काठमाडौं। ‘नाडा अटो शो’ को १५औं संस्करण सुरु हुन अब एक साता बाँकी छ। १ सय २० स्टल रहने अटो शो भदौ २६ बाट ३१ सम्म सञ्चालन हुनेछ।
अटोमोबाइल क्षेत्रका लागि ‘कुम्भ मेला’ का रूपमा परिचित नाडा अटो शोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठम्याइ छ।
सँगसँगै ठूला चाडपर्वका पूर्वसन्ध्यामा आयोजना हुन गइरहेको शोले अटो व्यवसायी, ग्राहक, गाडीपारखी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष संलग्नलाई उत्साहपूर्वक सहभागी गराउने आयोजकको विश्वास छ।
यो अटो शो अघिल्ला शोभन्दा पृथक हुने आयोजकको भनाइ छ। केही वर्ष अघिसम्म विद्युतीय गाडी (इभी) ल्याउने ब्रान्डका स्टलमा अवलोकनकर्ताको भीड लाग्ने गरेकोमा यो वर्ष अधिकांश ब्रान्डले इभी प्रर्दशनीमा राख्ने भएका छन्।
यसपालि कतिपयले नयाँ इभी र नयाँ नहुनेले पुराना मोडेलको भने पनि राख्ने योजना बनाएका छन्।
यसपटक निशान, टाटा, हुन्डाई, सेरेस, जिडब्लुएम, सिट्रोन, निटाभी, बिवाइडी, एमजी, जि इभी र उलिङले इभी प्रर्दशनीमा राख्नेछन्।
स्टल दर्ता गराएका १६ मध्ये ११ ब्रान्डले इभी गाडी प्रदर्शनीमा राख्न लागेका हुन्। यो अटो शोमा केही नयाँ ब्रान्ड र मोडेल पनि देख्न पाइने छ। योपटक सेरेसले ‘सेरेस–३’ र ‘ई १’ इभी ल्याउँदै छ भने जि मोटर्सले पनि नयाँ ब्रान्ड भित्र्याउने तयारी गरिरहेको छ।
त्यस्तै बिवाइडीको ‘एटो ३’, नयाँ मोडेल ‘डल्फिन’ पनि अटो शोमा देख्न पाइने छ। बिवाइडीले नेपालमा हालसम्म सार्वजनिक नभएको नयाँ मोडेल ‘सिल’ पनि प्रदर्शनीमा राख्ने भएको छ।
यसैगरी जिएमडब्लुको ‘ओरा ०३’, सिट्रोनको ‘इसि ३’, एमजीको ‘एम ४’ र उलिङको ‘एलबि १’ र ‘एलबी २’ अवलोकनकर्ताका लागि नयाँ स्वाद बन्नेछन्।
त्यसैगरी पछिल्लो समय अटोमोबाइल बजारमा आक्रामक उपस्थिति देखाइरहेको सिजी मोटर्सले ‘निटा भी’, ‘केवाइसी’ र ‘किङ लङ’ गाडी राख्ने भएको छ।
टाटा, निशान, हुन्डाईले पुरानै मोडेलको भए पनि इभी राख्नेछन् भने सुजुकी, महिन्द्रा, किया, फोर्डका इभी देख्न पाइने छैन।
भन्सार तथ्यांकमा छैन रौनक
नाडा अटो शोमा इभीको रजगज हुने वातावरण देखिए पनि इभी आयात भने निराशाजनक छ। गत आर्थिक वर्ष २०७९/८० साउनमा २ सय ११ थान इभी आयात भएको थियो भने चालू आव साउनमा १ सय १० थानमात्र आयात भएको छ।
अटो शोका लागि भदौमा पनि धेरै गाडी आउने भएकाले साउनको तथ्यांकमा कम आयात देखिएको नाडा अटो शोका सभापति अनुपकुमार बरालले बताए।
‘यो वर्ष नाडा अटो शोमा इभीको रौनक राम्रो हुन्छ। सवारीसाधन आयातकर्ता कम्पनीले धेरै अप्सनका इभी देखाउन सक्ने अवस्थामा पुगेका छन्,’ बरालले भने, ‘त्यस्तै आइसिई इन्जिनका गाडीमा पनि धेरै भेराइटी देख्न पाइन्छ।’