काठमाडौं। पछिल्लो समय जहाजमा प्राविधिक समस्या आएका कारण उडान नभएको, उड्दाउड्दै गन्तव्य नपुगी फर्किएका समाचार सुन्न र पढ्न पाइन्छ।
कुनै जहाजमा प्राविधिक समस्या आएको एक निमेषमै सामाजिक सञ्जालमा फैलिसकेको हुन्छ र समाचार छ्याप्छ्याप्ती भइहाल्छ।
कुनै दिन दुइटासम्म जहाजमा प्राविधिक समस्या आएको खबर सार्वजनिक हुन्छ भने कहिले दैनिकजसो नै समस्या आएको पाइन्छ। जसका कारण पछिल्लो समय हवाई यातायातमा यात्रा गर्नु जोखिमपूर्ण हो भन्ने प्रश्न उठ्न थालेको छ।
मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ७४ पटक जहाज तथा हेलिकोप्टरमा प्राविधिक समस्या आएको छ।
केही ठूला दुर्घटनासहित प्राविधिक गडबडीका कारण आउने समस्या पहिलाका तुलनामा अझ घट्दै गएको दाबी उनको छ।
जहाजमा प्राविधिक समस्या आएका बेला आन्तरिकमा १ घन्टाभन्दा र अन्तर्राष्ट्रियमा ३० मिनेटभन्दा बढी समय उडान ढिलाइ भए त्यसलाई प्राविधिक समस्याका रूपमा प्राधिकरणलाई जानकारी गराउनुपर्छ।
जहाज उड्न लाग्दा वा उड्दाउड्दै र अवतरण क्रममा कुनै समस्या देखिए प्राधिकरणलाई एयरलाइन्स कम्पनीले खबर गर्नुपर्ने हुन्छ।
प्राधिकरणले पनि जहाजको प्राविधिक समस्या औंल्याएर त्यही किसिमको कारबाही गर्ने गरेको छ। आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी प्राविधिक समस्या प्रचारका हिसाबमा अहिले जहाजमा धेरै समस्या आएका घटना सार्वजनिक भए पनि अहिलेको प्राविधिक चेकजाँचमा निकै कडाई भइरहेको उनले बताए।
‘जति धेरै प्राविधिक चेकजाँचमा कडाई गरिन्छ, त्यति नै घटना सार्वजनिक भएको जस्तो लाग्छ,’ सूचना अधिकारी भुलले भने, ‘सामान्य प्राविधिक समस्या देखिँदासमेत उडान डिले हुने गरेकाले हल्ला धेरै भएको हो।’
प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले सामान्य प्राविधिक समस्यामा समेत सबैले जानकारी पाउने भएपछि हल्ला बढी हुने गरेको बताए।
प्राविधिक चेकजाँचमा पहिला र अहिले समान भए पनि प्रविधि विकासले हल्ला बढी हुने गरेको उनको भनाइ छ।
‘सबैको पहुँचमा इन्टरनेट पुगेको र तत्कालै अपडेट गर्ने चलन बढेकाले जहाजमा देखिएको सामान्य प्राविधिक समस्यासमेत तत्कालै सार्वजनिक हुने गरेको छ,’ पूर्वमहानिर्देशक क्षेत्रीले भने, ‘प्राधिकरणले पनि कडाई गरेकाले पाइलटहरू पनि जोखिम मोल्न छाडेर चेकजाँचमा बढी ध्यान दिन लागेको देखिन्छ।’
निजी वायुसेवा कम्पनी बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले जहाजको प्राविधिक चेकजाँचमा कुनै पनि कसर बाँकी नराखिएको बताए।
‘सामान्य समस्या आउँदा पनि धेरै हल्ला हुने गरेकाले बढी नै भएको हो कि भन्ने आँकलन गरिएको हुन सक्छ,’ जोशीले भने, ‘यात्रु सुरक्षामा कुनै सम्झौता नगर्नकै लागि चेकजाँच कडाई गरिएको छ।’
पछिल्लो समय पाइलटहरूले जोखिम नमोली सामान्य खालका समस्या देखिए पनि उडान रोकेर चेकजाँच गर्ने गरेको वायुसेवा कम्पनीको भनाइ छ।
प्राधिकरणको कडाईले पाइलटहरू पनि सचेत भएकाले केही समय जहाज डिले गराएर भए पनि चेकजाँच भने तत्कालै गर्ने गरेको पाइन्छ।
प्राधिकरणले जहाजमा प्राविधिक समस्या देखिएर जहाज अवतरण गराउँदा पनि पाइलटहरू ग्राउन्डेड हुनुपरेको घटनाले गर्दा सामान्य समस्या आउनेबित्तिकै सम्बन्धित निकायलाई जानकारी गराएर चेकजाँच गराउने गरेको एक पाइलटले जानकारी दिए।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले सामान्य प्राविधिक समस्या देखिँदासमेत हल्ला बढी हुने गरेको बताउँछन्।
‘सबै यात्रु सामाजिक सञ्जालमैत्री भएकाले धेरै हल्ला भएको हो,’ मानन्धरले भने, ‘हामी यात्रु सुरक्षामा निकै संवेदनशील छौं, चेकजाँचमा कुनै कन्जुस्याइँ गरिएको छैन र गरिँदैन पनि।’
यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जहाजमा प्राविधिक समस्या नै नआउने भन्ने नहुने बताउँदै चेकजाँचमा कुनै कमजोरी नहुने गरेको बताए।
‘मेसिनरी चिज भएकाले समस्या आउन सक्छ,’ बर्तौलाले भने, ‘प्राविधिक चेकजाँचमा हाम्रो कुनै कम्प्रमाइज हुँदैन र गर्दैनौं।’