काठमाडौं। शंकर ग्रुपअन्तर्गत सञ्चालित कम्पनी जगदम्बा स्टिल लिमिटेडले आफ्ना उत्पादन विभिन्न देश पठाउन थालेको छ। प्रत्येक महिना १ अर्ब रुपैयाँबराबर निकासी लक्ष्यसहित जगदम्बा स्टिलले भारत, जर्मनी, रोमानिया र दक्षिण अफ्रिकामा रंगिन कर्कटपाता र कलर कोटिङ सिट निकासी सुरु गरेको हो।
शंकर ग्रुप तथा कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालका अनुसार अहिले महिनाको ४० करोडको रंगिन कर्कटपाता र कलर कोटिङ सिट निकासी भइरहेको छ। यसलाई निकट भविष्यमै १ अर्ब पुर्याउने लक्ष्य छ।
‘वार्षिक १० अर्ब रुपैयाँबराबरको निकासी लक्ष्य छ,’ अग्रवालले क्यापिटल नेपालसँग भने, ‘गत महिनाबाट निकासी सुरु गरेका छौं। पहिलो महिनामै ४० करोडको निकासी भइसकेको छ। भदौमा करिब–करिब ७० करोडको निकासी हुने अनुमान गरेको छौं। असोजबाट महिनाको ९० करोडबराबर सामान निकासी हुनेछ।’
उनका अनुसार जगदम्बा स्टिलले स्टिल दराजको कच्चापदार्थ सिआरसिएसमेत निकासी गर्ने तयारीमा छ।
‘हाम्रा उद्योगबाट कलर कोटिङ सिट र कर्कटपातासँगै सिआरसिए पनि उत्पादन हुन्छ। कलर कोटिङ सिट र कर्कटपाता तयारी वस्तु हो भने सिआरसिए स्टिल दराजको मुख्य कच्चा पदार्थ हो,’ अग्रवालले भने।
वार्षिक २ लाख ५० हजार टन सामान उत्पादन गर्ने क्षमता जगदम्बाको छ। त्यसमध्ये १ लाख टन निकासी गर्ने लक्ष्य लिएको उद्योगले त्यहीअनुसार काम सुरु गरिरहेको छ।
उद्योगले तीन महिनादेखि निर्यातका लागि प्रक्रिया सुरु गरेको हो। निर्यात गर्नुपूर्व पूरा गर्नुपर्ने कानुनी प्रक्रिया सिध्याउन केही समय लागेको थियो। गत महिनाबाट उद्योगले व्यावसायिकरूपमा निर्यातको थालनी गरेको हो।
जुन–जुन देशमा निर्यात गरिरहेका छौं, ती देशबाट समेत जगदम्बाका उत्पादन उनीहरूको गुणस्तर कानुनअनुसार प्रमाणित भएका छन्।
अध्यक्ष अग्रवालका अनुसार जगदम्बाका उत्पादन भारत दार्जिलिङ, कालिङ्पोङ, सिलिगुढी, सिक्किम, गुहावटीमा लोकप्रिय हुँदै गएका छन्।
कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन मध्यपूर्वी एसियाली देश तथा दक्षिण अफ्रिकामा उच्च माग भइरहेका छन्।
कम्पनीका अनुसार जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस प्रिमियम आल्मुनियम (जिंक कलर कोटेड र प्लेन सिट्स तथा कोइल्स, जसलाई ग्याल्भालुम पनि भनिन्छ) जसमा उत्पादनको टिकाउपन र आयु बढाउने कार्यमा सघाउन ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र बेस मेटलमाथि १.५ प्रतिशत सिलिकन प्रयोग गरिएको हुन्छ।
स्टिल उत्पादन निर्माणमा रिइन्फोर्समेन्ट टिएमटी रिबारदेखि स्ट्रक्चरल तथा वायर प्रोडक्टसम्मका रेन्जमा दुई दशकभन्दा लामो समयको सफलतापछि जगदम्बाले नेपाल विकासको साझेदारको भूमिका खेल्दै आएको छ।
कम्पनीका उत्पादन नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा एनएसः१९१, आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ बाट प्रमाणित छन्। जगदम्बा स्टिलले जगदम्बा सुपरसाइन र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात गर्दै आएको छ भने दक्षिण पूर्वी एसिया, मध्यपूर्व र दक्षिण अफ्रिकामा समेत निर्यात सुरु भएको हो।