काठमाडौं। सार्वजनि-निजी साझेदारीमा स्थापना भएको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८१ मेगावाट क्षमताको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बनाउन लागेको छ।
आयोजनाबाट विद्युत उत्पादन गर्न विद्युत विकास विभागले चिलिमेलाई अनुमतिपत्र (लाइसेन्स) दिने प्रक्रिया अघि बढाएको छ। आगामी ३५ दिनपछि चिलिमेले बुढीगण्डकी प्रोक आयोजना बनाउन लाइसेन्स पाउने छ।
आयोजना बनाउन १६ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। बुढीगण्डकी प्रोकबाट २०८५ भदौ २८ मा विद्युत उत्पादन प्रस्ताव गरिएको छ।
नदी प्रवाही (आरओआर) आयोजनाबाट वार्षिक ४४ करोड ७० लाख ३० हजार युनिट बिजुली उत्पादन हुने विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) ले देखाएको छ।
आयोजनामा पानीको डिजाइन वहाव प्रतिसेकेन्ड ४४ घनमिटर छ। उचाइ (हेड) २ सय १३ मिटर अग्लो छ। आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा रहने प्रस्ताव गरिएको छ। नदीमा बाँध बाँधेर बिजुली उत्पादन गर्न पानी भूमिगत विद्युतगृहमा लगिने छ।
विद्युत उत्पादनका लागि नदीमा पानी फर्काउने मुख्य बाँधको लम्बाइ ३५ मिटर हुनेछ। यस्तै आरसिसी क्रंक्रिट बाँधको उचाइ ९ मिटर अग्लो हुनेछ। आयोजनाको तीनवटा एक्सिस फ्रान्सिस टर्बाइनमा पानी खसाली विद्युत उत्पादन गरिने छ।
आयोजनाबाट उत्पादन हुने बिजुली १५ किलोमिटर दुरीमा रहेको २ सय २० केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको लिपाङ बिहारथोक सबस्टेसनमा जोडिने छ।
बुढीगण्डकी प्रोक विद्युतगृहदेखि नजिकको सबस्टेसनसम्म प्रसारणलाइन परियोजना आफैंले निर्माण गर्ने छ। आयोजना गोरखाको चुमनब्री गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पर्छ।
चिलिमेले ८७ मेगावाटको अर्धजलाशय सेती नदी–३ (एसआर–३) र आयोजना बनाउने भएको छ। एसआर –३ को १९ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ लागत रहने अनुमान छ। पश्चिम सेती जलविद्युत परियोजनाको माथिल्लो भागमा अवस्थित एसआर–३ परियोजना सुदूरपश्चिम प्रदेशको बझाङमा पर्छ । चिलिमेले २२.१ मेगावाटको चिलिमे जलविद्युत परियोजना सञ्चालन गरिरहेको छ।
यस्तै ६० मेगावाटको चुमचेत स्यारखोला आयोजनाको डिपिआर तयारीका लागि अध्ययनको काम भइरहेको चिलिमेले जनाएको छ।
आयोजनाको विस्तृत इन्जिनियरिङको काम सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनी लिमिटेडमार्फत भइरहेको छ ।
प्रस्तावित आयोजना डिपिआर तयारपछि छुट्टाछुट्टै कम्पनीबाट निर्माण हुने भएको छ। हाल आयोजनाहरूको अध्ययनमा भएको खर्चलाई चालू पुँजीमा देखाइएको छ । कम्पनी स्थापना भएपछि स्वामित्व हस्तान्तरण हुने चिलिमेले जनाएको छ ।
आयोजना बनाउन चिलिमेले कर्मचारी सञ्चय कोषबाट ऋण लिने तयारी गरेको छ। चार आयोजना सञ्चय कोषको ऋण लगानीमा निर्माण सुरु भएको हो ।
नयाँ स्थापना हुने जलविद्युत कम्पनीहरूमा प्रदेश सरकारको पनि सेयर लगानी हुने भएको छ। प्रस्तावित सबै आयोजना जनताको जलविद्युत आयोजनामा रहेका छन्। आयोजनामा लगानी जुटाउन सर्वसाधारणलाई ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना छ।
सो कम्पनीको अगुवाइमा विभिन्न कम्पनीमार्फत १ सय २ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावटको (माथिल्लो) सान्जेन र १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माणाधीन छन्।
माथिल्लो सान्जेनबाट विद्युत उत्पादन भइरहेको छ। रसुवागढी, मध्य भोटेकोसी र तल्लो सान्जेन २०८० चैतभित्र सम्पन्न हुने अनुमान गरिएको छ।