काठमाडौं। आनी छोइङ डोल्मा फाउन्डेसनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई १ करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
फाउन्डेसनले काठमाडौं बूढानीलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब’ भवन निर्माणका लागि १ करोड ८० लाख रुपैयाँ सहयोग गरेको हो। अस्पताल निर्माणका लागि सहयोग जुटाउन प्रयत्नशील फाउन्डेसनका संस्थापक समाजसेवी एवं गायिक आनी छोइङ डोल्माले विशिष्टकृत बाल स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
‘अस्पताल भवन निर्माणका लागि आफूसँग भएको मर्सिडिज गाडी बिक्री गरेर भए पनि सहयोग गर्न पाएकोमा खुसी छु,’ उनले भनिन्, ‘एउटै छानामुनी विशिष्टकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका शाखा देशका अन्य स्थानमा पनि स्थापना गर्न मैले सक्दो सहयोग गर्नेछु।’
अस्पतालका अध्यक्ष डा. भगवान् कोइरालाले नेपालमा अझै मातृ तथा शिशु मृत्युदर उच्च रहेकाले त्यसलाई कम गर्न पहिलो चरणमा काठमाडौंमा विशिष्टकृत बाल अस्पताल स्थापना गर्न लागिएको भन्दै सातै प्रदेशमा यस्ता अस्पताल स्थापना गर्दै जाने लक्ष्य रहेको बताए।
‘अहिले देशभरि करिब २८ हजार शैय्या रहेकामा २ हजार ८ सय जतिमात्र बालबालिका शैय्या रहेको छन्। त्यसमा पनि झन्डै ८० प्रतिशत शैय्या, चिकित्सक र नर्स बागमती प्रदेशमा केन्द्रित छन्,’ डा. कोइरालाले भने, ‘देशभरि विशिष्टकृत बाल स्वास्थ्य सेवा विस्तार गर्न सबैको सहयोगको आवश्यकता छ।’
बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्दै आएको गैरनाफामुलक संस्था किओचले कोशी प्रदेशको झापा जिल्लास्थित दमकमा किओच–दमक बाल अस्पताल स्थापना गरेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ।
सेवा सुरु गरेको चार महिनामा अस्पतालले ८ हजार ३ सय जनालाई बहिरङ्ग सेवा र १ हजार ८ सय ५० जनालाई अन्तरङ्ग सेवा उपलब्ध गराएको डा. कोइरालाले जानकारी दिए।