काठमाडौं। गएको साउन १० बाट परीक्षणमा रहेको ‘नेप्से–३० इन्डेक्स’ पुनरावलोकन गरिने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिकल्पना गरेर निर्माण गरिएको इन्डेक्समा केही समस्या आउँदा नेप्से–३० इन्डेक्स पुनरावलोकन गर्न लागिएको हो।
नेप्सेको अर्को सञ्चालक समितिमा सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि, २०७९ माथि छलफल तथा निर्णय गर्न अन्तिम बैठक बस्दै छ। सोही कार्यविधिअन्तर्गत नेप्सेले नेप्से–३० इन्डेक्स परिकल्पना तथा निर्माण गरी परीक्षण सुरु गरेको हो।
नेप्से सञ्चालक समिति र कार्यविधि मस्यौदा तयार गर्न बनेको अध्ययन समितिको संयुक्त बैठकमा नेप्से–३० इन्डेक्स सञ्चालनका लागि पुनरावलोकन हुनुपर्ने सुझाव नेप्से उच्च व्यवस्थापन समितिले दिएको हो।
नेप्से–३० इन्डेक्स परिक्षण क्रममा नयाँ–नयाँ विषय आइरहेका हुँदा पुनरावलोकन विषय उठान भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले बताए।
‘अहिलेसम्म आएका इस्यु प्राविधिक टिमले हेरिरहेको छ, त्यसैको मूल्यांकनका आधारमा नेप्सेको आन्तरिक व्यवस्थापन समितिले उक्त इन्डेक्स रिभिजिट गर्नुपर्ने सुझाएको हो,’ सिइओ कार्कीले क्यापिटल नेपालसँग भने, ‘जटिल प्रकारका मापदण्ड बनाउँदा भोलिका दिनमा त्यसको परिपालना गर्न गाह्रो हुन्छ। सहज बनाउन रिभिजिट वा रिब्यालेन्सिङ गर्नुपर्ने भनेर आन्तरिकरूपमा सुझाव बोर्डमा पठाउन लागेका हौं।’
उनका अनुसार यो बाहिरबाट आएको सुझाव भने होइन। सुझावलाई सञ्चालक समितिमा पेस भएपछि बोर्डको निर्णयअनुसार परीक्षण अवधि थप हुने वा पूर्णरूपमा सञ्चालन गरिने भन्ने तय हुन्छ।
उक्त कार्यविधिको मस्यौदा तयार गर्ने अध्ययन समितिमा धितोपत्र बोर्डमार्फत र नेप्सेमार्फत आएको सुझावका आधारमा नेप्से–३० इन्डेक्स परीक्षण ‘स्टाटस’ सञ्चालक समितिमा पेस हुने चरणमा छ।
नेप्से–३० इन्डेक्स सञ्चालनमा आउँदा दोस्रो बजार सुदृढ तथा सूचकांकहरूको विकास, सञ्चालन तथा व्यवस्थापन गर्न सहयोग पुग्ने सिइओ कार्कीको विश्वास छ। नेप्सेले लामो समयको तयारीपछि परीक्षणमा पठाएको नेप्से–३० इन्डेक्स भदौ दोस्रो सातासम्म सञ्चालनमा ल्याउने गरी साउन १० देखि परीक्षण सुरु गरेको थियो।
उक्त कार्यविधिले २५ वटा इन्डेक्सको परिकल्पना गरेको छ। जसमध्ये नेप्से–३० इन्डेक्स एक हो। कार्यविधिमा परिकल्पना गरिएका इन्डेक्समध्ये पहिलो प्राथमिकतामा राखेर नेप्से–३० इन्डेक्स निर्माण गरी परिक्षण सुरु गरिएको हो।
धितोपत्र बोर्डले पठाएको सुझावमा बनाइएका इन्डेक्सले सम्बन्धित क्षेत्रको प्रतिनिधित्व गर्ने÷नगर्ने विषयलाई मुख्य प्राथमिकतामा राखिएको हुन्छ। कार्यविधि निर्माण गर्ने समितिको सदस्य क्षमता, योग्यता र आचरण, सुनिश्चितता, परदर्शिताबारे समेटिएको छ।
इन्डेक्स गणना
नेप्से–३० इन्डेक्स ‘फ्रि फ्लोट’ विधिबाट नेप्सेको समग्र बजार प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो। उक्त सूचकांकमा नेप्सले बजारमा सूचीकृत भई कारोबारमा रहेका सबै सूचिकृत कम्पनीमध्येबाट आफ्नो मापदण्डका आधारमा ३० कम्पनी छनौट गरेको छ।
समितिले प्रमुख ३० सूचिकृत कम्पनी छनौट गरी इन्डेक्स बास्केट तयार गर्ने छ। यो फ्रि फ्लोट विधिमा आधारित हुनेछ। यस इन्डेक्सबाट नेप्सेले भविष्यमा विभिन्न प्रकारका कारोबार उपकरणसमेत सञ्चालन गर्न सक्ने कार्यविधिमा उल्लेख छ।
गत साउन १० बाट नेप्सेले प्रस्तावित मापदण्डअनुसार नै ३० कम्पनी छनौट गरेर परीक्षण सुरु गरेको हो। थप समस्या नआए छनौट भएका ती कम्पनीले कारोबार गराउन पाउने गरी नेप्से–३० इन्डेक्स सञ्चालनमा आउने छ।
नेप्सेले उक्त इन्डेक्सका लागि बैंकिङ समूहका ८ वाणिज्य बैंक, जलविद्युत समूहका ५ हाइड्रोपावर, बिमा समूहका ५, उत्पादन तथा प्रशोधन समूहका २ कम्पनी र अन्य समूहका ३ कम्पनी छनौट गरेर परीक्षण सुरु गरेको हो।
यी कम्पनीको कारोबार गणना र मूल्य निर्धारण नेप्से इन्डेक्स र सेन्सेटिभ इन्डेक्स कारोबारका आधारमै भइरहेको छ। छनौट भएका ३० कम्पनीको कारोबार र मूल्यलाई नेप्से–३० इन्डेक्समा फिट गरेर हेरिएको हो। कम्पनीको कारोबार र मूल्यका हकमा केही समस्या नआएको नेप्सेले जनाएको छ।
नेप्सेले छनौट भएका कम्पनीमार्फत गरिएको परीक्षण अवलोकन नेपाल धितोपत्र बोर्डमा पठाएको थियो। बोर्डले थप सुधारको सुझावसमेत पठाइसकेको छ। बोर्डले दिएको सुझावमा इन्डेक्स पुनरावलोकन गर्न सुझाइएको छैन।
तर, नेप्से स्वयंले नै नेप्से–३० इन्डेक्समा पुनरावलोकन गरेरमात्रै पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने सुझाव सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आन्तरिक कार्यविधि, २०७९ को मस्यौदा निर्माण गर्ने समितिलाई दिएको हो।
नेप्से–३० इन्डेक्समा समावेश हुने कम्पनी छनौटका आधार
(क) प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी हुनुका साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा तीन वर्ष नाफामा रहेको।
(ख) अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी (इपिएस) चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत वा त्यसभन्दा बढी रहेको।
(ग) कम्पनीको कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कूल फ्रि फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको।
(घ) सेयरधनी संख्या कम्तीमा २० हजार रहेको।
(ङ) पछिल्लो ६ महिनामा दैनिक औसत २५ लाख वा त्यसभन्दा बढी रकम कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा त्यसभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा त्यसभन्दा बढीपटक कारोबार भएको।
(च) पछिल्लो ६ महिनामा उपलब्ध कारोबार दिनमध्ये न्यूनतम ७५ प्रतिशत दिनमा कारोबार भएको।
नेप्से-३० इन्डेक्स गणना विधि
(क) मापदण्डबाट छनौट भएर आएका कम्पनीको प्रारम्भिक सूची तयार गर्ने।
(ख) प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रिप्mलोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई देहायअनुसार भार प्रदान गरी कूल भार गणना गर्ने।