काठमाडौं। ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसिए) विकास समिति नेपालले बनाउन लागेको ४ सय केभी क्षमताको प्रसारण लाइन बनाउन दुई भारतीय कम्पनीले सबैभन्दा कम लागत प्रस्ताव गरेका छन्।
भारतको ट्रान्सरेल लाइटिङ लिमिटेड र टाटा प्रोजेक्ट्स लिमिटेडले सबैभन्दा कम मूल्य प्रस्ताव गरेका हुन्। ट्रान्सरेलले पहिलो लटमा १३ करोड १५ लाख १ हजार अमेरिकी डलर प्रस्ताव गरेको छ।
यस्तै लार्सन एन्ड टर्बो लिमिटेडले २१ करोड ८८ लाख ८५ हजार डलर प्रस्ताव गरेको छ। तेस्रो स्थानमा रहेको कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले सबैभन्दा बढी २३ करोड ३१ लाख ६९ हजार डलरमा पहिलो लटको प्रसारण लाइन बनाउने प्रस्ताव गरेको छ।
पहिलो लटअन्तर्गत काठमाडौंको लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा ४ सय केभी प्रसारण लाइन बनाउनुपर्छ। प्राविधिक प्रस्तावअन्तर्गत पहिलो र दोस्रो लटमा कल्पतरुले बढी अंक पाएको छ। तेस्रो लटमा केइसी इन्टरनेसनल लिमिटेडले बढी अंक पाएको छ।
ट्रान्सरेलले सबैभन्दा कम मूल्य प्रस्ताव गरेकाले पहिलो लटको प्रसारण लाइनको जिम्मा उसैले पाउने सम्भावना छ। यद्यपि, यसको निर्णय हुन बाँकी छ।
दोस्रो लटमा भारतको टाटा प्रोजेक्ट्सले सबैभन्दा कम दर प्रस्ताव गरेको छ। टाटाले १० करोड ५४ लाख २५ हजार डलर प्रस्ताव गरेको छ।
दोस्रो स्थानमा रहेको कल्पतरुले १४ करोड ७८ लाख ७३ हजार डलर प्रस्ताव गरेको छ। तेस्रो स्थानमा रहेको केइसीले १६ करोड ३९ लाख ३६ हजार डलर प्रस्ताव गरेको छ।
सबैभन्दा कम मूल्य प्रस्ताव गरेकाले टाटाले दोस्रो लटको ठेक्का पाउने सम्भावना छ। दोस्रो लटअन्तर्गत रातमाटे–न्यु दमौली ४ सय केभी प्रसारण लाइन बनाउनुपर्ने हुन्छ।
तेस्रो लटमा भारतको टाटाले नै सबैभन्दा कम मूल्य प्रस्ताव गरेको छ। टाटाले १२ करोड ९० लाख २१ हजार डलर प्रस्ताव गरेको छ। दोस्रो स्थानमा रहेको केइसीले १९ करोड ९७ लाख ९७ हजार डलर प्रस्ताव गरेको छ।
तेस्रोे स्थानमा रहेको लार्सन एन्ड टुर्बाेले सबैभन्दा बढी २६ करोड १२ लाख ४२ हजार डलरमा न्यु दमौली–न्यु बुटवलदेखि नेपाल–भारत सीमासम्म ४ सय केभी प्रसारण लाइन बनाउन प्रस्ताव गरेको छ। तेस्रो लटमा पनि टाटाले कम मूल्य प्रस्ताव गरेकाले उसैले पाउने सम्भावना छ।
मेघा इन्जिनियरिङ तथा इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त प्रस्ताव अयोग्य भएपछि प्रतिस्पर्धाबाट बाहिरिएको छ।
एमसिए नेपालले प्राविधिकलाई ८० र वित्तीय प्रस्तावलाई २० प्रतिशत वेटेज आधार बनाएर कम्पनीहरूको प्रस्ताव मूल्यांकन गरेको छ। यही आधारमा प्रसारण लाइन बनाउने कम्पनी छनौट हुने अर्थ मन्त्रालयले जनाएको छ।
यसअघि एमसिए नेपालले ३ सय १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको थियो।
त्यसबेला भारतको कल्पतरु, ट्रान्सरेल लाइटिङ, टाटा, केइसी र लार्सन एन्ड टर्बाेले प्रसारण लाइन बनाउन बोलपत्र पेस गर्न छनौट भएका थिए। राजधानीको लप्सीफेदीबाट सुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटे हुँदै हेटौंडासम्म पुग्ने छ।
यस्तै रातेमाटेबाट दमौली, बुटवल हुँदै नेपाल–भारत सीमासम्म पुग्ने छ। यो लाइन बुटवल–गोरखपुर प्रसारण लाइनमा समाहित हुनेछ।