काठमाडौं। सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सेवा सञ्चालन समय परिवर्तन भएको छ। यसअघि असोज १ गतेबाट सेवा सुरु गर्ने बताएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समय परिवर्तन गरेर असोज ३ गते संविधान दिवसबाट सेवा सुरु गर्ने जनाएको हो।
सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभाग, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग द्रुत बस सेवाका विषयमा छलफल गरेका थिए। छलफलपछि असोज ३ बाट द्रुत बस सञ्चालन गर्ने निर्णय भएको मन्त्री ज्वालाले बताएका छन्।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार बस सेवा सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। ‘अरु काम सबै काम सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेडमार्क गर्नमात्र बाँकी छ, त्यो पनि २६ भदौदेखि सुरु गर्छौं,’ महानिर्देशक ढकालले भने।
विभागले दुईखण्ड बनाएर सडक रेडमार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडीबुटी, र जडीबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन रेडमार्गको काम सुरु हुनेछ।
त्यसैगरी यातायात व्यवस्था विभागले भने आफ्नो काम सकेको जानाएको छ। द्रुत बस सेवाका लागि आवश्यक पर्ने २५ बस तयारी अस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।
व्यवसायीसँग सहकार्य गरी हाल सञ्चालनमा रहेका बसलाई नै द्रुत बसका रूपमा चलाउन लागिएको हो। करिब ३८ सिट क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन्।
बिहान र बेलुका कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्रालयले द्रुत बस सेवाको अवधारणा ल्याएको हो।
‘यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवाका विषयमा केही आशंका उब्जिएका थिए, अब आशंका पाल्नुपर्दैन, असोज ३ बाट सञ्चालन हुन्छ’ मन्त्री ज्वालाले भने।
यात्रुको अत्यधिक चाप हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजे गरी दिनमा ४ घन्टा द्रुत बस सञ्चालन हुनेछ।