काठमाडौं। विद्युतीय गाडी (इभी) ‘वुलिङ एयर’ किन्न २० प्रतिशतमात्रै पैसा बुझाए पुग्ने भएको छ।
वुलिङ एयर इभीका लागि नेपालको आधिकारिक वितरक बज्र ग्रुपअन्तर्गतको इभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहनेलाई सुविधा उपलब्ध गराउन नबिल बैंकसँग सहकार्यको घोषणा गरेको छ।
सम्झौताअनुसार वुलिङ एयर इभी किन्न चाहनेलाई नबिल बैंकले गाडीको मूल्यको ८० प्रतिशतभन्दा बढी कर्जा उपलब्ध गराउने छ।
२ सय र ३ सय किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयरको मूल्य २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
वुलिङले इन्डोसियामा एसएआइसी र जिएमसँगको संयुक्त लगानीमा सवारीसाधन उत्पादन गर्दै आएको छ। ‘ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल’ (जिएसइभी) प्लेटफर्ममा वुलिङ एयर इभी बनेको छ।
यही प्लेटफर्ममा होङ गुवाङ मिनी इभी र बाओजुन किवी इभीसमेत बनेको हो। वुलिङ एयर इभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो।
सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटरसम्मको रेन्ज दिन्छ।
रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १ सय रुपैयाँ खर्चमा ३ सय किलोमिटर चलाउन सकिने यो कार चढ्दा खर्च बचत हुने, सर्भिस र पार्ट्स खर्च नहुने कम्पनीको दाबी छ।
कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडेल ‘वुलिङ बिङ्गो फो डोर इभी’ पनि नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर एनके शरदले जानकारी दिए।