काठमाडौं। जी मोटर्स प्रालिले नयाँ ब्रान्डको विद्युतीय गाडी नेपाल भित्राएको छ। कम्पनीले चिनियाँ विद्युतीय ब्रान्ड ‘स्काइवेल’ नेपाल भित्र्याएको हो।
विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई पूरा गर्न प्रिमियम ब्रान्डको विद्युतीय एसयुभी ल्याइएको कम्पनीले जनाएको छ।
स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ४८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।
कम्पनीले पहिलो चरणमा उच्च प्रविधियुक्त र नेपालमा उपलब्धमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयुभी इटी–५ भित्र्याएको हो। स्काइवेल इटी –५ ले एकपटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
स्काइवेल इटी छ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै यो एसयुभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।
स्काइवेल इटी–५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर इभी प्ल्याटफर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयुभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ। यसको टप स्पिड १ सय ६० प्रतिघन्टाभन्दा बढी छ।
यसमा प्यानारोमिक सनरुफ पनि रहेको छ। जी मोटर्सले यसको मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरेको छ।
२०७४ मा स्थापना भएको जी मोटर्सले यसअघि नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको थियो।
जी मोटर्सले काठमाडौं र इटहरीमा ८ भन्दा बढी शोरुमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।
पछिल्लो समय विद्युतीय सवारीप्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी इभीमार्फत स्काइवेल ब्रान्ड ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए।
बुकिङ खुला भइसकेकाे याे गाडी नाडा अटाे शाेमा देख्न पाइनेछ।