काठमाडौं। कमाइ चित्त बुझ्दो थियो। जिम्मेवारी पनि महत्वपूर्ण थियो। नाम, इज्जत प्रतिष्ठा पनि कमाएकै थिए। तर, सिप्रदी ट्रेडिङमा काम गरेको आठ वर्षपछि कैलाशबाबु गेलालले एउटा ‘बोल्ड डिसिजन’ गरे– ‘अब जागिर नखाने, आफ्नै काम गर्ने।’
कैलाशले यो निर्णय गर्दा उनलाई जागिर नछाड्न सुझाव दिने पनि टन्नै थिए। व्यापारको तनाव, घाटाको सम्भावनाबारे धेरैले सुझाए।
तर, कैलाश निर्णयमा अडिग रहे। र, सन् २०१७ बाट काठमाडौं रवि भवनमा मोटरसाइकल शोरुम सुरु गरे।
‘जागिर खराब त होइन, तर म जागिरमा मात्रै सन्तुष्ट हुन सकिन। त्यसकारण व्यवसाय गर्ने सोच बनाएको थिएँ,’ कैलाशले क्यापिटल नेपालसँग भने।
त्यसबेलाको आँटले कैलाशलाई अहिले सफल युवा व्यवसायी बनाएको छ। अहिले उनले भक्तपुर र नक्सालमा रेनो डिलर, इटहरीमा निसान, किया र इसुजु डिलर चलाइरहेका छन्।
उनी यतिमै सीमित छैनन्। आजदेखि उनी गाडी डिलरमात्र नभई ‘स्काइवेल’ का विद्युतीय सवारीसाधन (इभी) को आयातकर्ता पनि बनेका छन्। ५० भन्दा बढीलाई रोजगारी पनि दिएका छन्।
अहिले कैलाशको सफलता लोभलाग्दो देखिए पनि उनले यो सफलता सजिलै हात पारेका भने होइनन्।
सिप्रदीमा ‘जुनियर सेल्स अफिसर’ देखि ‘सिनियर म्यानेजर’ हुँदासम्म धेरै गाडी बेच्ने टिममा रहेर त कहिले ‘टिम लिड’ गरेर प्रशंसा बटुलेका कैलाश आफ्नो पहिलो व्यवसायमा असफल भए। मोटरसाइकल शोरुम राखेको ७/८ महिना लगातार घाटा बेहोरेपछि उनले त्यो शोरुम छाड्ने निर्णयमा पुगे।
‘मोटरसाइकलको असफलताले मलाई एउटा कुराको ज्ञान दियो। मेरो ज्ञान चारपांग्रेमा हो भनेर दुईपांग्रेको काम छाडे,’ उनले भने।
२०१८ उनले लगानी बढाएर भक्तपुर र इटहरीमा फोर्स गाडीको डिलर राखे, दुर्भाग्यवस त्यसमा पनि असफल भए। सफलता चुम्न व्यवसायमा होमिएका कैलाशलाई यी दुई व्यवसायमा असफलताले पिछा छाडेन।
एकपछि अर्को असफलताको अवरोध झेलेका उनी पछि हट्नेवाला थिएनन्।
२०१८ ताका नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले भक्तपुरका लागि डिलर खोजिरहेको रहेछ। उनले त्यो डिलर लिने निर्णय गरे।
उनको प्यासेन्जर भेइकलप्रति अनुभव र ज्ञानका कारण ‘इम्पोर्टर’ ले पनि कैलाशलाई पत्यायो र डिलरसिप दियो।
‘त्यसपछि भने मैले कहिल्यै पछि फर्केर हेर्नुपरेन। पछि २०१९ मा रेनोको नक्साल डिलर पनि लिएन्। साढे २ वर्षमा मैले रेनोकाा करिब ६ सय गाडी बेचेँ,’ उनी भन्छन्।
२०१९ मै उनले इटहरीमा निशान र डाट्सनको पनि डिलर लिए। इटहरीमा उनले राम्रो व्यापार गरे। त्यहाँ एक वर्षमा ७५ गाडी बेच्न सफल भए।
त्यस्तै २०२१ मा उनले इटहरीमै किया र इसुजुको पनि डिलर लिए। यसमा पनि उनले सफलता पाए।
२०१७ मा जागिर छाड्दाको उद्देश्य त उनको पूरा भइसकेको थियो, तर डिलरमा मात्र सीमित हुँदा उनले आफूलाई बाँधिएको अनुभव गरे।
‘कतिपय काम म आफ्नै तरिकाले गर्न चाहन्थेँ, तर डिलरका रूपमा काम गर्दा म सीमित घेरामा बाँधिनुपरेको थियो,’ उनी भन्छन्, ‘सानो–सानो कुरा गर्न पनि इम्पोर्टरको अनुमति लिनुपर्ने भएकाले आफैं इम्पोर्टरको काम गर्ने सोच बनाएँ।’
त्यसपछि उनी राम्रो गाडी निर्माता कम्पनी खोज्न थाले। त्यही क्रममा उनले स्काइवेल कम्पनीबारे बुझे।
‘हामीले धेरै रिसर्च गर्याैं। न्यु इनर्जी भेइकलमा स्काइवेलले राम्रो प्रगति गरिरहेको रहेछ। यो ब्रान्ड ४८ देशमा रहेछ,’ कैलाश भन्छन्, ‘हामीले उनीहरूलाई यो गाडी नेपाल ल्याउन प्रस्ताव गर्याैं र योजना सफल पनि भयो।’
स्काइवेलको नेपालका लागि आधिकारिक वितरक बनेको जी मोटर्सले यसको भक्तपुर राधेराधेमा शोरुम तयार पारिसकेको छ भने नक्साल र इटहरीमा पनि शोरुम तयार गर्दैछ।
त्यस्तै कम्पनीले नारायणगढ, विराटनगर र ललितपुरमा पनि डिलर दिइसकेको छ। कोच बस, सिटी बस, लजिस्टिक भ्यान र प्यासेन्जर गाडी उत्पादन गर्ने स्काइवेललाई केही समयमै नेपालको कुनाकाप्चा पुर्याउने उनको लक्ष्य छ।
सुरुवाती असफलतापछि सफलता चुमेका कैलाश भाग्यभन्दा कर्ममा विश्वास गर्छन्।
‘भाग्यले पनि त्यसैलाई पछ्याउँछ जसले इमान्दार भएर कर्म गर्छ,’ उनी भन्छन्, ‘म हिजो पनि कर्म गर्थें, आज पनि कर्म नै गरिरहेको छु र भोलि पनि कर्म नै गर्ने हो। अरू मेरो केही महत्वाकांक्षा छैन।’