काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले ३६ अर्ब ६६ करोड रुपैयाँको बजेट पास गरेको छ।
चालू आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब ६६ करोड रुपैयाँबराबरको अनुमानित आय–व्यय (बजेट) पास गरेको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।
गत वर्षको तुलनामा ५ अर्ब १९ करोडले घटेको यस वर्षको बजेट पर्यटनमन्त्री सुदन किराँती अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिले मंगलबार पारित गरेको हो।
यो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरिका विमानस्थलबाट १५ अर्ब ८८ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ। गत आवमा प्राधिकरणले १३ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको थियो।
प्राधिकरणको चालू खर्चतर्फ ७ अर्ब रुपैयाँ रहेको छ भने १९ अर्ब पुँजीगत खर्च छ। वित्तीय व्यवस्थातर्फ १० अर्ब ६६ करोड रुपैयाँ हुने गरी बजेट पारित भएको प्रवक्ता निरौलाले बताए।
राष्ट्रिय गौरवका दुई अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध र पोखरा सञ्चालनमा आइसकेकाले यो वर्षको बजेट घटेको उनले बताए।
यो वर्षको बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउने उपकरण जडान गर्ने विषयलाई जोड दिइएको छ। हाल विभिन्न सिकारी राखेर गुलेलीमार्फत विमानस्थल आसपासमा चरा धपाउँदै आइरहेको बेला प्राधिकरणले यो वर्ष उपकरण खरिदमा बजेट विनियोजन गरिएको उनले जानकारी दिए। यद्यपि, त्यो बजेट कतिको हुने भन्ने भने सार्वजनिक गरेका छैनन्।
नेपालगञ्ज, विराटनगर, भरतपुर तथा भोजपुर विमानस्थलमा निर्माण सुरु भएका आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवनको कामलाई तिव्रता दिने तथा अन्य आन्तरिक विमानस्थललाई पनि विस्तार तथा स्तरोन्नतिलाई केन्द्रमा राखेर बजेट विनियोजन भएको प्रवक्ता निरौलाकाे भनाइ छ।