काठमाडौं। हिमालय एयरलाइन्सले काठमाडौं–छिन्ताओ उडान सुरु गरेको छ। सेवा विस्तारलाई एयरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्ने प्रतिबद्धताका साथ हिमालयले २४ गतेबाट उडान सुरु गरेको हो।
नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय दृश्य, समृद्ध, सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए।
उडानको उद्धघाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण भएको बताए। दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेकाले यो उडान सेवाले त्यसतर्फ निर्णायक भूमिका निर्वाह गर्ने उनले बताए।
‘हिमालयको उडानले चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु’, मन्त्री किराँतीले भने ‘यसै अवसरमा म छिन्ताओबासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु।’
नेपालका लागि चिनियाँ राजदूत चेङ सोङले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउदै यो नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउने विश्वास व्यक्त गरे।
‘नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउनेछ,’ राजदूत चेङ सोङले भने, ‘यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्नेछ, हाम्रा दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा म विश्वस्त छु।’
एयरलाइन्सको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा गरेको थियो। छिन्ताओकोे जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने छ। उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ। पहिलो उडानमा कूल यात्रु संख्या एक सय थियो।