काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले सेयर बजारमा विदेशी मुद्रामा लगानी गर्न र प्राप्त लाभ विदेशी मुद्रामै फिर्ता लैजान पाउने बाटो खुलाएको छ। बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को सातौं संशोधनमा उक्त व्यवस्था गरिएकाे हो।
‘सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्रचलित कानुनबमोजिम स्थापना भएको इन्भेस्मेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागिमात्र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधारसम्बन्धी परियोजनामा सेयर, बन्ड, डिबेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी नियमानुसार धितोपत्र निष्कासन गर्न सक्ने छ,’ बोर्डद्वारा जारी संशोधित नियमावलीमा छ।
यसप्रकारको विदेशी मुद्राको सेयर, बन्ड वा डिबेन्चरमा लगानी गर्ने गरी निष्कासन गरिएको धितोपत्र कारोबार विदेशी नागरिकता प्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीबीच मात्र हुने व्यवस्था छ। साथै, यस्ता कम्पनीको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी अन्य व्यवस्था निर्देशिकामा तोकिएबमोजिम हुने बोर्डले उल्लेख गरेको छ।
सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीका रूपमा एनआरएन नेपाल डेभलपमेन्ट फन्डले काम गरिरहेको छ। यही कम्पनीमार्फत नै विदेशी लगानी नेपाल भित्र्याउन बाटो बोर्डले खुला गरेको हो।
विदेशी लगानीकर्ता होस् वा गैरआवासीय नेपालीले विदेशी मुद्रामा लगानी गर्न लगानी बोर्डबाट स्वीकृति लिएर सम्बन्धित निकायको अनुमति र राष्ट्र बैंकको अनुमति लिनुपर्नेलगायत झन्झटिलो प्रक्रिया सामना गर्नुपर्ने हुन्छ।
अब भने बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार विदेशी मुद्रामा सोझै लगानी भित्र्याउन सहज भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनलराज भट्टराईले बताए।
‘गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा आबद्ध गराउन पहिलो चरणको ढोका खुल्यो, दोस्रो चरणका लागि पनि काम भइरहेको छ,’ सिइओ भट्टराईले क्यापिटल नेपालसँग भने, ‘नयाँ व्यवस्थाले गैरआवासीय नेपालीलाई लगानी गर्न र फन्डलाई लगानी गर्न सहजताको बाटो दिएको छ।’
अब फन्ड बेसमा लगानीकर्ताले एकद्वार प्रणालीबाट विदेशी डलरमै लगानी गर्न सक्ने उनले बताए। ‘डलरमा धितोपत्र बजारमा होस् या अन्य कम्पनीमा लगानी गर्नुपर्दा यस्ता इन्भेस्टमेन्ट फन्डले नै सबै कुरा व्यवस्थापन गरिदिन्छ,’ भट्टराईले भने, ‘समग्रमा भन्दा बोर्डले गरेको नयाँ व्यवस्थाले सेयर बजारमा विदेशी मुद्रामा लगानी गर्न र सोही मुद्रामै लाभ फिर्ता लैजान बाटो खुला भएको छ। यो फन्डले लगानी गरेको कम्पनीको सेयर, बन्ड वा डिबेन्चरमा एनआरएनलाई विदेशी मुद्रामा लगानी गर्न सहज बनाएको छ। गैरआवासीय नेपाली लगानीकर्तालाई प्रशासनिक झन्झटबाट पनि मुक्त बनाएको छ।’
एकद्वार प्रणालीबाट विदेशी लगानी नेपाल भित्र्याउन ‘इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम नेपाल’ विकास गर्न लागिएको उनले जानकारी दिए। अहिले एउटामात्रै यस्तो फन्ड कम्पनी भए पनि भविष्यमा आउने यस्ता अन्य कम्पनीलाई पनि फाइदा हुने उनको भनाइ छ। यो व्यवस्थाले मुलुकको विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग गर्ने उनको भनाइ छ।