काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्याएको क्षति अवलोकन गरेका छन्। अवलोकनपछि उनले बाढीका कारण क्षति पुगेको मुस्ताङ कागबेनी बस्ती पुनर्निर्माण कामलाई सरकारले प्राथमिकता दिने बताए।
गत साउन २८ गते काग खोलामा आएको बाढीले कागबेनीका घर, पुल, सडक, व्यापारीक संरचना, होटल, विद्यालय, प्रहरी चौकी, बैंक, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्धस्थल, खानेपानीका पाइप लगायतमा क्षति पुर्याएको थियो। बाढीको पूर्वसूचना पाएकाले मानवीय क्षति भने भएको थिएन।
क्षतिको अवलोकनपछि मन्त्री श्रेष्ठले बाढी पीडित, स्थानीय जनप्रतिनिधि र राहत, उद्धार तथा पुनर्निर्माणमा सक्रिय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै क्षतिग्रस्त संरचनाको दीर्घकालीनरूपमा पुनर्निर्माण गरिने बताए।
तत्कालीन प्राथमिक आवश्यकलाई पूरा गर्दै प्राविधिक र योजनाविदको सुझाव अनुसार कागबेनीको पुनर्निर्माण गरिने उनको भनाइ थियो। संघ, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेष्ठले बताए।
त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए।
कालीगण्डकी नदी बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उनले बताए।
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए।
‘कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रूपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,’ उनले भने, ‘बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ।’
कागखोलाको बाढीबाट १अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपैयाँबराबर क्षति भएको छ।