काठमाडौं। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा बैंकबाट कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गर्नु सुझाव दिइएको छ। बैंकमा रेमिट्यान्स खाता खोली मौज्दात निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिएर दोस्रो बजारमा कारोबार गराउनुपर्ने सुझाव गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गठित समितिको अध्ययन प्रतिवेदनले दिएको हो।
अध्ययन समितिको प्रतिवेदनले नेपाल राष्ट्र बैंकको तर्फबाट एनआरएनलाई धितोपत्रको दोस्रो बजारमा लगानी गर्न सहजीकरणका उपायमा ४ वटा बुँदा उल्लेख गरेको छ। जसमा बैंक कर्जामार्फत लगानीको व्यवस्था गर्नुपर्ने विषय औंल्याइएको छ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा ‘एनआरएनलाई सेयर बजारमा सूचीकृत भएका जलविद्युत तथा अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानीको बाटो खुला गर्ने तथा गैर आवासीय नेपालीको पुँजी, प्रविधि र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने’ घोषणा गरेको छ। जसको कार्यन्यवनका लागि नेपाल धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिले प्रतिवेदन तयार पारिसकेको छ। समितिको प्रतिवेदनले एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउन नीतिगत सुझाव दिएको छ।
गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्न सहजीकरण गरिदिन राष्ट्र बैंकले कस्टोडियन मेम्बर बैंक अर्थात संरक्षक सदस्य बैंकको व्यवस्था गर्नुपर्ने उल्लेख छ। गैर आवासीय नेपालीले धितोपत्रमा लगानी गर्ने प्रयोजनका लागि तोकिएको संरक्षक सदस्य बैंकमा गैर आवासीय नेपालीले अलग्गै बैंक खाता खोल्ने सक्ने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्ने अध्ययन प्रतिवेदनले औंल्याएको छ।
छुट्टै निर्देशन जारी गरेर ९० प्रतिशतसम्म कर्जा
राष्ट्र बैंकले गैर आवासीय नेपालीले धितोपत्र बजारमा गर्ने लगानी र रकम फिर्ता लैजाने सम्बन्धमा स्पष्ट र सहज हुने गरी छुट्टै निर्देशन÷नियमन, कार्यविधि जारी गर्नुपर्ने सुझाव अध्ययन प्रतिवेदनले दिएको छ।
अध्ययन प्रतिवेदनअनुसार एनआरएनले संरक्षक सदस्य बैंकमा विदेशी मुद्रा खाता खोल्ने र रेमिटयान्समार्फत विदेशी मुद्रा जम्मा गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्ने छ। सदस्य बैंकले गैर आवासीय नेपालीलाई उक्त विदेशी मुद्रा खातामा रहने कूल मौज्दातलाई सुरक्षणका रूपमा राखी त्यसको प्रचलित विनियमयदरले हुने रकमको बढीमा ९० प्रतिशतसम्म नेपाली मुद्रामा ऋण दिन सक्ने र गैर आवासीय नेपालीले नेपाली मुद्रामा लिएको कर्जा रकमबाट धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्ने छन्।
सदस्य बैंकबाट लिएको कर्जाको राफसाफ गरेपश्चात् रेमिट्यान्समार्फत ल्याएको जति रकम वा विदेशी मुद्रा खातामा जम्मा रहेको मौज्दात चाहेको बखतमा विप्रेषण गर्न सक्ने गरी आवश्यक व्यवस्था तोकिदिन सक्ने छ। यसबाट गैर आवसीय नेपालीलाई नेपाली धितोपत्र बजारमा लगानीका लागि आकर्षित गर्न सकिने र त्यसका माध्यमबाट विदेशी मुद्रा नेपाल भित्र्याउन तथा धितोपत्र बजारमार्फत पुँजी निर्माण तथा परिचालन गर्न सहज भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक योगदान पुग्न सक्ने देखिन्छ।
लगानीको सीमा, क्षेत्र र लाभ फिर्ताको व्यवस्था
चालू आवको बजेटले एनआरएनलाई सूचीकृत जलविद्युत तथा अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानीको बाटो खुला गर्ने भने पनि विस्तारै अन्य क्षेत्रका कम्पनीमा पनि क्रमशः लगानी खुलाउन सुझाव दिइएको छ।
एनआरएनले नेपालको धितोपत्र बजारमा लगानी गर्ने रकमको अधिकतम् सीमा तत्काललाई निर्धारण गर्न नहुने अध्ययन समितिको निष्कर्ष छ। यद्यपि, एनआरएनले धितोपत्र बजारमा लगानी गर्ने रकमको सीमा सम्बन्धमा सरकारसँगको समन्वयमा नियामक निकायलाई समय–समयमा तोक्ने अख्तियारी दिनुपर्ने उल्लेख छ।
रकम फिर्ता लैजाने सम्बन्धमा अध्ययन समितिको प्रतिवेदनले वार्षिक १० लाख रुपैयाँकको सीमा तोक्नुपर्ने उल्लेख गरेको छ। दोस्रो बजारमा लगानीबाट आर्जित नाफा तथा लाभांशको विप्रेषणको हकमा नियामक निकायले तोकेबमोजिम सम्बन्धित निकायको स्वीकृति लिएर वार्षिक १० लाख रुपैयाँसम्म फिर्ता लैजान सकिने व्यवस्था गर्नु उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ। तर, एनआरएनले धितोपत्रको दोस्रो बजारको उपकरणमा गरेको सुरुको लगानी रकम फिर्ता लैजान चाहेमा सीमा नलाग्ने व्यवस्था उपयुक्त हुने उल्लेख छ।
पूँजी लगानी कोषमार्फत धितोपत्र सम्बन्धी कारोबार गर्न सकिने व्यवस्था रहेकोमा स्पष्ट रुपमा गैरआवासीय नेपालीले व्यक्तिगत रुपमासमेत धितोपत्र सम्बन्धी दोस्रो बजारमा कारोबार गर्नसक्ने व्यवस्था राख्नु उपयुक्त हुने। गैर आवासीय नेपालीलाई विदेशी लगानीकर्ता भन्दा फरक रुपमा व्यवस्था गरी धितोपत्रको दोस्रो बजारमा लगानीका लागि स्वीकृती लिनुपर्ने व्यवस्था हटाई नियमनकारी निकायबाट जारी नियमावली बमोजिम लगानी गर्न सकिने व्यवस्था गर्न उपयुक्त हुने प्रतिवेदनले उल्लेख गरेको छ।
नेपालको संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक अधिकार प्रयोग गर्न सक्ने गरी नागरिकता दिने व्यवस्था गरेको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको अन्य प्रावधानमासमेत विदेशी लगानीकर्ता र गैर आवासीय नेपाली लगानीकर्तालाई छुट्याइ अलग्गै व्यवस्थाबाट गैर आवासीय नेपालीले धितोपत्र बजारमा लगानी गर्न सहज हुने कानुनमा संशोधन एवं परिमार्जन गर्नु उपयुक्त हुने अध्ययन समितिको प्रतिवेदनको निश्कर्ष छ।
धितोपत्र बोर्डबाट हुनु पर्ने व्यवस्था
१. गैर आवासीय नेपालीले डिम्याट खाता खोल्ने प्रक्रियामा डिजिटल माध्यमबाटसमेत खोल्न सकिने व्यवस्था लागू गर्ने र यसका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावलीमा देहाय अनुसारको प्रावधान थप संशोधन गनुपर्ने।
–निक्षेप सदस्यहरुले गैर आवासीय नेपालीहरुको डिम्याट खाता खोल्दा सरकारले जारी गरेको गैर आवासीय परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट ग्राहक पहिचान गरी खाता खोल्न तथा खाता अद्यावधिक गर्न सक्ने व्यवस्था गर्नुपर्ने।
२. गैर आवासीय नेपालीलाई धितोपत्र दलालकोमा ट्रेडिङ्ग खाता खोल्न, ग्राहक पहिचान (केवाइसी) लाई सरलीकरण गरी प्रविधि प्रयोग गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ देहाय अनुसारको प्रावधान थप गनुपर्ने।
–धितोपत्र दलालले गैर आवासीय नेपालीको कारोबार गर्नु अघि ग्राहकको ट्रेडिङ्ग खाता खोल्दा तथा ग्राहक पहिचान विवरण राख्दा गैर आवासी नेपालीको परिचयपत्रका आधारमा विद्युतीय माध्यमबाट गर्न सक्नेछ। त्यस्तो विवरण तोकिएको समय अन्तरालमा विद्युतीय माध्यमबाट अद्यावधिक गर्ने सम्पूर्ण जिम्मा धितोपत्र दलालले गर्ने।
३. धितोपत्र दलालले सेवा प्रदान गर्दा अपनाउनुपर्ने उपाय र सेवालाई सरलीकरण गर्ने देहाय अनुसारको व्यवस्था गर्नुपर्ने।
–धितोपत्रको दोस्रो बजारमा गरिने कारोबारका लागी खोलिएको बैंक खाता, डिम्याट खाता र धितोपत्र दलालसँग खोलेको खाता एक आपसमा आवद्ध हुनु पर्ने।
–गैर आवासीय नेपालीले कारोबार गरेको धितोपत्रको राफसाफ तथा फछ्यौट गरी प्रचलित कर एवं शुल्क कमिशनहरु भुक्तान गरी ग्राहकको बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा गरिदिने।
–गैर आवासीय नेपालीले खरिद गर्न सक्ने लगानी गर्न पाउने धितोपत्र, क्षेत्र, संख्या, लगानीको सीमा रकम, अवधि तथा रकम फिर्ता लाने प्रकृया, सूचिकृत संगठित संस्थाको वार्षिक साधारण सभामा मतदान गर्ने तथा सञ्चालक समितिमा भाग लिने सम्बन्धी व्यवस्था, सम्पत्ति हस्तान्तरण र अपुतालीसम्बन्धी व्यवस्थाका लागि बोर्डले अलग्गै नियमावली तर्जुमा गर्नुपर्ने।
५. गैर आवासीय नेपालीका लागि धितोपत्रको दोस्रो बजारमा परिवर्तनीय बैंक खाता खोली कारोबारका लागि सहजीकरण गर्न (विदेशी तथा स्वदेशी मुद्रामा खाता खोल्ने) धितोपत्र बोर्डको अनुरोधमा राष्ट्र बैंकबाट इच्छुक वाणिज्य बैंकहरुलाई गैर आवासीय नेपालीको लागि नेपालको दोस्रो बजारमा कारोबारका लागि सहजीकरण गर्न संरक्षक सदस्य बैंकको अनुमतिको व्यवस्था गर्नु पर्ने।
६. संरक्षक सदस्य बैंकले गैरआवासीय नेपाली ग्राहकको तर्फबाट डिम्याट खाता खोल्ने, धितोपत्र दलालकोमा ग्राहकको तर्फबाट कारोबार खाता खोलिदिने, ग्राहकको तर्फबाट विद्युतीय निर्देशन पुर्जी जारी गर्न सक्ने सम्बन्धमा धितोपत्र बोर्डले सदस्य बैंकको कार्यक्षेत्र तोक्ने व्यवस्था मिलाउने। साथै, सदस्य बैंकले शुल्क लिई गैर आवासीय नेपालीसँग सम्झौता गरी यी सेवा प्रदान गर्न सक्ने।
७. संरक्षक सदस्य बैंकले गैर आवासीय नेपाली ग्राहकको कारोबार प्रतिवेदन राष्ट्र बैंक तथा धितोपत्र बोर्डलाई तोकिएको समयभित्र गराउनुपर्ने व्यवस्था मिलाउने।