काठमाडौं। व्यावसायिक घरना काब्रा जी ग्रुपले सञ्चालन गरिरहेको क्वालिटी आयल रिफाइनरी प्रालिको खानेतेल व्यापार १ सय ३२ प्रतिशत बढेको छ।
२०२२ मा उद्योगले ६ अर्ब ५० करोड ८० लाख रुपैयाँको खानेतेल व्यापार गरेको छ। २०२१ मा उद्योगको खानेतेल व्यापार २ अर्ब ८० करोड ९० लाख रुपैयाँमात्र थियो।
एक वर्ष अवधिमा क्वालिटीको खानेतेल व्यापार ३ अर्ब ७० करोड रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। २०२० मा उद्योगले १ अर्ब ८४ करोड ८७ लाख रुपैयाँको मात्र तेल व्यापार गरेको थियो।
उद्योगले प्रशोधित सूर्यमुखी, पामोलिन, सोयाबिन र फ्याटी एसिड तेल छिमेकी भारतमा निर्यात गरेर आम्दानी गर्दै आएको छ। भारतमा खानेतेलको माग बढेर निर्यातमा सुधार हुँदा २०२२ मा क्वालिटीको आम्दानीमा उछाल आएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। कूल आम्दानीको ७३ प्रतिशत हिस्सा भारत निकासीको रहेको छ।
भारतले भटमास, पाम र सूर्यमुखीलगायतका कच्चा वस्तु आयातमा भन्सारदर घटाएपछि यसको असर नेपाली उद्योगलाई परेको छ। जसले गर्दा उद्योगले २०२३ को ११ महिनामा ४ अर्ब ८१ करोड ६० लाख रुपैयाँमात्र आम्दानी गरेको छ।
उद्योगले स्वदेशमा मात्रै ११ महिनामा २ अर्ब २८ करोड ४० लाख रुपैयाँको तेल व्यापार गरेको छ। २०२२ को यसै अवधिमा क्वालिटीले १ अर्ब ७२ करोड ४० लाख रुपैयाँको मात्र खानेतेल व्यापार गरेको जनाएको छ।
भारत सरकारले तेलको भाउ सस्तो बनाउन कच्चा वस्तुको भन्सारदर घटाएको हो। यसले उद्योगको व्यापारमा असर पारेको छ।
२०२३ मा भारतमा खानेतेल निर्यात ६८ प्रतिशत घटेको निकासी तथा व्यापार प्रवर्द्ध केन्द्रको तथ्यांकले देखाएको छ। उद्योगले तेल उत्पादन गर्न चाहिने पाम, भटमास, सूर्यमुखीलगायत कच्चा वस्तु अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, मलेशियाबाट आयात गर्दै आएको छ।
कूल सञ्चालन आम्दानीमा कच्चा वस्तु आयातमा ९२ प्रतिशत खर्च हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा वस्तुको मूल्यवृद्धि र अमेरिकी डलरको मुल्यमा हुने उतारचढावले उद्योगको नाफामा असर गर्दै आएको छ।
डलर भाउमा आएको उतारचढावले २०२२ मा मात्रै उद्योगले ३ करोड २० लाख रुपैयाँ नोक्सान व्योहरेको थियो। धेरै संगठित र असंगठित खेलाडी उपस्थितिका कारण खाद्य तेल आयात र प्रशोधन अत्यधिक खण्डित छ।
उद्योगले २ अर्ब ७५ करोड रुपैयाँ ऋण रेटिङ गराएको छ।
क्वालिटी रिफाइनरी सन् २००४ को मार्चमा स्थापना भएको हो। उद्योगले प्रशोधन गरेर खानेतेल उत्पादन गर्दै आएको छ। वनस्पति घिउ, परिष्कृत वनस्पति तेल जस्तै सोयाबिन, सूर्यमुखी, पामोलिन, पाम, रेपसीड, ग्राउन्ड नट र मकैबाट ग्राहकको आवश्यकता पूरा गर्दै आएको छ।
उद्योगको प्रशोधित तेल उत्पादन क्षमता दैनिक ३ सय २० टन छ। कम्पनी प्रबन्ध निर्देशकमा घनश्याम काबरा छन्।
उनको खाद्य प्रशोधन र व्यापारमा दुई दशकको अनुभव छ। उद्योग सञ्चालन विपिन काबरले हेर्दै आएका छन्। उनी क्वालिटीका निर्देशक हुन्।
उद्योग नेपाल–भारत सीमा नजिक मोरङमा छ।