काठमाडौं। नेपाल राष्ट्र बैंकले एनआइसी एसिया बैंक र एभरेस्ट बैंकलाई गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न स्वीकृति दिएको छ। सोमबार केन्द्रीय बैंकले यी बैंकहरुलाई गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न पाउने गरी वित्तीय विवरण प्रारम्भिक स्वीकृति (प्रिलिमिनरी एप्रुभल) दिएको हो।
एनआइसी एसिया र एभरेष्ट बैंकसँगै माछापुच्छ्रे बैंकले गत साता नै राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरेका थिए। जसमा राष्ट्र बैंकले माछापुच्छ्रे बैंकलाई प्रारम्भिक स्वीकृति पाएर १४ प्रतिशत लाभांश घोषणा भइसकेको छ। एनआइसी र एभरेष्ट बैंकले भदौ २५ गते (आज) प्रारम्भिक स्वीकृति पाएको राष्ट्र बैंक वाणिज्य बैंक सुपरिवेक्षणका एक अधिकारीले बताए।
‘यी बैंकहरुले प्रिलिमनरी एपु्रअल आज पाए, अब आफ्नो संस्थाको बोर्ड बैठकको निर्णयअनुसार लाभांश घोषणा गरेर अन्तिम स्वीकृतिको लागि पूनः आउँछन्,’–राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो।
राष्ट्र बैंकले यी बैंकहरुले पेश गरेको वित्तीय विवरणमा विस्तृत मुल्यांकन गर्दै गत वर्षमा यी बैंकहरुले छुट्याउनु पर्ने कर्जा नोक्सानीमा, साधारण जगेडा कोषमा, कर्मचारीको तालिम, सामाजिक उत्तरदायित्व कोषमा छुट्याउँनु पर्ने पैसालगायत थप गर्नुपर्ने ठाँउमा थप्न लगाएर प्रारम्भिक स्वीकृति दिएको हो।
एभरेष्ट र एनआएसी एसियाको बैंकको स्थलगत सुपरिवेक्षणको प्रतिवेदनले औल्याएको प्रोभिजन बारे स्पष्टिकरणमा चित्त बुझाएपछि राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति दिएको बैंक स्रोतको भनाइ छ। यी बैंकसँगै सानिमा बैंक पुनः प्रारम्भिक स्वीकृति लिन गत साता राष्ट्र बैंकमा पुगिसकेको छ। यो बैंकलाई आवश्यक प्रक्रिया पूरा गरेर प्रारम्भिक स्वीकृति दिन अझै १ साता लाग्न सक्ने ती अधिकारीको अनुमान छ।
गत आर्थिक वर्षको नाफाबाट एनआइसी एसियाले ३१.९९ प्रतिशत र एभरेष्ट बैंकले ४०.५० प्रतिशत लाभांश वितरण गर्ने क्षमता सहितको वित्तीय विवरण राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गरेका हुन्। यी बैंकहरुको प्रोभिजन थप नभएको अवस्थाको प्रस्तावित लाभांश वितरण गर्न पाउने गरी राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति दिन्छ।
यी बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेष्ट बैंकले गत आर्थिक वर्ष ४ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँका आधारमा सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।
यता, एनआइसी एसिया बैंकले गत आवमा ३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। अहिले कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख हुँदा बैंकले गत आर्थिक वर्षको नाफाबाट ३१.९९ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।
राष्ट्र बैंकले एभरेष्ट र एनआइसीलाई क्षमता अनुसारकै लाभांश घोषणा गर्न पाउने गरि वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति दिएको हो। यी बैंकहरुले भने क्षमता अनुसार सेयरधनीमा लाभांश वितरण नगरी केही प्रतिशत रिजर्भमा राख्ने तयारी गरेका छन्।
सम्बन्धित बैंक स्रोतका अनुसार एभरेष्टले क्षमताको आधामात्रै बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने छलफल सञ्चालक समिति सदस्यहरुमा चलिरहेको छ। यद्यपि यो बैंकको सञ्चालक समितिले क्षमताअनुसार नै लाभांश वितरण गर्दा आधा बोनस र आधा नगद लाभांश वितरण गर्न सक्ने सम्भावना प्रवल छ।
यता, राष्ट्र बैंकको नियमन उल्लंघन गर्दा विगत ३ वर्षयता सेयरधनीलाई प्रतिफल वितरण गर्न नपाएको एनआएसी एसियाले पनि क्षमताअनुसार नै लाभांश वितरण नगर्ने भएको छ। एनआइसी एसियाले आर्थिक वर्ष ०७७/७८ यता तोकिएको प्राथमिक पुँजी कोष अनुपात ८.५ प्रतिशत कायम नगर्दा लाभांश वितरण गर्न पाएको छैन्।
आर्थिक वर्ष ०७७/७८ मा बैंकले १५ प्रतिशत लाभांश दिने घोषणा गरेर पनि राष्ट्र बैंकले डन्डा चलाउँदा रोक्को भएको थियो। अघिल्लो आर्थिक वर्षमा बैंकले नाफाबाट १७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको थियो। तर, तोकिएको प्राथमिक पुँजीकोष कायम गर्न नसक्दा लाभांश वितरण गर्न पाएन्। गत आर्थिक वर्षको नाफासहित कूल ३१ प्रतिशत लाभांश वितरणको क्षमता बैंकले राखेको छ।
बैंक सञ्चालक समितिले करिब २१ प्रतिशत मात्रै लाभांश वितरण गरेर बाँकी रिजर्भमा राख्ने छलफल एक सातायता गरिरहेका छ। राष्ट्र बैंकले वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति दिएसँगै बैंकले भोलि नै सञ्चालक समितिको बैठक बस्ने र लाभांश घोषणा गर्ने तयारी गरेको बैंक स्रोतको भनाइ छ। बैंक सञ्चालकले नाफाबाट सबै प्रतिफल वितरण नगरी रिर्जभलाई बलियो बनाउन खोजेका हुन्।
यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षमा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो। बैंकको हाल कायम चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ। जसअनुसार गत आर्थिक वर्षको नाफाबाट बैंकले १७.७३ प्रतिशत लाभांश दिने क्षमता राख्छ। बैंकको प्रोभिजन थप नभए प्रस्तावित लाभांश वितरण गर्न पाउने गरी प्रारम्भिक स्वीकृति पाउँछ।
लाभांश घोषणाको प्रक्रिया
कुनै पनि कम्पनी तथा संघ–संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सो आवको वार्षिक साधारण सम्पन्न गरिसक्नु पर्छ। बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक साधारणसभा सम्पन्न गर्नको लागि राष्ट्र बैंकमा सम्बन्धित आर्थिक वर्षको वित्तीय विवरण पेश गरी पारित गर्नु पर्ने व्यवस्था छ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक सम्बन्धित सुपरिवेक्षणमा अन्तिम लेखा परीक्षण गराएपछि वित्तीय विवरण पेश गर्नुपर्ने हुन्छ। जसमा सम्बन्धित सुपरिवेक्षणले निरीक्षण गरी प्रारम्भिक स्वीकृत दिन्छ। उक्त स्वीकृत पाएमा मात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न पाउँछन्।
घोषित लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र साधारण सभाको मिति तय गरी लगानीकर्तालाई वितरण हुन्छ। यी बैंकहरुले राष्ट्र बैंकबाट पारित भएको वित्तीय विवरणको क्षमताअनुसार नै लाभांश घोषणा गर्ने÷नगर्ने भन्ने सम्बन्धित बैंकमा नै भर पर्छ। क्षमताअनुसार लाभांश वितरण नगरेर रिजर्भमा समेत बैंकहरुले वितरणयोग्य नाफाको पैसा राख्छन्।