काठमाडौं। आइजे ग्रुप र चौधरी ग्रुप (सिजी) को संयुक्त लगानीमा ललितपुर कुपन्डोल हाइटमा पाँचतारे होटलसहित अत्याधुनिक लक्जरी अपार्टमेन्ट निर्माण दसैंपछि सुरु हुने भएको छ।
पुरानो चारतारे होटल समिट भत्काएर अत्याधुनिक पाँचतारे होटलसहित भव्य लक्जरी अपार्टमेन्ट निर्माण हुने भएको हो।
द समिट होटल एन्ड रेसिडेन्सको अहिले प्रारम्भिक काम भइरहेको छ। बर्खा सकिनासाथ अपार्टमेन्ट र होटलको भवन निर्माण काम सुरु हुने आइजे ग्रुपको अध्यक्ष रविभक्त श्रेष्ठले बताए।
पहिलो चरणमा अपार्टमेन्ट निर्माण सुरु हुनेछ। ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना आगामी सन् २०२६ मा पूरा हुने श्रेष्ठले जानकारी दिए।
अहिले संस्थापकको स्वपुँजीबाट काम भइरहेको छ। लगानी जुटाउन बैंकसँग छलफल भइरहेको छ। बैंकसँग छिट्टै ऋण सम्झौता गर्ने उनले जानकारी दिए। विभिन्न बैंकहरूसँग छलफल भइरहेकाले अहिले नै यकिन भइनसकेको उनले सुनाए।
होटल र अपार्टमेन्ट डिजाइन सिंगापुरको आर्किटेक्ट कम्पनी मेनहार्ड इन्फ्रास्ट्रक्चर पिटिई लिमिटेडले गरेको छ। यस्तै सिभिल निर्माणको जिम्मा नेपालको शर्मा एन्ड कम्पनी प्रालिले पाएको छ।
राजधानीको मध्यभागमा रहेकाले अपार्टमेन्ट लक्जरियस र प्रिमियम हुने श्रेष्ठको भनाइ छ। उच्च वर्ग लक्ष्य गरी अपार्टमेन्ट बनाउन लागिएको हो।
प्रस्तावित द समिट होटल एन्ड रेसिडेन्सेसमा १ सय ३५ कोठासहितको पाँचतारे होटल बन्ने छ। होटल परिसरभित्रै १ सय १६ युनिट अपार्टमेन्ट टावर बन्ने छ। जसमध्ये ९२ युनिट स्ट्यान्डर्ड र बाँकी लक्जरियस टाइपको अपार्टमेन्ट टावर बन्ने छ। सानेपामा रहेको समिट होटल १८ रोपनीमा फैलिएको छ।
होटल समिटमा आइजे ग्रुप अध्यक्ष रविभक्त श्रेष्ठ, सिजी अध्यक्ष विनोद चौधरी र अमृतरत्न शाक्यको संयुक्त लगानी छ। आइजे र सिजीले आर एन्ड आर हेरिटेज कम्पनी खडा गरेका थिए। सोही कम्पनीका नाममा २०७१ चैतमा होटल समिटको ६० प्रतिशत स्वामित्व खरिद गरेका हुन्। बाँकी ४० प्रतिशत सेयर शाक्यको छ।
७३ कोठामा सञ्चालित चारतारे समिट सन् १९७९ मा स्थापना भएको थियो। पाँचतारे होटलसहितको लक्जरी अपार्टमेन्टमा परियोजना खर्चालु पर्यटकदेखि नेपालको धनाढ्य वर्ग लक्ष्य छ।
होटलमा बस्न आउने पर्यटकले पनि अपार्टमेन्ट भाडामा लिन सक्नेछन्। सर्भिस अपार्टमेन्ट लामो समय बस्ने खर्चालु पर्यटक लक्ष्य गरी सञ्चालन गर्न लागिएको हो।
परियोजनाको भवन मुलुककै सबैभन्दा भव्य र सुविधा सम्पन्न हुने दाबी गरिएको छ। अहिले भइरहेको होटल समिटका सम्पूर्ण भाग भत्काएर नयाँ संरचना निर्माण गर्न लागेको श्रेष्ठले जानकारी दिए।
सिजी र आइजे ग्रुपको लगानीमा ललितपुर झम्सिखेलमा भारतीय बहुराष्ट्रिय होटल कम्पनी ताज ग्रुपको चारतारे होटल भिभान्ता सञ्चालनमा छ।
सिजीको एकल लगानी रहेको चितवनको मेघौली सेराई रिसोर्ट ताज सफारीले व्यवस्थापन गरिरहेको छ।
आइजे ग्रुपसँग पाँचतारे सोल्टी, सोल्टी वेस्टेन्ड र चारतारे भिभान्तालगायत होटल सञ्चालनको अनुभव छ। यस्तै आइजे ग्रुपको युनिलिभर नेपाल लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनीमा लगानी छ।