काठमाडौं। चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनीको पछिल्लो उत्पादन ‘डल्फिन’ यही साता नेपाली बजारमा आउँदै छ।
बिवाइडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले यही भदौ २६ बाट हुन लागेको नाडा अटो शोमा यो गाडी सार्वजनिक गर्न लागिएको हो।
४५ किलोवाट आवर लिथियम आयोन ब्याट्री रहेको यो गाडीमा ७० किलोवाट मोटर जडान गरिएको छ। यसले ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
साइमेक्ले यसको मूल्य सार्वजनिक गरेको छैन। कम्पनीले यसको मूल्य ४० देखि ४५ लाखसम्म निर्धारण गर्ने अनुमान गरिएको छ।
प्रतिस्पर्धी ब्रान्डहरूलाई मध्यनजर गर्दै कम्पनीले मूल्य निर्धारण गर्न लागेको हो।
यसको मूल्यका कारण यो गाडी मध्यमवर्गीय परिवारका लागि ‘हट केक’ बन्न सक्ने अनुमान गरिएको छ।
डल्फिनको भिडियो बनाइ पोस्ट गर्ने ३ जनालाई १ लाख पुरस्कार
साइमेक्सले नेपालमा सार्वजनिक नहुँदै डल्फिनको मार्केटिङ सुरु गरिसकेको छ। कम्पनीले डल्फिनको भिडियो बनाइ सामाजिक संजालमा राख्नेले एक लाख जित्ने ‘डल्फिन अन रोड’ योजना ल्याएको हो।
जोकोहीले सडकमा गुडिरहेको डल्फिनको भिडियो बनाई फेसबुक, इन्स्गाग्राम वा टिकटकमा राख्न सक्नेछन्। उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी साइमेक्सको आधिकारिक पेजमा ट्याग गर्नेमध्ये ३ जनाले १ लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
भिडियो पोष्ट गर्दा ह्यासट्याग बिवाइडीडल्फिन तथा डल्फिनअनदरोड प्रयोग गर्नुपर्ने छ।
त्यस्तै, उक्त प्रतियोगितामा सहभागी हुने सबैलाई नाडा अटो शोको टिकट दिइने कम्पनीले जनाएको छ।
डल्फिन कुन रुटमा गुड्दै छ भन्ने बिवाइडीको आधिकारिक पेजमा जानकारी दिइने छ।