काठमाडौं। एप्पलको बहुप्रतीक्षित ‘आइफोन-१५’ आगामी मंगलबार (सेप्टेम्बर १२) मा सार्वजनिक हुँदैछ। निकै लामो समयदेखि चर्चामा रहेको आइफोन-१५ सार्वजनिकीकरण मिति नजिकिएसँगै यसका मूल्य, फिचरलगायत तथ्या बाहिरिने क्रम बढ्दै गएको छ।
आइफोन-१५ को सबैभन्दा चासोमा परेको विषय क्यामेरा हो। कम्पनीले औपचारिक जानकारी नगराए पनि यसबारे थुप्रै तथ्य बाहिरिएका छन्। जसअनुसार आइफोन-१५ मा ४८ मेगापिक्सेल र आइफोन-१५ प्लसमा पनि ४८ मेगापिक्सेलको मुख्य रहने छ। साथै, यी दुवैमा १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स पनि रहने छ।
आइफोन-१५ प्रोमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल र १२ मेगापिक्सेलको टेलिफोटो लेन्स हुनेछ। यसको अर्को भेरिएन्ट आइफोन-१५ प्रो म्याक्समा ४८ मेगापिक्सेलको सोनी आइएमएक्स ९ सय ३ सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स र १२ मेगापिक्सेलको टेलिफोटो पेरिस्कोप लेन्स हुने तथ्य बाहिरिएको छ।
बाहिरिएको जानकारीअनुसार आइफोन-१५ र आइफोन-१५ प्लस मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिंक रङमा उपलब्ध हुनेछ। त्यस्तै आइफोन-१५ प्रो र प्रो म्याक्स मोडेल टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक रङमा उपलब्ध हुनेछ।
आइफोन-१५ मा ३ हजार ८ सय ७७ एमएएच, आइफोन-१५ प्लसमा ४ हजार ९ सय १२ एमएएच, आइफोन-१५ प्रोमा ३ हजार ६ सय ५० एमएएच र आइफोन-१५ प्रो म्याक्समा ४ हजार ८ सय ५२ एमएएच क्षमताको ब्याट्री उपलब्ध हुनेछ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आइफोन-१५ को मूल्य भेरिएन्टअनुसार ७ सय ९९ अमेरिकी डलरदेखि १ हजार २ सय ९९ डलरसम्म हुनेछ।