काठमाडौं। नेपालमा विद्युतीय सवारीसाधन (इभी) को लोकप्रियतासँगै आयातकर्ता कम्पनीहरूले विभिन्न सेग्मेन्टका इभी ल्याउन थालेका छन्।
आइसिई इन्जिनका गाडीको तुलनामा महँगो मानिएको इभी सरकारको सहुलियतका कारण नेपालमा लोकप्रिय बन्दै गइरहेको छ।
ग्राहकको रोजाइमा पर्न थालेपछि आयातकर्ता कम्पनीले पनि मल्टिअप्सनका इभी ल्याउन थालेका हुन्। नेपालमा हाल हुन्डाई, किया, बिवाइडी, निशान, टाटा, जिडब्लुएम, एमजी, वुलिङलगायत ब्रान्डका इभी उपलब्ध छन् भने सेरेस, स्काइवेल लगायत ब्रान्ड नेपाली बजार प्रवेश गर्दैछन्।
प्रिमियम र मिड रेन्जका इभीबीच प्रतिस्पर्धा भइरहेको अवस्थामा पछिल्लो समय सानो आकारका इभी बजार ल्याउन पनि आयातकर्ता कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ।
एमजी
एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजीको सानो इभी ‘एमजी कोमेट’ नेपाली बजार ल्याउन लागेको छ। कम्पनीले यो गाडी आइतबार सार्वजनिक गर्न लागेको हो।
पारामाउन्टले दुई भेरिएन्टका कोमेट नेपाली बजार ल्याउन लागेको हो। १७.३ किलोवाट आवरको ब्याट्री रहेको यो गाडीमा ४०.१४ बिएचपी पावरको मोटर जडान गरिएको छ। यसले ४१.४२ बिएचपी उच्च पावर र १ सय १० एनएम टर्क जेनेरेट गर्छ।
यो गाडी फुल चार्ज गर्न ७ घन्टा लाग्छ भने फुलचार्जमा २ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। कोमेटमा ४ सिट र २ ढोका छन्।
त्यस्तै यसमा पावर स्टेरिङ, पावर विन्डो, एबिएस, एयरब्याग, एयर कन्डिसनर, मल्टिफङ्सन स्टेरिङ ह्विललगायत फिचर छन्। कम्पनीले यसको मूल्य सकेसम्म कम राख्ने तयारी गरेको छ।
वुलिङ
वुलिङका लागि नेपालको आधिकारिक वितरक बज्र ग्रुपअन्तर्गतको इभी नेपाल मोटर्सले गत वर्ष मंसिरदेखि यो ब्रान्ड नेपाली बजारमा ल्याएको हो।
हाल नेपाली बजारमा दुई भेरिएन्टका वुलिङ एयर इभी उपलब्ध छ। २ सय र ३ सय किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयरको मूल्य २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटरसम्मको रेन्ज दिन्छ।
रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १ सय रुपैयाँ खर्चमा ३ सय किलोमिटर चलाउन सकिने यो कार चढ्दा खर्च बचत हुने, सर्भिस र पार्ट्स खर्च नहुने कम्पनीको दाबी छ।
सेरेस
सेरेसका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ब्रान्ड नेपाली बजार ल्याउँदै छ। कम्पनीले यस ब्रान्डको सानो गाडी ‘सेरेस ई१’ पनि भित्र्याउन लागेको छ।
दुई भेरिएन्टमा उपलब्ध हुने यो गाडीको बेस भेरिएन्टको मूल्य कम्पनीले १२ लाख ९९ हजार निर्धारण गर्न लागेको छ। आगामी भदौ २६ देखि सुरु हुन लागेको नाडा अटो शोमा सार्वजनिक हुन लागेको यो गाडीलाई हाल कम्पनीले परीक्षण गरिरहेको छ।
चार सिट क्षमताको यो गाडीमा १६.८ किलोवाट ब्याट्री र ३० किलोवाट मोटर जडान गरिएको छ भने फुलचार्जमा यसले २ सय २० किलोमिटर रेन्ज दिने छ।
त्यस्तै १३.८ किलोवाट ब्याट्री क्षमताको ई१ मा २५ किलोवाट मोटर छ भने यसले १ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।