काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा नीतिगत, प्रक्रियागत र प्रणालीगत सुधार ल्याउन सरकार गम्भीर भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन्। सांसद सुवालले सेयरको मूल्य घटेर अधिकांश नागरिकको लगानी डुबेको र आत्महत्या गर्ने स्थितिमा पुगेको भन्दै मन्त्री महतलाई प्रश्न सोधेका थिए।
‘सेयर बजारमा सबैखाले नागरिकले आफ्नो हैसियतअनुसार, पुँजीको मात्राअनुसार त्यस आधारमा लगानी गर्न सबैलाई कानुनले छुट दिएको छ,’ जवाफमा अर्थमन्त्री महतले भने, ‘त्यसो हुनाले इन्जिनियर, शिक्षक वा अन्य जुनसुकै पेसा व्यवसायमा भएका नागरिकले सेयर बजारमा लगानी गर्न सक्छन्।’
उनले कानुनले सेयर बजारमा कसैलाई पनि भेदभाव नगरेको बताए।
‘कसैले पूर्णकालीन अर्थात त्यसैमा व्यवसाय नै गरेर लगानी गर्छन्। कतिपयले आफूले खर्च गरेर बाँकी रहेको पुँजीले केही आम्दानी हुन्छ भन्ने आशयले पनि लगानी गर्छन्,’ अर्थमन्त्री महतले भने, ‘त्यसकारण हामीले यस्तो लगानीलाई अनुचित मान्नु हुँदैन। त्यही कारण सेयर कारोबार घट्यो, सेयर मूल्य घट्यो या आत्महत्या गर्ने अवस्थासम्म पुग्यो भन्ने अर्थमा हामी पुग्नुहुँदैन भन्ने मलाई लागेको छ।’
उनले सेयर कारोबारमा कोही पनि अनुचित ढंगले नठगिउन् र कोही व्यक्तिले सेयर बजारलाई म्यानुपुलेट गर्न नपाउन, सूचना लिक गरेर त्यसबाट प्रभावित गर्न नपाउन भनेर हामीले यथेष्ट निगरानी गरिरहेको बताए।
अहिले सेयर कारोबारमा मूल्य गिर्नुका अन्य विविधि कारण भएको उनको भनाइ छ। कारोबारमा राखिएका सर्तहरूले पनि सेयरबजारमा संकुचन आएको महतले बताए।
‘यो स्थितिलाई सहज बनाउन सरकारका तर्फबाट र राष्ट्र बैंकको नियमनबाट परेको असरका विषयमा पनि हामीले आवश्यक संवाद गरिरहेका छौं,’ महतले भने, ‘हामी पनि सेयर कारोबारले सकरात्मक रूप लियोस् भन्ने नै चाहन्छौं। लगानीकर्ताको लगानी डुब्न नपाओस् भन्ने विषयमा सरकार गम्भीर छ।’