काठमाडौं। नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि रणनीतिक साझेदारीमा सहमति भएको छ।
नेपाल र भारतबीच गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यसाथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट व्यापारमा नयाँ अध्याय सुरु गरेका हुन्।
नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको साझेदारीले सिजीको यस क्षेत्रको उन्नति र प्रगतिप्रतिको अटल समर्पणलाई दर्शाउँछ।
यस अवसरमा सिजीका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन्।
‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रियरूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्ध अझ बढी सुदृढ पार्न चाहन्छौं,’ प्रबन्ध निर्देशक चौधरीले भने।
नेपालमा भएको यस सहमतिले सिजी र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोण दर्शाउँदै दुवै व्यापारिक समूह सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन्।
साझा मूल्य, मान्यता र आकांक्षा प्रतिविम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहँदै थप आर्थिक सम्बन्धमा बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएका छन्।
प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यावसायिक सहकार्य गर्ने अवसरका लागि धन्यवाद व्यक्त गरे। उनले अडानी ग्रुप अध्यक्ष गौतम अडानीलाई यस रणनीतिक साझेदारी सफल बनाउन नेतृत्व दिई भूमिका खलेकोमा र अटल समर्थनका लागि आभार व्यक्त गरे।
हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा भएको गम्भीर दुर्घटनाका बेला अडानीले गरेको सहयोगले उनको जीवनमा ठूलो महत्व राखेको कुरा पनि स्मरण गरेका छन्।
अडानी ग्रुपको सिमेन्ट व्यवसायसँग साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणका रूपमा रहने विश्वास दुवै पक्षको छ।