काठमाडौं। बेलायतको लन्डनबाट चाँडै उडान सञ्चालन गर्न लागेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले नेपाल उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
नेपालमा नियमित र चार्टर उडान गर्न के कस्ता विधि र प्रक्रिया छन् भन्नेबारे बुझ्न हिमालय जेटको एक प्रतिनिधिमण्डलले उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसँग अनौपचारिक छलफल गरेको छ।
केही महिनाअघि अन्तर्राष्ट्रिय उडान गर्ने औपचारिक घोषणा गरेको हिमालय जेटले हिजो बिहीबार उड्डयन प्राधिकरण पुगेर उडानसम्बन्धमा छलफल गरेको हो।
‘हिमालय जेटका प्रतिनिधिले नेपालमा नियमित र चार्टर उडान गर्न आवश्यक प्रक्रिया बुझेर गएका छन्,’ उड्डयन प्राधिकरण स्रोतले शुक्रबार क्यापिटल नेपालसँग भन्यो, ‘उनीहरूले सुरुवातमा नेपालका लागि चार्टर उडान गर्ने भनेका छन्। चार्टर सुरु भएको केही अवधिपछि नियमित उडान गर्ने बताएका छन्।’
हिमालय जेट बेलायतको राजधानी लन्डनस्थित हिथ्रो विमानस्थल आधार गरेर आगामी नोभेम्बरबाट सञ्चालनमा आउन लागेको ‘स्टार्टअप’ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो।
उड्डयन प्राधिकरणका अनुसार नेपाल र बेलायतबीच रहेको हवाई सेवा सम्झौताअनुसार सुरुमा बेलायत सरकारले हिमालय जेटलाई ‘डेजिग्नेट’ वायुसेवाका रूपमा तोकेपछि मात्र नेपालका लागि नियमित उडान गर्न पाउँछ।
‘हिमालय जेटले नियमति उडान गर्न अझै कम्तीमा तीन महिनाजति लाग्न सक्छ,’ स्रोतले भन्यो, ‘चार्टर उडान गर्न भने त्यति लामो समय कुर्नुपर्दैन। बेलायत सरकारबाट उसले वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) पाएलगत्तै नेपालका लागि चार्टर उडान गर्न पाउँछ। हाम्रो विचारमा आगामी नोभेम्बरभित्र नेपालका लागि चार्टर उडान गर्नेजस्तो देखियो।’
नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङको लगानीमा चाँडै सञ्चालनमा आउन लागेको हिमालय जेटले टिकट बुकिङ खुला गरेको २४ घन्टा (सेप्टेम्बर ४–५) भित्र ७ हजार ८ सय ५३ प्रि–बुकिङमार्फत १२ हजार ४ सय ४२ यात्रुले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्य जान टिकट बुकिङ गरेका थिए।
ती यात्रुले बेलायतको लन्डनबाट फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, अस्ट्रेलियाको सिड्नी र काठमाडौं जान टिकट बुकिङ गरेको हिमालय जेटले जनाएको छ।
हिमालय जेटले कम्पनीको ‘डिजिटल ट्रान्फर्मेसन’ का लागि भारतीय आइटी कम्पनी इन्फोसिससँग ४ करोड बेलायती पाउन्ड (९६ अर्ब ६४ करोड रुपैयाँ) बराबरको समझदारी गरिसकेको छ।
हिमालय जेटको मूल्यांकन १ अर्ब ६० करोड पाउन्ड (२ खर्ब ६७ अर्ब २० करोड रुपैयाँ) बराबर छ।
गुरुङले लन्डनको हिथ्रो विमानस्थललाई आधार गरेर सन् २०२३ तेस्रो त्रैमासबाट विश्वव्यापी नियमित उडान गर्ने घोषणा केही महिनाअघि गरेका थिए। यसका लागि उनले आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाएका छन्।
लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपाल उडान गर्न लागेको हो।
हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने जानकारी आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ।
हिमालय जेटले यसअघि लन्डनबाट नेपाल एकतर्फी ८३ हजार रुपैयाँमा उडाउने घोषणा पनि गरिसकेको छ। पहिलो चरणमा १८ थान वाइड बडी जहाज उडाउन ५५ क्याप्टेन र ५५ कोपाइलटसहित एक दर्जन उच्च तहका कार्यकारी अधिकृत तथा थप करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न कम्पनीले यसअघि नै दर्खास्त आह्वान गरेको थियो।
कम्पनीले विभिन्न देशका ३० अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर काम गर्न करिब २ हजार ५ सय कर्मचारी भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको थियो। लन्डनमा दर्ता भएको हिमालय जेटको हिथ्रो विमानस्थल टर्मिनल २ मा मुख्यालयमा छ।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्वीजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, युएई, साउदी अरब, अस्ट्रेलियालगायत लामो दुरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने तयारी गरेको छ।
हिमालय जेटले बेलायतलाई आधार गरेर प्रिमियम उडान गर्न लागेको हो। हिमालय जेटले काठमाडौं र भारतका विभिन्न गन्तव्य जाँदा यात्रुले भोग्नुपरेको अत्यासलाग्दो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ। युरोपेली गन्तव्यलाई नेपाल र भारत जोड्ने गरी सञ्चालन गर्न लागिएको हो।
सिधा उडान गर्दा यात्रुको समय र खर्च ३० प्रतिशत जोगिने कम्पनीले जनाएको छ। हिमालय जेटले युरोप, अमेरिका, एसिया र अस्ट्रेलिया गरी चार महादेश जोड्ने छ।
हिमालय जेटले हिमाली क्षेत्र पुग्न चाहने युरोपेली पर्वतारोही र साहसिक पर्यटकलाई सिधा र सुविधायुक्त उडान उपलब्ध गराउनेमात्र नभई, लक्जरी होटल र अन्य सम्बन्धित पर्यटन गतिविधिमा सहभागी गराउने पनि उल्लेख गरेको छ।
गुरुङले २०२५ बाट मन्टेकार्लो, मकाओ र लासभेगासका लागि नियमित व्यावसायिक उडान गर्ने तयारी भए पनि यो वर्षभित्र नेपालका लागि सिधा चार्टर उडानसँगै विश्वका ३३ प्रमुख सहरमा पनि उडान सञ्चालन गरिने जनाएका छन्।
गुरुङ विश्व सुन्दरी प्रतियोगिताका सहआयोजक पनि हुन्। गुरुङले विश्वप्रसिद्ध फिल्म मल्टिप्लेक्स चेन ‘प्राइभा लक्जरी सिनेमाज’ देखि लक्जरी होटलहरू पनि सञ्चालन गर्दै आएका छन्।