतीक्षामा रहने गरेको ‘नाडा अटो शो २०२३’ आज मंगलबारबाट सुरु हुँदै छ।
१५औं संस्करणको नाडा अटो शो राजधानीको भृकुटीमण्डपमा हुन लागेको हो। १ सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ। शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ।
नाडा अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड छ।
यसैगरी शोको डोर प्राइजमा याडिया, टिकट पार्टनर खल्ती, अफिसियल इन्टरनेट पार्टनर वर्ल्डलिंक, फायर सेफ्टी सपोर्ट हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल छन् भने शो व्यवस्थापनमा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस छ।
यो पटकको शोमा हुन्डाईको एक्सटर, सुजुकी जिम्नी र फ्रोंस, टाटा पन्च, बिवाईडी डल्फिन, एमजी कोमेट र एमजी–४ लगायत नयाँ गाडी देख्न पाइने छ भने सेरेस, स्काइवेल लगायत नयाँ ब्रान्ड पनि देख्न पाइने छ।
शो प्रवेश गर्न २ सय रुपैयाँ तिर्नुपर्छ। विद्यार्थीलाई भने १ सय ५० रुपैयाँमात्र लाग्ने छ।
विद्यमान बजार सुस्तताबीच शोमा विभिन्न अटोमोबाइल कम्पनीको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन यसखालको व्यापारिक गतिविधिको योगदानलाई प्रष्ट पारेको नाडाले जनाएको छ।
शोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ। सँगसँगै चाडपर्वका पूर्वाद्र्धमा आयोजना हुन गइरहेको शोले अटो व्यवसायी, ग्राहकवर्ग, गाडीप्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्नलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ।
प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी सस्था तथा अवलोकनकर्ताको चाप बढ्दै गइरहेका सन्दर्भमा शोले सवारीसाधनलाई विलासितामात्र नभई सर्वसाधारणको जीविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनका रूपमा चित्रण गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ।
शोमा ठूला तथा साना गरी करिब १ सय २० स्टल र ब्लक रहनेछन्। शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने छ।
शोमा १६ ब्रान्डका चारपांग्रे तथा २२ ब्रान्डका दुईपांग्रे, सात ब्रान्डका लाइट कमर्सियल भेइकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको छ।
शोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटोसम्बन्धी सेवा सुविधा दिने वित्तीय सेवा, बिक्रीपछिका सेवा आदिका छुट्टाछुट्टै स्टल रहनेछन् भने अटोसम्बन्धी जानकारी दिने म्यागजिन तथा पत्रपत्रिकाका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको नाडाले जनाएको छ ।
सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी व्यापक सुसूचित गराउने उद्देश्यसाथ महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको सूचनाकक्ष समेत शोमा रहने छ।
शोमा अवलोकनकर्ताको सुविधालाई विषेश ध्यानमा राखी दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरण छुट्टाछुट्टै प्रदर्शन गरिने छ।
प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्न काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्युटावरलगायत सार्वजनिक पार्किङ स्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिने नाडाले जनाएको छ।
शो व्यवस्थित बनाउन प्रदर्शनीस्थलमा भीड कम गर्ने एवं आगन्तुक भ्रमण सहज बनाउन खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
६ दिनसम्म चल्ने नाडा अटो शोमा एक भग्यशाली अवलोकनकर्ताले लक्की ड्र मार्फत ‘याडिया इ८ एस’ इलेक्ट्रिक स्कुटर जित्नेछन्।
यो वर्ष नाडा अटो शोमा दर्शकले केही प्रिमियम ब्रान्डका गाडी भने देख्न पाउने छैनन्। यसपालि प्रिमियम ब्रान्ड टेस्ला, औडी, बिएमडब्लु, टोयोटा, जिप, स्कोडा देख्न नपाइने भएको हो।
टोयोटाका लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले आफ्नो नयाँ मोडल नभएका कारण यस वर्ष नाडामा सहभागिता नजनाउने भएको हो भने एमएडब्लु ग्रुपले जिप, स्कोडा नराखी आफ्नो नयाँ ब्रान्ड सेरेस राख्न लागेको हो।
त्यस्तै लक्ष्मी ग्रुपले बिएमडब्लुको नयाँ मोडेल आउने निश्चित नभएका कारण स्टल नराखे पनि हुन्डाईको एक्सटर भने राख्ने भएको छ।
त्यस्तै, गत वर्ष इभी शोमा सहभागिता जनाएको टेस्ला र केही समयअघि मात्र नेपाली बजार आएको औडीले पनि स्टल बुक नगरेको नाडाले जनाएको छ।