काठमाडौं। चिनियाँ तथा नेपाली साझेदारीमा बुढीगण्डकी नदीमा ३ सय ९० मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण हुने भएका छन्।
नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालिले १ सय ३० मेगावाटको बुढीगण्डकी ‘क’ र २ सय ६० मेगावाटको बुढीगण्डकी ‘ख’ आयोजना बनाउन लागेको हो। दुवै अर्धजलशय (पिआरओआर) आयोजना हुन्।
आयोजना बनाउन ८८ अर्ब ३१ करोड रुपैयाँ लाग्ने कम्पनीले गरेको विस्तृत इन्जिनियरिङ अध्ययनले देखाएको छ। १ सय ३० मेगावाटको ‘क’ आयोजना बनाउन ३१ अर्ब ३२ करोड रुपैयाँ र ‘ख’ आयोजना बनाउन ५६ अर्ब ९९ करोड रुपैयाँ खर्च हुने अनुमान छ।
दुवै आयोजनाबाट २०८५ सालदेखि बिजुली उत्पादन थाल्ने योजना विकासकर्ता कम्पनीको छ।
जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले दुवै आयोजना बनाउन विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ। आगामी ३५ दिनपछि नौलो नेपालले दवै आयोजना बनाउन लाइसेन्स पाउने छ।
बुढीगण्डकी ‘क’ आयोजनाबाट वार्षिक सरदर ६४ करोड युनिट बिजुली उत्पादन हुनेछ। ‘क’ आयोजना १.८७ घन्टा पिकिङ हुने अर्धजलाशय आयोजना हो। आयोजनामा पानीको डिजाइन डिस्चार्ज प्रतिसेकेन्ड १ सय ५७ घनमिटर हुनेछ। कूल हेड ९८ मिटमात्र छ।
आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा पर्छ। बुढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि हुने इनटेक हुँदै पानी भूमिगत विद्युतगृहमा लगेर बिजुली उत्पादन हुनेछ। आयोजनामा सुरुङको लम्बाइ साढे तीन किलोमिटर हुनेछ।
भूमिगत विद्युतगृहमा ६५ मेगावाट क्षमताका दुइटा भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइनमा पानी खसालेर त्यसमा जोडिएका दुई जेनेरेटरमार्फत १ सय ३० मेगावाटसम्म बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली ‘ख’ आयोजना हुँदै ३५ किलोमिटर दुरीमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नुवाकोटको रातमाटेमा बनाउने ४ सय केभी सबस्टेसनमा समाहित हुनेछ।
यसैगरी नौलो नेपालले बनाउन लागेको बुढीगण्डकी ‘ख’ आयोजनाबाट वार्षिक १ अर्ब ३८ करोड ९९ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनाको डिजाइन बहाव प्रतिसेकेन्ड १ सय ४६ घनमिटर रहेको छ। कूल हेड २ सय ७ मिटर रहने छ।
आयोजनाको सबै संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा पर्छ। पानी फर्काउन बनाइने बाँधको लम्बाइ २ सय ४२ मिटर हुनेछ। बाँधमाथि नदीमा २.६४ किलोमिटर लामो जलाशय बन्ने छ। जलाशयमा २८ लाख ५० हजार घनमिटर पानी जम्मा हुनेछ।
विद्युतगृहमा ८६.६७ मेगावाटका तीनवटा टर्बाइनबाट भर्टिकल एक्सिस फ्रान्सिस टर्बाइनमा पानी खसालेर त्यससँग जोडिएको जेनेरेटरबाट २ सय ६० मेगावाट बिजुली उत्पादन हुनेछ। दवै आयोजनाको बिजुली ३५ किलोमिटर टाढा रहेको नुवाकोटको रामाटे सबस्टेसनमा समाहित हुनछ।
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा प्रतियुनिट ४.८० र सुक्खायाममा पिकिङका आधारमा प्रतियुनिट ८.४० देखि १०.५५ रुपैयाँ विद्युत खरिद दर तोकेको छ। पिपिए सहमतिको अन्तिम चरणमा छ।
दुवै आयोजनाको लाइसेन्स भारतको पटेल इन्जिनियरिङसँग थियो। पटेल वित्तीय संकटमा परेपछि यो आयोजना अफ्रिकी महादेशमा रहेको टापु मुलुक केम्यानमा दर्ता भएको एभरेस्ट पावरलाई बिक्री गरेर बाहिरिएको थियो।
चिनियाँहरुले केम्यान आइल्याण्डबाट लगानी ल्याउने जानकारी दिएका छन्। आयोजनाका नेपाली लगानीकर्ता गोरख थापा हुन्। ९० प्रतिशत स्वामित्व चिनियाँ लगानीकर्ताको छ।
आयोजना गोरखाको आरुघाट र धार्चे गाउँपालिकामा पर्छ।