काठमाडौं। नेपाली बजारमा सूर्य नेपालद्वारा उत्पादित चुरोटले एकछत्र राज गरिरहेको छ। सूर्य नेपालबाट उत्पादित चुरोटले करिब ९७ प्रतिशत बजार हिस्सा ओगटेको छ।
सरकारी स्वामित्वको जनकपुर चुरोट कारखाना बन्द भएपछि सूर्य नेपालले चुरोट व्यापारमा एकछत्र राज गरेको हो। २०४३ सालमा खुलेको सूर्य नेपालले ३७ वर्षदेखि एकलौटी बजार हिस्सा ओगट्दा कुनै प्रतिस्पर्धी आउन सकेका छैनन्।
जनकपुर चुरोट कारखाना २०६७ फागुनदेखि बन्द रहेको भनिए पनि आंशिक चालू रही २०६८ असार ६ बाट पूर्णरूपमा चुरोट उत्पादन बन्द भएको थियो।
तत्कालीन सोभियत संघ (रुस) को सहयोगमा जनकपुर चुरोट कारखाना स्थापना भएको थियो। राजा महेन्द्र शाहले २०२१ पुस २९ मा उद्घाटन गरेको जनकपुर चुरोटले वार्षिक २ अर्ब ३६ करोड खिल्ली चुरोट उत्पादन गथ्र्यो।
सुरुमा गरुड, चुचुरा, सिंह, ज्वाला, जानकी नामका चुरोट उत्पादन गरेको जनकपुरले पछि कोसेली, मुनाल, दोभान, कस्तुरी, हिमचुली, आशा ब्रान्ड बजार ल्याएको थियो।
सूर्य नेपाल आउनुअघि जनकपुरको एकछत्र राज थियो। पछिल्लो चरणमा देउराली, उपहार, गैंडा, याक, सयपत्री तथा लालीगुराँस ब्रान्ड उत्पादन गथ्र्यो।
जनकपुर चुरोट बन्द भएपछि नेपाली बजारमा चुरोट कारखाना नखुलेका भने होइनन्। तर, ती चुरोट उद्योगले बजारमा राम्रो प्रभाव जमाउन नसकेपछि बीचमै बन्द भएका घटना धेरै छन्। अहिले गोर्खा लहरीले चुरोट उत्पादन गरे पनि उसको हिस्सा न्यून छ। गोर्खा लहरीको बजार हिस्सा तीन प्रतिशतहाराहारी छ।
यसबीच चौधरी ग्रुपले २०७० सालमा चुरोट उद्योगमा २० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय ब्रान्डको चुरोट क्यामेल नेपाल ल्याएर बिक्री सुरु गरेको थियो।
चौधरी ग्रुपले अहिले पनि बहुराष्ट्रिय कम्पनी जापान टोबाको इंक (जेटिआई) को उत्पादन क्यामेल बिक्री गरिरहेको छ। नवलपसासीस्थित प्लान्टमा उत्पादन थालनी गर्ने चौधरी समूहको योजना अहिलेसम्म सफल हुन सकेको छैन। कम्पनीले केही समय साहसीलगायत ब्रान्ड उत्पादन गरे पनि अहिले बन्द अवस्थामा छ।
२० करोड रुपैयाँभन्दा बढी चुरोटमा लगानी गर्ने प्रतिबद्धता गरेर केही ब्रान्ड बिक्री गरे पनि सूर्य नेपालका अगाडि उसको केही लागेन। जसका कारण उसले नेपालमा उद्योग सञ्चालन गर्न नै सकेन।
अहिले चौधरी ग्रुपले विदेशी ब्रान्डका केही चुरोट बिक्री गरिरहेको छ। तर, ग्रुपले बिक्री गर्ने चुरोट सर्वसाधारणसम्म पुग्न भने सकेको छैन। प्रिमियम ब्रान्डमा बिक्री हुने चौधरी ग्रुपका चुरोट उच्चवर्गले मात्र प्रयोग गर्दै आएका छन्।
एक उद्योगी जनकपुर चुरोट बन्द हुनु दुर्भाग्य भएको बताउछन्। ‘त्यो बेला निजी क्षेत्र कमजोर भएकाले सरकारले ठूला उद्योग सञ्चालन गरे पनि बीचमै बन्द गरिदियो,’ उनले क्यापिटल नेपालसँग भने, ‘जनकपुर चुरोट कारखाना बन्द नभएको भए सूर्य नेपालले भन्दा बढी आम्दानी गर्न सक्थ्यो, किनकि त्यो बेला निजी क्षेत्रको चुरोट थिएन।’
कुनै बेला याक, गैंडा चुरोटको एकछत्र राज थियो। राजनीतिक हस्तक्षेपका कारण जनकपुर चुरोट बन्द भएको थियो। त्यो कारखाना डुबेपछि सूर्य नेपालको प्रवेश भएको थियोे।
सूर्य नेपालले उत्पादन गर्ने चुरोटको स्वाद (टेस्ट) अरू उत्पादनले दिनै नसक्ने भएपछि नयाँ उत्पादनले बजारमा प्रभाव जमाउन नसकेको प्रयोगकर्ताको भनाइ छ।
‘नेपालीको लतमा सूर्य नेपालका उत्पादनले यसरी मोहनी लगाइदिएको छ कि अरूले ठाउँ लिनै सक्दैनन्,’ एक प्रयोगकर्ताले भने, ‘अहिले पनि धेरैको जिब्रोमा ५५५ चुरोटको स्वाद छ। सकेसम्म र पाएसम्म त्यही चुरोट खान रुचाउँछन र विकल्पमा मात्र अरू खाने गरेका छन्।’
सूर्य नेपालको अन्तर्राष्ट्रिय ब्रान्ड भएकाले प्रचार प्रसारमा पनि निकै सहयोग पुग्यो। ऊसँग आवश्यक दक्ष जनशक्तिदेखि प्रविधिसमेत भएकाले एउटै टेस्ट दिन सकेको हुन सक्ने ती प्रयोगकर्ताको भनाइ छ।
अन्य चुरोट कारखानामा प्रविधि भित्र्याउन पनि नसक्ने स्थिति भएकाले सूर्य नेपालको बजारमा एकछत्र राज भएको अनुमान गर्न सकिने उनी बताउँछन्।
सूर्य नेपालले सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ, शिखर फिल्टर किङ, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली, चौतारीलगायत ब्रान्डका चुरोट उत्पादन गर्दै आएको छ।
उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले सरकारले लामो समयदेखि चुरोट उद्योग सञ्चालन अनुमतिपत्र (लाइसेन्स) दिन बन्द गरेको जानकारी दिए। बन्द भएका केही उद्योग सञ्चालन हुन नसकेको र बेलाबेला प्रस्ताव आए पनि न्यूनतम योग्यता पूरा गर्न नसक्दा त्यत्तिकै फर्केर जाने गरेको उनको भनाइ छ।
२७ अर्ब १ करोड रुपैयाँको चुरोट व्यापार
सूर्य नेपालले एक वर्षमा २७ अर्ब १ करोड रुपैयाँको चुरोट व्यापार गरेको छ। अघिल्लो वर्ष उद्योगले २४ अर्ब ४९ करोड रुपैयाँको चुरोट व्यापार गरेको थियो।
एक वर्षमा सूर्य नेपालको चुरोट कारोबार २ अर्ब ५२ करोड रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। सन् २०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड रुपैयाँ थियो।
यस्तै २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो। चुरोटका साथै सूर्य नेपालले सलाइ र अगरबत्ती पनि उत्पादन गर्दै आएको छ।
सूर्यको देशभरि १ सयभन्दा बढी थोक विक्रेता छन्। सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने उद्योगमा पर्दै आएको छ। सरकारले उद्योगलाई वर्षेनि सम्मान गर्दै आएको छ।
सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।