कर्मभूमि कतारमा लामो समयदेखि व्यवसाय गर्दै आएका राजेन्द्रकुमार (आरके) शर्मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हुन्। कतार र नेपालमा लगानी विस्तार गरी सयौंलाई रोजगारी दिएका शर्मा एनआरएनएको ११औं विश्व सम्मेलनबाट चुनिने नयाँ अध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा विभिन्न देशमा भ्रमण गरिरहेका छन्। मध्यपूर्वको प्रतिनिधित्व गर्दै साझा उम्मेदवारका रूपमा अगाडि बढ्ने तयारी गरिरहेका शर्माको कतारमा पिजन इन्जिनियरिङ प्रोजेक्ट कम्पनी छ। सोही कम्पनीले कतारमा सम्पन्न विश्वकप फुटबलको लजिस्टिक, निर्माण र म्यानपावर सर्भिसको जिम्मेवारी पनि लिएको थियो। शर्मा नेपाल आएका बेला क्यापिटल नेपालले उनीसँग गरेकाे ६ सवाल जवाफ :
तपाईं आसन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ, नेतृत्वमा पुग्नुपर्ने कारण के हो?
एनआरएनए गैरआवासीय नेपालीको पवित्र अभियान नेपालीका लागि हामीले योगदान गर्ने भन्ने उद्देश्यसाथ स्थापना भएको हो। यो अभियान अहिलेसम्म आइपुग्दा धेरै मानवीय कार्य र आर्थिकरूपमा केही क्षेत्रमा लगानी गरिरहेको छ। तर, आर्थिक क्रान्तिका लागि जति गर्न सक्ने हो त्यो दिशामा पुग्न सकिरहेका छैनौं। आज केही हजार नेपाली दाजुभाइ व्यवसायी हुँदै गर्दा ती लाखौं नेपाली व्यवसाय वा सामूहिक लगानीमा जोडेर उहाँहरूको पनि आर्थिक अवस्था स्तराेन्नति गर्दै आर्थिक समृद्धिको नारालाई समृद्ध पार्न धेरै नेपालीको अपनत्व गर्न मेरो उम्मेदवारी अध्यक्षमा हो, त्यसैले म नेतृत्वमा जान खोजिरहेको छु।
एनआरएनएमार्फत विदेशमा रहेका नेपालीलाई जोड्ने कुरा त छँदैछ। त्योबाहेक मुलुकको समृद्धिमा एनआरएनए कसरी सारथि हुन सक्छ भन्ने विषयमा तपाईंको अजेन्डा के हाे?
पछिल्लो समय लगभग नेपालका अर्थविद र राजनीतिज्ञले राम्रोसँग बुझ्नुभएको छ कि अहिलेको हाम्रो अर्थतन्त्र भनेको उपभोगवादी नै हो। यसलाई उत्पादनमूलक क्षेत्रमा डाइभर्ट गर्न साना लगानी एकीकृत गरी सामूहिक लगानी गर्नका लागि प्रोत्साहन गर्न सक्नुपर्छ। अहिले झन्डै १३ खर्ब रेमिट्यान्स आउँदै गर्दा त्यसको ७० प्रतिशत रकम उपभोगमा खर्च भइरहेको छ। त्यसबाट १० प्रतिशत रकममात्र सामूहिक लगानी गरेर उत्पादन क्षेत्रमा लगाउन सके मुलुकभित्रै थप रोजगारी सिर्जना गर्न सकिन्छ। १३ खर्बको १० प्रतिशत भनेको १ खर्ब ३० अर्बबराबर हुन सक्छ। जुन रकम नेपालको विकास बजेटको ३० प्रतिशतभन्दा बढी हुन आउँछ। यस्तै स–साना लगानी जोडेर काम गर्न सक्छौं। हामीसँग विश्वका अतिसमृद्ध राष्ट्रमा ज्ञान, सीप र विज्ञता सिकेका साथीहरू हुनुहुन्छ, त्यो विज्ञता र पठाएको रेमिट्यान्सलाई सदुपयोग गरी छिट्टै समृद्ध नेपाल बनाउन सकिन्छ। होइन भने यो टुक्रा–टुक्रा लगानी गरेर सम्भावना नहुने र कतिपयलाई आर्थिक साक्षरताको अनुभवसमेत नभएकाले सामूहिक लगानीमार्फत राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्दै छिट्टै समृद्ध नेपालको सपना पूरा गर्ने भिजन मैले लिएको छु। यिनै विषयमा मेरा स्पष्ट अजेन्डा छन्।
तपाईं अहिले मध्यपूर्वबाट प्रतिनिधित्व गर्दै एनआरएनए अध्यक्षको उम्मेदवार बन्नुभएको छ। कसरी मध्यपूर्वसँग बाँकी संसार र नेपाललाई जोड्नुहुन्छ?
सबैभन्दा पहिला त मध्यपूर्व विश्वकै मध्यभागमा रहेको क्षेत्र हो। र, अहिले योगदानको हिसाबमा मध्यरेखाले जस्तै चाहे रेमिट्यान्समा होस् वा लगानी भित्र्याउने विषयमा मध्यपूर्वको भूमिका उल्लेख्य छ। र, आगामी दिनमा छुट्न लागेका अजेन्डालाई सँगै जोडेर अग्रजहरूले उठाउँदै आएका नागरिकताका निरन्तरताका कुरा सम्बोधन भएसँगै दोस्रो पुस्ताका नेपाली दाजुभाइ दिदीबहिनीलाई कसरी जोड्ने, गोरखाका समस्या कसरी सम्बोधन गर्ने, दोस्रो विश्वयुद्धताका विदेशिनुभएका पूर्वजका सन्ततिलाई कसरी जोड्ने, उहाँहरूलाई नेपालमा लगानी ल्याउनका लागि कसरी सहजीकरण र उत्प्रेरणा जगाउने र विदेशमा अध्ययन गरेर विश्वका विकसित प्रविधिलाई नेपालमा कसरी सदुपयोग गर्ने भन्ने विषयमा एनआरएनएले विशेष अभियान चलाउने योजना बनाएको छु। र, अबको एनआरएनएको आवश्यकता यही नै हो भन्ने लाग्छ।
वर्तमान एनआरएनएको नेतृत्व विवादित बन्यो। एक समूह बाहिरियो भने बनेको समितिमा तीनजना अध्यक्ष बने। जसले एनआरएनएको सन्देश राम्रो नगइरहेको अवस्थामा तपाईं यसलाई कसरी एकीकरण गरेर अगाडि बढ्ने योजना बनाउनुभएको छ?
सबैभन्दा पहिला त गैरआवासीय नेपाली अभियान जुन पवित्र गन्तव्य तिर जानुपर्ने थियो, त्यो स्पिडमा अलि कम भएर नेतृत्वदेखि नेतृत्वसम्म र चुनावदेखि चुनावसम्म भन्ने विषयलाई बढी प्राथमिकता पाएर गएको १०औं महाधिवेशनमा नराम्रो असर देखियो। जुन धेरै दुखद कुरा हो। हामीले अहिले बाहिर रहेकाे अर्को पक्षलाई बारम्बार वार्ता र संवाद गरेर सँगै समेटेर एउटै गैरआवासीय नेपाली संघ हुनुपर्छ भनेर लागिरहेका छौं। हाम्रो अभियान र भिजन एउटै हो, त्यसैले एक हुनुपर्छ भनेर लागिरहेका छौं। कागजीरूपमा एक भइसकेको अवस्थामा अब मनले पनि एकता हुन्छ र पहिलाकै जस्तै एग्रेसिभरूपमा एनआरएनए अभियान चालू हुनेछ। यही विषय लिएर म विभिन्न देश घुमिरहेको छु।
अहिले पनि प्रतिस्पर्धी धेरै छन्। असन्तुष्टि धेरै हुन सक्छन्। उहाँहरूलाई मिलाएर लाने कसरी र तपाईं नै किन भन्ने स्पष्ट पारिदिनुस न!
म समाजसेवा गर्छु भनेर प्रतिस्पर्धी धेरै आउनु खुसीको विषय हो। यो संस्थामा लिन हैन दिन जाने हो। र, यो संस्थाको गरिमालाई राम्रो बनाउनुपर्छ। तर, अन्ततोगाेत्वा अध्यक्ष एउटै हुनुपर्छ। त्यसका लागि सके सर्वसम्मतबाट चयन गर्नुपर्छ र नभए स्वच्छ प्रतिस्पर्धाबाट जानुपर्छ। र, सबैको साझा भन्ने कुरामा म गैरआवासीय नेपाली संघको लामो अभियानपछि पदीय हिसाबमा अहिले भएका प्रतिस्पर्धीमध्येको धेरै अनुभव भएको म नै हुँ र पूर्वअध्यक्षहरूले अध्यक्षका लागि उम्मेदवारी दिनुहुन्न होला भन्ने लाग्छ। अर्को कुरा, हाम्रो क्षेत्र सधै मध्यपूर्वमा लाखौं नेपाली दाजुभाइहरू हुनुहुन्छ। मलेसियालगायत मध्यपूर्व क्षेत्रको समस्यालाई अजेन्डाका रूपमा राख्दै विश्वका अरू अजेन्डालाई समेत समावेश गरी सबैको मन मिलाएर लैजाने नेतृत्व नै हाम्रो हो भन्ने लाग्छ। तसर्थ, मेरो उम्मेदवारी गैरआवासीय नेपाली संघ २०औं वर्ष हुँदै गर्दा सबैभन्दा धेरै योगदान, श्रमिक दाजुभाइहरू रहेको क्षेत्र र सँगै विश्वमा रहेका सम्पूर्ण नेपालीमध्ये मलाई लाग्छ ९८ प्रतिशतभन्दा धेरै पेसा र श्रममै आबद्ध हुनुहुन्छ। २ प्रतिशत मात्र स्वरोजगारमा हुनुहुन्छ होला। त्यसैले त्यो ९८ प्रतिशत नेपाली दाजुभाइ दिदीबहिनीको प्रतिनिधित्व गर्ने अजेन्डा नै मेरो पहिलो अजेन्डा हो। तसर्थ, म अध्यक्षको प्रत्यासीमा तयारी गरिरहेको छु।
विश्वभरि छरिएर रहेका नेपालीलाई तपाईंको अपिल के छ?
हामी बाध्यताले नेपाली भूमि छाडेर विदेशिएका छौं। र, अब अरू दाजुभाइ दिदीबहिनी पनि हाम्रोजस्तै बाध्यताले विदेशिनुपर्ने अवस्था न्यूनीकरण गर्न र समृद्ध नेपाल निर्माणका लागि हामी जुट्नुपर्छ। भावनात्मकरूपमा एकै ठाउँ भएर सामूहिक लगानीमा हामीले पठाएको रेमिट्यान्स र हामीले सिकेका सीप एकबद्ध गरेर अब आउने १० वर्ष राष्ट्र निर्माणमा लागौं। सके हाम्रै पालामा समृद्ध नेपाल निर्माण भएर नेपाल फर्किन्छौं र नभए ग्यारेन्टीका साथ भन्छु यसैगरी हामी एकजुट भएर अगाडि बढे हाम्रा सन्ततिले बाध्यताले देश छाड्नुपर्दैन। तसर्थ, देश छाड्नुपर्ने सबैको साझा पीडा कम गर्न र सबैले चाहेको समृद्ध नेपालको साझा सपना पूरा गर्नका लागि पनि हामी एक हुनुपर्छ। र, हामीले कमाएको ज्ञान, सीप र अर्थलाई नेपालमा सामूहिकरूपमा लगानी गरेर राष्ट्र निर्माणमा लाग्न अपिल गर्न चाहन्छु।