काठमाडौं। सन् १९६२ देखि नारायण महर्जनले नेवारी खाजा घरबाट व्यवसाय सुरु गरे। त्यतिबेला नेवारी खाजा खानेको भीड लाग्थ्यो। बिस्तारै नेवारी खाजा अन्य ठाउँमा पनि सञ्चालनमा आउन थालेपछि नारायणले नयाँ व्यवसाय सुरु गरे।
व्यवसायमा नयाँ सोच ल्याउनुपर्छ भन्ने मान्यताले मम पसल खुल्यो। सम्भवतः त्यो बेलासम्म नेपालमा व्यावसायिकरूपमा मम व्यापार सुरु भएको थिएन। नारायण महर्जन दार्जिलिङ क्षेत्र गइरहने भएकाले सायद उतै देखेर नेपालमा पनि मम पसल खुलेको हुनसक्ने ‘नारायण दाइको मम’ सञ्चालक पुनम मालाकार महर्जन बताउँछिन्।
नारायणले मम बेच्न सुरु गर्दा २ रुपैयाँ प्लेटमा पाइन्थ्यो। अहिले त्यही बफ ममको १ सय ८० रुपैयाँ पर्छ। ममका लागि चाहिने किमासहित प्रायः मसला तयार पार्नेमात्र होइन, नारायणले पकाउने भाँडा पनि आफैं बनाउँथे।
एल्मुनियमका डेक्चीलाई प्वाल पारेर मम पकाउने भाँडा बनाउने नारायणले मम व्यापार सुरु गरेपछि नेवारी खाजालाई छाडिदिए। मम धेरै चल्न थाल्यो। २०३४ सालमा मच्छिन्द्रबहालको मासाङगल्लीबाट सुरु भएको मम व्यापार अहिलेसम्म पनि चलिरहेको छ।
‘त्यो बेला मम खानेको भीड थेग्न कोकाकोलाको बिर्कोलाई कुपनका रूपमा प्रयोग गरिएको थियो। ममका लागि टोकन लिएर एक शो फिल्म हेरेर फर्केपछि बल्ल पालो आउँथ्यो,’ मालाकार भन्छिन्, ‘त्यतिबेलाको भीड अहिले पनि कायमै छ। नारायण दाइको ममको जुनसुकै शाखामा जाँदा पनि मम खान लाग्ने भीड उस्तै छ। कतिपय स्थानमा कुपन प्रणाली अझै कायम छ।’
पहिला बफ मममात्र बिक्री गर्ने नारायण दाइको मम पसलमा अहिले भने चिकेन ब्रेस्ट, चिज भेज ममसहित छोयला, भेज छोयलाको परिकारसमेत थपिएको छ। भेज छोयला अन्य रेस्टुरेन्टमा पाइँदैन।
नारायणले मम व्यवसाय सुरु गर्दा नाम ‘सानदार मम’ राखेका थिए। त्यतिबेला दर्ता गर्ने र ‘फ्रेन्चाइजी’ दिने चलन थिएन। मम व्यापार विस्तारित हुँदै गएपछि धेरै ठाउँमा नारायणको अनुमतिबिनै सानदार ममको बोर्ड राखेर व्यवसाय सुरु गरेको भेटियो। आफ्नै मम पसलको नाममा अरूले मम पसल खोल्दा पनि केही भन्न सक्ने स्थिति थिएन।
‘सानदारका जन्मदाता बुबाले कानुनी झमेला बोक्नुभन्दा ममको ब्रान्ड नै परिवर्तन गर्ने विषयमा परिवारमा छलफल गर्नुभयो,’ मालाकार भन्छिन्, ‘आमाले बुबाकै नाम राख्ने प्रस्ताव गर्नुभयो। त्यसपछि नारायण दाइको मासाङगल्लीको ‘फेमस मम’ भनेर दर्ता भयो र त्यसैअनुसार बोर्ड परिवर्तन भयो। बुबाको योगदानलाई सधैं सम्झिन उहाँकै फोटो राखेर व्यवसाय विस्तार गरिरहेका छौं।’
बुबाको अशंका रूपमा काम गर्दैछौं
पुनम मालाकार महर्जन
सञ्चालक, नारायण दाइको मम
हामी ६ जना दिदिबहिनी छौं। ६ मध्ये तीनजनाले ममकै व्यवसायलाई निरन्तरता दिएका छौं भने तीनजना विदेशमा छन्। तीमध्ये म जेठी हुँ। मैले बसन्तपुर, झोंछे र एयरपोर्टमा मम पसल सञ्चालन गरिरहेकी छु। माहिली बहिनीले आमाको पसलमा सहयोग गर्छिन्। तर, आमाले चलाउनुभएको पसलमा सबैजना बेलाबेला गएर सहयोग गरिरहेका हुन्छौं। काँहिली बहिनीले गौशाला, नख्खु र पुतलीसडकको पसल हेर्दै आएकी छिन्।
बुबाको निधन २०५२ सालमा भयो। त्यसपछि घर हेर्ने सबै जिम्मा हाम्रै थियो किनकि दाजुभाइ थिएनन्। बुबाले देख्नुभएको सपना र डो¥याउनुभएको बाटोलाई निरन्तरता दिने सोचअनुसार मम पसललाई नै विस्तार गरेका हौं। सानैदेखि बुबाले मम र किमा बनाएको देखेकाले पनि त्यही काम अगाडि बढाउन कुनै गाह्रो भएन। हाम्रा सबै ठाउँमा एकै स्वादका मम र अन्य परिकार पाइन्छ। दुईवटा सेन्टर किचन गौशाला र मध्यबानेश्वरमा सञ्चालनमा छन्। त्यहीँबाट सबै शाखामा किमा पठाउने गरिन्छ।
पहिलाकै स्वादलाई निरन्तरता दिन धेरै मिहिनेत गरिरहेका छौं। स्वस्थ्यबद्र्धक (हाइजेनिक) पाइने भएकाले पनि सायद अहिलेसम्म माया गर्नुभएको होला। हाम्रोमा सबैभन्दा मिठो र मनपराउने भनेको मम अचार हो। विदेशमै बसोबास गरिरहेका दिदीबहिनीहरू पनि नेपाल आएर बुबाले सुरु गर्नुभएकै व्यवसायलाई अगाडि बढाउने भनिरहेका छन्।
अहिले पनि बुबाका ग्राहकहरू खोज्दै आउनुहुन्छ। उहाँहरूले मम चाखेपछि मात्र पहिलाकै हो भनेर भन्नुहुन्छ। अब केही नयाँ ठाउँमा पनि शाखा विस्तारको सोच बनाएका छौं। धेरै ठाउँमा बनाउनेभन्दा पनि गुणस्तरीय खुवाउनेमा हाम्रो मिहिनेत रहन्छ। बिहान उठेदेखि बेलुका ११ बजेसम्म खटिन्छौं।