एजेन्सी। भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पनाअनुसार सन् २०४७ सम्म विकसित राष्ट्र बन्न आगामी २० वर्षसम्म लगातार ८ देखि ९ प्रतिशतका दरले आर्थिक वृद्धि गर्नुपर्ने देखिएको छ।
अहिले भारतको वृद्धि औसत ६ देखि ७ प्रतिशत हारहारीमा छ। डेलोइट दक्षिण एसियाका सीईओ रोमल शेट्टीका अनुसार भारतले चीन प्लस वान रणनीतिबाट फाइदा लिन सक्छ। किनकि अन्य कुनै पनि देशले यहाँ उपलब्ध रहेको मापन र आकार प्रदान गर्न सक्दैन।
शेट्टीले भनेका छन् ‘भारतमा २ सय नवप्रवर्तक (स्टार्टअप) उद्यमहरू छन्। यि उद्यमले सन् २०४० सम्ममा थप १ खर्ब डलर लगानी आकर्षित गर्न सक्छ। हामीले विकसित अर्थतन्त्र बन्न कम्तिमा २०४७ सम्ममा ८ देखि ९ प्रतिशतको वृद्धि गर्न आवश्यक छ।’
मध्यम आयको स्तरबाट टाढा जाँदै गर्दा यस गतिमा वृद्धि गर्न भारतलाई सजिलो छैन। यद्यपि वार्षिक ८ देखि ९ प्रतिशतको दरले आर्थिक वृद्धि गर्न सक्षम हुने उनको भनाई छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हालै पीटीआईलाई दिएको एक अन्तर्वार्तामा भारत निकट भविष्यमा शीर्ष ३ अर्थतन्त्रमा पर्ने बताएका छन।
‘आउँदो सन् २०४७ सम्ममा हाम्रो देश विकसित देशको सूचीमा हुनेछ भन्नेमा म विश्वस्त छु। हाम्रो अर्थतन्त्र थप समावेशी र नवीन हुनेछ’ प्रधानमन्त्री मोदीले भनेका थिए।
अमेरिका, चीन, जापान र जर्मनीपछि भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो। गत महिनाको एस एन्ड पी ग्लोबल रिपोर्टले भारतको अर्थतन्त्र हालको भारतको अर्थतन्त्रको आकार बढेर ३७ खर्ब ५० अर्ब (३.७५ ट्रिलियन) डलर पुगेको छ। साढे ३७ खर्ब डलरबाट २०३१ सम्ममा झण्डै दोब्बर भएर ६७ खर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ।
‘भारतले कृषि, अन्तरिक्ष क्षेत्रहरू र अन्य उदियमान क्षेत्रहरू जस्तै ईभीमा अवसरहरू खोज्न सक्छ। उनले देशले वर्षेनी १६ हजारदेखि १८ हजार किलोमिटर ‘उत्तम गतिमा’ सडक निर्माण गरिरहेको बताए।
बहुराष्ट्रिय कम्पनीहरूले चीन प्लस वान हेरिरहेका छन। यसमा कुनै शंका छैन।’ उनले शेट्टीले भने। उनका अनुसार कम्पनीहरूले आफ्नो उत्पादनलाई चीन बाहेक अन्यत्र लैजाने निर्णय गर्दा अन्य देशहरू पनि लाभान्वित हुन्छन्।
अहिले भारतले सामना गरिरहेको ठूलो चुनौती कच्चा तेलको आयात रहेको उनले बताए। त्यसैगरी, प्रविधिले देशलाई रूपान्तरण गरे पनि यो विभाजनकारी हुन सक्छ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा समस्याहरु छन् यसमा हामी चिन्तित हुनुपर्ने औंल्याइइको छ।
यता गोल्डम्यान साक्सले आगामी दशकमा विश्वव्यापी आर्थिक शक्ति सन्तुलन नाटकीयरूपमा परिवर्तन हुने अनुमान गरेको छ। साक्सले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले आगामी दशकमा विश्वव्यापी आर्थिक शक्ति सन्तुलन परिवर्तन भई एसियातिर सर्ने प्रक्षेपण गरेको छ।
केही दशकको प्रमुख विषय चीन र भारतको अविश्वसनीय आर्थिक वृद्धि हो। उदाहरणका लागि सन् २००० र २०२२ बीचमा भारतले बेलायत र फ्रान्सलाई पछाडि पार्दै पाँचौं ठूलो अर्थतन्त्र बन्यो। एक दशक अवधिमा भारत ८ स्थान माथि चढ्यो।
आगामी २०५० सम्म गोल्डम्यान साक्सले विश्वको कूल गार्हस्थ उत्पादन (जिडिपी) भार एसियातिर बढ्ने अनुमान गरेको छ। सन् २०५० मा तेस्रो स्थानमा भारत हुनेछ। भारतको अर्थतन्त्र २ सय २२ खर्ब (२२ं२ ट्रिलियन) डलरको हुनेछ।
२०७५ सम्म चीन, अमेरिका र भारत तीन ठूला अर्थतन्त्र रहने सम्भावना छ। गोल्डम्यानले २०७५ सम्म विश्वका तीन ठूला अर्थतन्त्र चीन, भारत र अमेरिका हुनेछन्।
जसमा भारतले अमेरिकालाई पछाडि पार्ने छ। सन् २०७५ मा भारतको ५ सय २५ खर्ब (५२.५ ट्रिलियन) डलरको दोस्रो ठूलो अर्थतन्त्र हुने अनुमान गरिएको छ।