काठमाडौं। जलवायु परिवर्तन समस्या युवा नेतृत्वमार्फत समाधान गर्न ‘एलकोई नेपाल २०२३’ आयोजना हुने भएको छ।
नेपालमा जलवायु परिवर्तन आपतकालीन समस्या बनेको र यसले शिक्षा, स्वास्थ्य, वातावरण तथा अर्थतन्त्रमा समेत समस्या उत्पन्न गराइरहेकाले युवा नेतृत्वमार्फत समाधान तथा वकालत गर्न योङ्गो र डब्लुएफएफको संयुक्त सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सनको आधिकारिक युवा निर्वाचन क्षेत्र योङ्गोले हरेक वर्ष विभिन्न देशमा लोकल कन्फ्रेन्स अफ युथ (एलकोई) कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
एलकोईको प्रमुख उद्देश्य युवा तथा बालबालिकालाई जलवायु परिवर्तनसम्बन्धी कार्यमा नेतृत्व गराउनु हो। एकलकोई नेपाल २०२३ ‘भिजनदेखि कार्यसम्म, नेपालमा जलवायु कार्यका लागि युवाको नेतृत्व’ भन्ने विषयवस्तुमा केन्द्रित छ। यसले युवालाई जलवायु समस्यासँग संलग्न हुन, विचार साझा गर्न र अर्थपूर्ण कार्य लिन मञ्च प्रदान गर्छ।
भदौ २९ र ३० मा सञ्चालन हुने कार्यक्रमले जलवायु परिवर्तन, यसका असर, अन्तर्निहित कारण र मानवताले प्रतिक्रियामा गरेका विभिन्न पहलबारे गहिरो छलफलका लागि मञ्चका रूपमा काम गर्ने आयोजकले जनाएको छ।
कार्यक्रमले यी विषयमा समूह प्रस्तुतीकरण र प्यानल छलफल फिचर गर्ने छ जसले सहभागीलाई जलवायु सम्बन्धित विस्तृत बुझाइ प्रदान गर्ने छ।