एजेन्सी। होन्डा कार इन्डिया मिडसाइज एसयुभी बजार प्रवेश गरेको छ। कम्पनीले आफ्नो नयाँ उत्पादन ‘एलिभेट’ बजार ल्याएको हो।
१.५ लिटर पेट्रोल इन्जिनयुक्त यो गाडीमा ६ स्पिड म्यानुअल र ७ स्पिड कन्टिनियसली भेरिएबल ट्रान्समिसन (सिभिटी) छ।
यसको म्यानुअल ट्रान्समिसन इन्जिनले प्रतिलिटर १५.३१ र सिभिटीले १६.९२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।
होन्डा एलिभेटको हुन्डाई क्रेटा, मारुती सुजुकी ग्रान्ड भिटारा, किया सेल्टोसलगायत गाडीसँग सिधा प्रतिस्पर्धा हुनेछ।
एसयुभी सेग्मेन्टमा होन्डा उपस्थिति नरहेकाले एलिभेटलाई बजार ल्याउनु ठूलो कुरा भएको होन्डा इन्डिया अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ताकुया सुमुराले बताए। कम्पनीले यसको मूल्य भारतमा १० लाख ९९ हजारदेखि १५ लाख ९९ हजार भारुसम्म निर्धारण गरेको छ।
भावी योजना
एलिभेट सार्वजनिक गरेसँगै कम्पनीले सन् २०३० सम्म पाँचवटा एसयुभी ल्याउने तयारी गरेको छ। कम्पनीको यो रणनीतिले लोकप्रिय बनिरहेको एसयुभी सेग्मेन्टमा होन्डाको बलियो प्रस्तुति रहने छ।
‘हाम्रो फोकस अब एसयुभी सेग्मेन्टमा छ। एलिभेटबाट सुरु गर्दै हामी २०३० सम्म थप पाँच एसयुभी ल्याउन लागेका छौं,’ सुमुराले भने।
कम्पनीले यो मोडलको इलेक्ट्रिक भेरिएन्ट पनि ल्याउने तयारी गरेको छ। अबको तीन वर्षभित्र एलिभेटको विद्युतीय भेरिएन्ट पनि बजार आउने अपेक्षा गरिएको छ।
चिप अभाव समस्याबारे सुमुराले अहिले स्थिति राम्रो भएको र एलिभेटका लागि आवश्यक इलेक्ट्रोनिक कम्पोनेन्ट अग्रिम स्टकमा रहेको बताए।
एसयुभी सेग्मेन्ट प्रवेश
भारतको समग्र प्यासेन्जर भेइकल बिक्रीमा ४३ प्रतिशत एसयुभी रहेकोमा २०२२ मा ४८ प्रतिशतभन्दा धेरै पुगेको छ।
‘मिडसाइज एसयुभी सेग्मेन्ट बिक्रीमा गत वर्षको तुलनामा यस वर्ष ३४ प्रतिशतले वृद्धि भएको छ भने औसत मासिक बिक्री अहिले ७० हजार ५ सय युनिट वरिपरि छ,’ कम्पनीका बिक्री तथा बजार उपाध्यक्ष कुनाल वैलले भने।
बजार हिसाबले सबैभन्दा ठूलो सेग्मेन्टमा प्रवेश गर्नु कम्पनीको महत्वपूर्ण विषय भएको उनको तर्क छ। हाल होन्डाले सिटी र अमेज सेडानमात्र बिक्री गरिरहेको छ।
‘यस मिडसाइज एसयुभीले भारतमा ग्राहकको मन जित्ने र होन्डा व्यापार बढ्ने हाम्रो विश्वास छ,’ वैलले भने।
गत जुलाईमा एलिभेट बुकिङ सुरु गरेपछि कम्पनीले निकै राम्रो प्रतिक्रिया पाएको र चाडपर्वका अवसरमा ग्राहकले समयमै डेलिभरी पाउन् भन्नेमा कम्पनी केन्द्रित रहेको उनले बताए।
उत्पादन योजना
ग्राहकलाई समयमै डेलिभरी दिन राजस्थानस्थित प्लान्टको दैनिक उत्पादन क्षमता ६ सय ६० युनिट पुर्याइएको सुमुराले जानकारी दिए।
कम्पनीले आगामी दिनमा पनि उत्पादन क्षमता बढाउने योजना बनाएको उनले बताए। कम्पनीले एलिभेट निर्यात गर्ने योजना बनाए पनि सुरुवाती चरणमा घरेलु बजारमा बाँकी अर्डर पूरा गर्न कम्पनी केन्द्रित रहेको उनले बताए।
कहिले आउला नेपालमा?
होन्डा एलिभेट भदौ १९ (मंगलबार) नेपाल आइपुग्ने नेपालस्थित आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिका अपरेसन म्यानेजर बिदिस पोखरेलले बताए।
त्यस्तै यसलाई भदौ २५ मा सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए। ‘गाडी त भोलि नै आइपुग्छ। भदौ २५ गतेदेखि भने शोरुममै यो गाडी देख्न सकिन्छ,’ पोखरेलले क्यापिटल नेपालसँग भने।