काठमाडौं। सडक विभागले ग्वार्को फ्लाइ ओभरको संशोधित डिजाइन सडक विभागले स्वीकृत गरेको छ। जेठमा निर्माण कम्पनीले पहिलेको डिजाइनअनुसार फिल्डमा काम गर्न नसकिएको भन्दै डिजाइन संशोधन गर्न विभागलाई आग्रह गरेको थियो।
निर्माण कम्पनीले गरेको आग्रहअनुसार सडक विभागले तीन महिना अध्ययन गरेर संशोधित डिजाइन भदौ १० मा स्वीकृत गरेको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राकेश महर्जनले बताए।
१६ वटा पाइल थप, लम्बाइ र गहिराइ पनि परिवर्तन
फ्लाइ ओभर ‘पाइल’ मा पहिले एकातर्फ ४ र अर्कातर्फ ४ गरी ८ मोटा र ठूला पाइल हाल्ने डिजाइन गरिएको थियो। तर, त्यो डिजाइनअनुसार काम गर्न सामग्री नपाएपछि दुवैतर्फ साना तर धेरै अर्थात १२/१२ गरेर २४ पाइल निर्माण गर्ने डिजाइन स्वीकृत भएको हो। यसरी हेर्दा १६ पाइल थपिएका छन्।
उक्त डिजाइनअनुसार पाइलको गहिराइ र डायमिटर पनि परिवर्तन हुने भएको छ। ८ पाइलको लम्बाइ ३४ मिटर र डायमिटर १।५ मिटर डिजाइन भएको थियो। तर, अब परिवर्तन भएर पाइलको डायमिटर १.२ मिटर र लम्बाइ ३० मिटर कायम भएको छ।
‘इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा निर्माण गर्न सडक विभागले आरसी, समानान्तर र रेलिग्रेसँग संयुक्त उपक्रम (जेभी) मा २०७८ फागुनमा ठेक्का सम्झौता गरेको थियो। इपिसी मोडेलमा ठेक्का सम्झौता भएकाले फ्लाइओभर डिजाइन निर्माण कम्पनीले नै गरेको थियो।
तर, पहिला गरिएको डिजाइनअनुसार निर्माण सामग्री नेपाल तथा भारतमा नपाएको कारण डिजाइन संशोधन गरेर काम गर्न लागिएको केन्द्रले जनाएको छ।
फ्लाई ओभर निर्माण म्याद आगामी फागुनसम्म छ। जसमध्ये डेढ वर्ष सकिएको छ। फ्लाई ओभर निर्माण गर्न १७ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।
फ्लाई ओभर निर्माण चक्रपथको कोटेश्वर–कलंकी खण्डको ग्वार्को चोकमा हुँदैछ। ८ लेनको सडकमा बीचको ४ लेनमा फ्लाई ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन्। फ्लाई ओभरमुनिबाट मंगलबजार–इमाडोल–मंगलबजार चल्ने सवारीले आवतजावत गर्ने गरी निर्माण भइरहेको छ।