काठमाडौं। निजी लगानीमा खुलेका कम्पनीहरुलाई साधारण सेयर (आइपिओ) जारी गर्न अब सहज हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले निजी कम्पनीहरुलाई पब्लिकमा जान सहजता दिने गरी तयार पारेको संशोधित नीतिलाई मन्त्रिपरिषदले पास गरेको छ।
बोर्डले प्राइभेट कम्पनीहरुलाई पब्लिकमा परिणत भएपछि आइपिओमा जानलाई सहज हुने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधनको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा पेस गरेको थियो। जसलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पास गरेको सेबोनका अध्यक्ष रमेशकुमार हमालले बताए।
‘यसअघि नै पेस भएको थियो। तर, त्यसमा केही छलफल गर्नुपर्ने देखिएर फेरी मन्त्रिपरिषद अन्तर्गतको समितिमा छलफलको क्रममा रहेको धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधनको मस्यौदालाई यही सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पास गरेर मंगलबार सेबोनमा आएको हो’–बोर्ड अध्यक्ष हमालले क्यापिटल नेपालसँग भने।
बोर्ड अध्यक्ष हमालले धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधनको मस्यौदामा तोक लगाइसकेका छन्। बाँकी अन्य प्रकृया पुरा गरेर बिहिबार सार्वजनिक गरिने अध्यक्ष हमालले बताए।
‘बुधबार सार्वजनिक बिदा परेको हुँदा बिहीबार सार्वजनिक हुँदा र सोसँगै उक्त संशोधित कार्यविधि लागू हुन्छ। मूख्य विषयमा संशोधित कार्यविधिले प्राइभेट कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण भएर आइपिओ जारी गर्न सहजता दिएको छ,’ उनले भने, ‘साविकमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा २ आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेडमा परिणत भएकको हकमा पब्लिक लिमिटेड कम्पनीको रुपमा १ आर्थिक वर्ष पूरा हुन आवश्यक पर्ने छैन।’
यसअघि पब्लिक कम्पनी कारोबार सञ्चालनमा आएको १ आर्थिक वर्षको अवधि पुरा गरेको कम्पनीले मात्रै आइपिओ प्रक्रियामा जान पाउने व्यवस्था थियो।