काठमाडौं। ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले हात पारेका छन्।
आफ्ना १० प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जितेका हुन्। शारीरिक सुगठनतर्फ विभिन्न १० तौल समूहका विजयीबीच भएको मि. एसियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन् । उनी ९० केजी तौल समूहमा विजयी हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए।
एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कूल २ सय ६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय हुन सफल भएको छ। पुरुषतर्फ भारत ७ सय ९५ अंकका साथ पहिलो र थाइल्यान्डले ५ सय ९० अंकका साथ तेश्रो स्थान प्राप्त गर्यो।
महिलातर्फ थाइल्यान्डले टिम च्याम्पियनसिपको उपािध उचाल्यो। दोश्रो स्थानमा भियतनाम र तेश्रो स्थानमा हङकङ रह्यो।
आज सम्पन्न पुरुष एथलेट फिजिक १ सय ८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे। यस विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे।
नेपालले यस च्याम्पियनसिपमा ३ स्वर्ण ६ रजत र ५ कास्य पदक प्राप्त गर्न सफल भएको छ। विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण जिते।
सुरेश दुवाल ५५ केजी, अशिमबाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेस फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरेका थिए। कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेस फिजिक्स, विप्लभ कार्की एथलेटिक्स फिजिक, निहालमान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक प्राप्त गरेका थिए।
च्याम्पियनसिपमा १७ राष्ट्रका १ सय ६८ पुरुष र ६८ महिला गरी २ सय ३६ खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए।
शारीरिक सुगठनको प्रतियोगितामा पहिलोपटक ठूलो प्रतियोगिताका रूपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ, भारत, काजाखस्तान, मकाउ, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो।
दरबारमार्गस्थित याक एन्ड यती होटलमा भएको च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स १ गरी ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।