काठमाडौं। संसारभरिका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी यात्रु सेवामा सदैव चनाखो हुन्छन्। कस्ता सेवा–सुविधा दियो भने यात्रु आकर्षित हुन्छन् भन्ने प्रतिस्पर्धा गर्ने गर्छन्।
अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्ना जहाजमा यात्रा गर्न आउने अशक्त, बिरामी, ज्येष्ठ नागरिक, फरक क्षमता भएका (अपांग), निरक्षरलगायत यात्रुका लागि ‘ह्विलचेयर’ सुुविधा निःशुल्क उपलब्ध गराउँदै आएका छन्।
तर विडम्बना, हाम्रो राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) भने यस विषयमा ठ्याक्कै उल्टो छ। निःशुल्क दिनुपर्ने ह्विलचेयर सुविधा नेवानिले प्रतियात्रु ३ हजार रुपैयाँमा बेचिरहेको छ। यो सरासर ठगी हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेवानिका जहाजमा अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले ह्विलचेयर आवश्यक परे टिकटमै ३ हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ।
‘यात्रुलाई नेवानिबाट यात्रा गर्न प्रोत्साहनका लागि विभिन्न सेवा–सुविधा थप्नुपर्नेमा नेवानिले उल्टै ह्विलचेयर प्रयोग गरेवापत थप ३ हजार रुपैयाँ असुल्नु निकम्मापन हो,’ आफन्तलाई नेवानिको ह्विलचेयर टिकट काट्दा थप ३ हजार रुपैयाँ तिरेका एक आक्रोशित यात्रुले क्यापिटल नेपालसँग भने, ‘विश्वका कुनै पनि एयरलाइन्समा नभएको नियम नेवानिमा रहेछ।’
वायुसेवा कम्पनीले बिरामी यात्रु र ज्येष्ठ नागरिक (जो सामान्य हिँडडुल गर्न सक्दैनन्) लगायतलाई निःशुल्क ह्विलचेयर सुविधा दिने गर्छन्। तर, नेवानिले भने त्यही ह्विलचेयर प्रयोग गर्दा थप ३ हजार रुपैयाँ तिर्नुपरिरहेको छ।
मुलुकको उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ह्विलचेयर सुविधा दिएवापत नेवानिले थप शुल्क लिनु गैरकानुनी भएको बताए।
त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ समेत जिम्मा लिएको नेवानिलाई प्राधिकरणले ह्विलचेयर सेवावापत अतिरिक्त शुल्क नलिन निर्देशन दिइसकेको जनाएको छ।
ग्राउन्ड ह्यान्डलिङ सेवावापत शुल्क लिँदा प्राधिकरणबाट अनिवार्य अनुमति लिनुपर्ने हुन्छ। ह्विलचेयर सेवावापत यसअघि पनि नेवानिले अतिरिक्त शुल्क लिने गरेको थाहा पाएपछि प्राधिकरणले नलिन निर्देशन दिइसकेको थियो। तर, नेवानिले पुनः ह्विलचेयर शुल्क लिएको पाइए आवश्यक अध्ययन गर्ने सूचना अधिकारी भुलले बताए।
ह्विलचेयर प्रयोगवापत अतिरिक्त शुल्क लिएको विषयमा जानकारी लिन एयरलाइन्सका प्रवक्ता रमेश पौडेल र सूचना अधिकारी अर्चना खड्कासँग पटक–पटक फोन सम्पर्क गर्दा पनि उनीहरू सम्पर्कमा आउन चाहेनन्।
नेपालबाटै अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले भने ह्विलचेयर प्रयोगवापत अतिरिक्त शुल्क नलिने गरेको जनाएको छ।
यात्रुले टिकट बुकिङकै क्रममा आफूहरूलाई ह्विलचेयर आवश्यक पर्ने जानकारी गराएपछि उडान क्रममा त्यहीअनुसार सुविधा दिने गरेको हिमालयका प्रवक्ता उज्वला दलीले जानकारी दिइन्।
‘सीमित ह्विलचेयर भएका कारण अग्रिम जानकारी यात्रुबाट लिने गरेका छौं,’ प्रवक्ता दलीले भनिन्, ‘यात्रुको अवस्था मध्यनजर गर्दै आवश्यक सहयोगसमेत गर्दै आएका छौं।’
ह्विलचेयर प्रयोगकर्तालाई कतिपय एयरलाइन्सले टर्मिनल भवन बाहिरसम्मै लिन आउने र अध्यागमनदेखि सबै काममा सम्बन्धित एयरलाइन्सका कर्मचारीले नै सहजीकरण गर्ने गर्छन्।
आन्तरिक उडानमा रहेका एयरलाइन्सले पनि ह्विलचेयर प्रयोगवापत अतिरिक्त शुल्क लिने गरेका छैनन्।
ह्विलचेयर प्रयोग गर्ने यात्रुलाई विशेष सुविधा दिन सम्बन्धित एयरलाइन्स कर्मचारीले टर्मिनल भवन बाहिरसम्म लिन आउने र सम्बन्धित गन्तव्यमा पुगिसकेपछि पनि बाहिरसम्ममै पुर्याउने गरेका छन्।