नेपालगन्ज। बाँकेमा प्रत्यक्षरूपमा विद्युत हुकिङ गरेर विद्युत चोरी भएको छ। त्यसबाहेक मिटरबाट समेत विद्युत चोरी भएको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।
जिल्लाका नेपालगञ्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत हुकिङ गरेर विद्युत चोरी भएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए।
आर्थिक वर्ष २०८०र८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उनले छड्के निरीक्षणका क्रममा विद्युत चोरी भएको पाइएको बताए। अवैधरूपमा विद्युत चोरी गरेकाहरूबाट २ लाख ९३ हजार ५ सय ४६ रुपैयाँ राजस्वसमेत संकलन भएको वितरण केन्द्रले जानकारी दिएको छ।
आव २०७९र८० मा पनि डुडुवा, हिरीमिनिया, खजुराको सी गाउँ लगायतका ठाउँबाट विद्युत चोरी भएको थियो। उक्त विद्युत् चोरी भएका क्षेत्रबाट करिब २ लाख २० हजार राजस्व रुपैयाँ संकलन भएको वितरण केन्द्रले उल्लेख गरेको छ।
वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए। उनले तरकारीको पकेट क्षेत्रमा विद्युतका लागि मिटर माग बढिरहेको र सबै वडामा विद्युत विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताए।
‘टोलटोलमा ट्रान्सफर्मर राख्ने अवस्था आएको छ, तर पोललाई आड लगाउने स्थान पनि छैन,’ उनले भने। त्यस्तै विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रमा अहिलेसम्म ४४ करोड २५ लाख ४३ हजार १ सय ३७ रुपैयाँ बक्यौता रहेको छ। उब्त बक्यौतामध्ये सबैभन्दा बढी सडक बत्तीको १८ करोड ६८ लाख ९९ हजार ९ सय ६४ रुपैयाँ छ।