काठमाडौं। डा. हरिहरदेव पन्तको आठौं स्मृति दिवसका अवसरमा ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक विमोचन गरिएको छ ।
बिहीबार आयोजना गरिएको आठौं स्मृति दिवस कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापा, नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण पन्त, निर्धन संस्थाका संचालक प्राडा. फत्तबहादुर केसी.ले उत्कृष्ट लघुउद्यमीहरूको व्यावसायिक सफलताको संगालो ‘समृद्धिको मार्गमा–२०८०’ पुस्तक विमोचन गरे।
निर्धन संस्थाका सञ्चालक प्राडा केसीले वास्तवमै डा. पन्त आर्थिक दुरदर्शी भएकोले गरिबी निवारणमा मार्गदर्शन गरेकाले यहाँसम्म आइपुगेको र सबै मिलेर वर्तमान चुनौतीहरू समाधान गरेर गलत क्रियाकलापलाई निरूत्साहित गर्न सकेमात्रै डा.पन्तप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
लघुवित्त संघ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले डा. पन्तले माइक्रोफाइनान्स क्षेत्रमा पु¥याएको योगदानलाई सधै सम्झनुपर्ने र पन्तले देखाएको बाटोमा हिँड्न आंफू सधैँ तयार रहेको बताए।
सेजनका अध्यक्ष सुजन ओलीले लघुवित्त सेवाप्रति डा. पन्तको लगाव लोभलाग्दो भएको र लघुवित्तका मार्गदर्शक र पिताका रूपमा परिचित भएको बताए। ।
कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डा. हरिहरदेव पन्त फाउन्डेसनका अध्यक्ष जनार्दनदेव पन्तले कार्यक्रममा उपस्थित सबैलाई स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हरिकृष्ण पन्तले कार्यक्रमको अध्यक्षता तथा समापन गरेका थिए।
त्यस्तै डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्ष पत्रकार यज्ञ बञ्जाडेलाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कारस्वरूप नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।