काठमाडौं। महिन्द्रा ग्रुपअन्तर्गतको स्वराज ट्याक्टरले नयाँ मोडेलका ट्याक्टर उत्पादन गर्न ३ अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेको छ।
कम्पनीले किसानको आवश्यकता पूरा गर्न ४० देखि ५० हर्स पावरका ट्याक्टर बनाउन २ अर्ब भारु (३ अर्ब २० करोड रुपैयाँ) बराबर लगानी थपेको हो।
आधुनिक समयको कृषि माग पूरा गर्न नयाँ उत्पादन विकास गरिएको महिन्द्रा एन्ड महिन्द्रा स्वराज डिभिजनका प्रमुख कार्यकारी अधिकृत हरिश चाभानले बताए।
‘हामी भविष्यका लागि तयार हुन चाहान्छौं। यो नयाँ रेन्जका ट्याक्टरमा विभिन्न नयाँ फिचर र कृषि एप्लिकेसन हुनेछन्,’ उनले भने।
यो सेग्मेन्टमा कम सुविधा भएकादेखि फोर ह्विल ड्राइभसम्मका ट्याक्टर हुने चाभानले जानकारी दिए।
नयाँ प्रडक्टको लगानीबारे सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यो प्रोजेक्टका लागि करिब २ सय करोड भारु खर्च भएको जानकारी दिए।
स्वराजले हाल पञ्जाबको मोहलीस्थित आफ्नो प्लान्टबाट ट्याक्टर उत्पादन गरिरहेको छ भने अर्को प्लान्ट पनि बनाउँदै छ।
‘हाम्रो तेस्रो प्लान्ट पनि बन्दैछ। यो प्लान्ट तेस्रो त्रैमासिकसम्ममा निर्माण सम्पन्न हुन्छ र चौथो त्रैमासिकसम्ममा उत्पादन सुरु गर्ने तयारी छ,’ चाभानले भने।
नयाँ ट्याक्टरको बेस भेरिएन्ट (४२ एचपी) को ६ लाख ९० हजार र टप भेरिएन्ट (५० एचपी) को ९ लाख ९५ हजार निर्धारण गरिएको छ।
४० देखि ५० हर्स पावर सेग्मेन्टका ट्याक्टरले भारतमा मात्र बिक्रीको करिव ५० प्रतिशत हिस्सा ओगटेको छ।
गत महिना महिन्द्रा एन्ड महिन्द्राले कठिन भौगोलिक क्षेत्र लक्ष्य गर्दै सानो आकारको सेग्मेन्ट पनि सार्वजनिक गरेको थियो। महिन्द्रा एन्ड महिन्द्राले आफ्नो निर्यात दोब्बर बनाउने लक्ष्य राखेको छ।