काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले संशोधन गरेको ‘एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट’ (एओसिआर) कार्यान्वयन नगराउन वायुसेवा सञ्चालकहरूले पर्यटनमन्त्री सुदन किराँती गुहार्ने तयारी गरेका छन्।
प्राधिकरणले भदौ १५ गते एओसिआरको दसौं संशोधनमार्फत एयरलाइन्स कम्पनी सञ्चालक तथा उडानमा संलग्न पाइलटलाई कडाई गरेसँगै सञ्चालकहरू पर्यटनमन्त्री किराँती गुहार्ने तयारीमा लागेका हुन्।
संशोधित एओसिआर पूर्णरूपमा कार्यान्वयन भए व्यवसाय नै चौपट हुने निष्कर्ष निकाल्दै वायुसेवा सञ्चालके संयुक्तरूपमा मन्त्री किराँतीलाई भेट्ने समय मागिरहेका छन्।
वायुसेवा सञ्चालक संघका एक सदस्यका अनुसार मंगलबार नै पर्यटनमन्त्री किराँतीलाई भेट्ने तालिका भए पनि मन्त्रीको कार्यव्यस्तताका कारण रद्ध भएको छ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार मंगलबार उड्डयन प्राधिकरणकै बजेट तयारीका लागि बोर्ड बैठकमा मन्त्री किराँती व्यस्त थिए। जसका कारण वायुसेवा सञ्चालकले लिएको समयमा भेट हुन सकेन।
प्राधिकरणले संशोधित एओसिआर सार्वजनिक गरेसँगै संघको आकस्मिक बैठक बसेर कार्यान्वयन नगराउन दबाब दिन पहिला मन्त्रीलाई भेट्ने, त्यहाँबाट नभए प्रधानमन्त्रीसामु जाने र अन्तिममा अदालतसम्म जाने सहमति सञ्चालकले गरेका छन्।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूहरूको कुरा नसुन्ने भएपछि सुरुमा पर्यटनमन्त्री भेटेर कार्यान्वयन हुँदा उत्पन्न हुने समस्याबारे जानकारी गराउने गरी आवश्यक तयारी गरिरहेको ती सदस्यले बताए।
वायुसेवा सञ्चालकले संशोधित एओसिआर कार्यान्वयन नगराउन पर्यटनमन्त्रीमार्फत दबाब दिने तयारी गरे पनि मन्त्री किराँती भने प्राधिकरणकै पक्षमा रहेको उनीनिकट एक अधिकारीले जानकारी दिए।
पछिल्लो समय पर्यटनमन्त्री किराँती र महानिर्देशक अधिकारीबीच सम्बन्ध सुध्रिएपछि व्यवसायीले अपेक्षा गरेअनुसार नतिजा आउने सम्भावना न्यून रहेको ती अधिकारीको भनाइ छ।
प्राधिकरणले एओसिआर संशोधन गर्दै वायुसेवा सञ्चालकले प्राधिकरणबाट उडान अनुमति पाएको पाँच वर्षसम्म अरू व्यक्तिलाई सेयर हस्तान्तरण गर्न नपाउने, ‘एकाउन्टेबल म्यानेजर’ तथा ‘पोस्ट होल्डर’ हरूले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं व्यावसायिक कार्य ९जस्तै टुर, ट्राभल० आदिमा संलग्न हुन नपाउने, प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायुसेवा कम्पनीले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डर नियुक्त गर्न नपाउने नीति ल्याएको थियो।
वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डरले प्राधिकरण तथा सरकारका नीति तथा कार्यविपरीत क्रियाकलाप सञ्चालन गर्न एवं त्यससम्बन्धमा आफ्ना धारणा सार्वजनिक गर्नसमेत नपाउने उल्लेख छ।
वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल म्यानजेरले प्राधिकरणद्वारा प्रदान गरिएको सिपिएल, एटिपिएल वा एएमएल लाइसेन्स प्राप्त गरेको भए त्यसको अभ्यास व्यावसायिक उडान वा मर्मतसम्भार गतिविधिसमेत गर्न नपाउने उल्लेख छ।
यस्तै प्राधिकरणले वायुसेवा कम्पनीले एकाउन्टेबल म्यानेजर नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारीसमेत गरेको जनाएको छ। प्राधिकरणले वायुसेवा कम्पनीलाई मर्जरमा आउन चाहनेका लागि समेत बाटो खुला गरेको छ।