काठमाडौं। यामाहा नेपालले मोटो जिपीका प्रशंसकलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जिपी’ इभेन्ट घोषणा गरेको छ।
भारतमा पहिलोपटक मोटो जिपी आयोजना हुने अवसरमा यामाहा नेपालले यस्तो घोषणा गरेको हो। नेपाली मोटरसाइकल इतिहासमै पहिलोपटक यामाहा नेपालले १० यामाहा राइडरलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेसनल सर्किट, नोएडा भारतसम्म मोटो जिपी हेर्न लैजाने भएको छ।
सन् २०२३ सेप्टेम्बर २० देखि ब्लु स्क्वायर नक्सालबाट सुरु भएर २३ सेप्टेम्बरमा मोटो जिपीको प्रत्यक्ष अनुभव गरी त्यहाँबाट पुनः काठमाडौं फर्किने यामाहाले जनाएको छ।
यामाहाका अनुसार छानिएका यामाहा राइडरले मोटो जिपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्म अवलोकन अनुभव प्राप्त गर्नेछन्। मोटो जिपी भारतमा २०२३ सेप्टेम्बर २२ देखि २४ सम्म हुँदैछ।
यामाहाले नेपाली समुदायमा रेसिङ भावना जगाउने काम गरिरहेको छ। यामाहाका स्पोर्ट्स बाइक र मोटो जिपीप्रति यामाहाका राइडरका उत्साह मनन गर्दै ‘राइड टु मोटो जिपी इभेन्ट तयार गरिएको हो।
यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइट सिर्जना गरेको छ जहाँ यामाहा राइडरले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरण पठाउन सक्नेछन्।
पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९ सम्म रहने छ। दर्तापछि यामाहाले अर्को राउन्ड छ्नौट प्रक्रिया अघि बढाउने छ। यामाहाले १० राइडरको छनौट गर्ने छ। छनौट भएकाले केही नियम र सर्त पनि पालना गर्नुपर्ने छ।
‘हामीले धेरै मोटरसाइकल र मोटो जिपी फ्यानले आफ्नो दुईपांग्रेमा भ्यालेन्टिनो रोसीका स्टिकर लगाएको देखेका छौं। त्यतिमात्र नभई गियाकोमो अगोस्टिनी, जर्ज लरेन्जोजस्ता यामाहा राइडरले पनि युवालाई रेसिङमा उत्प्रेरित गरेका छन्। मोटो जिपीमा हालका यामाहाका फेबियो क्वार्टारारो पनि यसमा अगाडि छन्,’ एमएडब्लुका यामाहा डिभिजन सिइओ राजु क्षेत्रीले भने, ‘यामाहा चढ्नेहरू, जो मोटो जिपीका प्रशंसक छन् र जो रेसको साक्षी भई त्यस रोमाञ्चक क्षणमा जिउन चाहन्छन्, उनीहरूका लागि राइड टु मोटो जिपी एक अविष्मरणीय अवसर हो। हामी यामाहाका तर्फबाट सबै यामाहा राइडरलाई यस प्रतियोगिताका लागि आवेदन दिन र जीवनमा अविष्मरणीय क्षण प्राप्त हुने अवसर अनुभव गर्न अपिल गर्छौं।’
यामाहा मोटर स्थापनादेखि नै यसको कर्पोरेट संस्कृतिका रूपमा मोटरस्पोर्ट अनिवार्य रहँदै आएका छ। राइड टु मोटो जिपी, मोटो जिपीको रोमाञ्चकतालाई नेपाल नजिकै ल्याउन र धेरै मोटरस्पोर्टका उत्साहीलाई रेसिङतर्फ आकर्षित गर्न एउटा कोसेढुङ्गा हुने यामाहा नेपालले जनाएको छ।